जेष्ठ ७, २०८१ सोमबार

सामुदायिक विद्यालयमा सबैलाई आकर्षित गर्न लक्ष्य निर्धारण गर्नैपर्छ : प्रअ डाँगी

कनकाई नगरपालिकाभित्र रहेका धेरै विद्यालयहरुले गुणस्तर सुधार गरिरहेका छन् । त्यसमध्ये कनकाई माध्यमिक विद्यालय नगरकै सानको रुपमा स्थापित भएको छ । जिल्ला मात्र होइन, देशमै नाम स्थापित गर्न सफल कनकाई मावि नगरकै उदाहरणीय विद्यालयमा पर्छ । ०१५ सालमा गाईगोठबाट स्थापना भएको विद्यालय अहिले सुविधा सम्पन्न निजी विद्यालयभन्दा कम छैन ।

भौतिक पूर्वाधार, दक्ष जनशक्ति र पर्याप्त विद्यार्थी भएको कनकाईले केहि वर्षयता शैक्षिक गुणस्तर सुधारमा व्यापक परिर्वन ल्याएको छ । एक बेला विद्यालय लगभग शून्यको अवस्थामा पुगेको थियो । तर, विद्यालय बचाउनका लागि कनकाईमा भएको सर्वपक्षीय भेलाले विद्यालयलाई नयाँ यो ठाउँसम्म ल्याएको छ ।

सर्वपक्षीय चासो, शिक्षक कर्मचारीको मेहनत र कनकाई नगरपालिकाको योगदानले विद्यालय धेरै अघि बढिसकेको छ । त्यसका लागि व्यवस्थापन समितिले गरिरहेको योगदान कम छैन । करिव हजारौं विद्यार्थीबाट घटेर ११ सय झरेको विद्यार्थी संख्या फेरि २५ सय पुगेको छ । जब विद्यालय खस्किदै गयो, त्यसपछि स्थानीय अगुवाहरु विद्यालय बचाउने अभियानमा लागे । विद्यालय बचाउन सबै अगुवाहरुको भूमिका सकारात्मक भएकाले विद्यालय नमूना विद्यालयको रुपमा स्थापित हुन सफल भएको छ ।

०७४ मा नमूना विद्यालयको रुपमा छनौट भएपछि पछाडि फर्किएर हिड्न परेको छैन । कनकाईमा अहिले जिल्लाका दक्षिणी भेगका विद्यार्थीहरु कनकाईमा अध्ययनका लागि आउने गरेका छन् भने ताप्लेजुङ, इलाम र पाँचथरका विद्यार्थीहरु पनि विज्ञान विषय अध्ययनका लागि आउने गरेका छन् । कनकाईमा ०५४ देखि बहिरा विद्यार्थीहरुको पनि पठनपाठन भइरहेको छ ।

विद्यार्थीको आर्थिक अवस्था, परीक्षाको नतिजा बमोजिम पनि छात्रवृत्ति प्रदान गर्दै आएको प्रअको भनाई छ । उनले छात्रवृत्ति समितिले गर्ने सिफारिसका आधारमा छात्रवृत्ति प्रदान गर्ने गरिएको छ ।

आइसीटीमैत्री, बालमैत्री र प्रविधिमैत्री पठनपाठन गरिरहेको कनकाईले ब्लकहरु छुट्टाएको छ । बालक्लव, २५ वटा उपसमिति, स्वयमसेवी क्लव लगायतका समूहहरु निर्माण गरिएको छ । लगनशील शिक्षक, प्रशासनिक इकाई, सामूहिक निर्णय, व्यवस्थापन समितिले पास गरेका निर्णयहरु कार्यान्वयन गर्ने गरिएको छ । भौतिक पूर्वाधार, लाइव्रेरी लगायतको अभाव भएको प्रअको भनाई छ ।

विद्यालयमा विद्यार्थी संख्या अनुसार नगरपालिकाले दरबन्दीको व्यवस्थापन मिलाई दिनुपर्ने प्रअ डाँगीको माग छ । उनले प्राविधिक सामग्रीदेखि विद्यार्थीका लागि बस व्यवस्थापनसम्म स्थानीय सरकारले सहयोग गर्नुपर्ने धारणा राखेका छन् । ११३ जना शिक्षक कर्मचारी रहेको कनकाईले ३५ जना निजी स्रोतका शिक्षक व्यवस्थापन गरेर पठनपाठन सञ्चालन गरिरहेको छ । विद्यार्थीको चाप बढेपछि कनकाईले निजी स्रोतबाट शिक्षक नियुक्ती गर्न बाध्य भएको हो ।
पानी विजुलीको व्यवस्थापनमा स्थानीय सरकारको सहयोग खाँचो भएको प्रअ डाँगीको भनाई छ । उनले स्थानीय तहसँग ठुलो अपेक्षा राख्ने भन्दा पनि प्राविधिक सहयोगहरु भए पुग्छ ।

सामुदायिक विद्यालयहरुमा स्वतः स्थायी भएका शिक्षकहरुको गुणस्तरका कारण पनि कतिपय विद्यालयहरु उठ्न नसकेको उनको बुझाई छ । कतिपय शिक्षक योग्य भए पनि धेरै जसोको शिक्षण गुणस्तर थिएन । गुणस्तर सिकाई नभएकै कारण विद्यालयहरु उठ्न सकेका छैनन् । अहिले त्यसबेला नियुक्ति पाएका शिक्षकहरु रिटायर भएकाले पनि केहि सुधार भएको हो, उनले थपे ।

निजी विद्यालयहरुमा शिक्षकले राम्रो पठनपाठन नगरे, जिम्मेवारी पुरा नगरेको खण्डमा तत्कालै कारबाही हुन्छ । तर, साुमदायिक विद्यालयमा त्यस्तो हुदैन । सामुदायिक विद्यालयमा सचेत मात्रै गराउन सकिन्छ । त्यसैले शिक्षक आफैले आफ्नो जिम्मेवारी पुरा गर्न अग्रसर हुनुपने छ ।

शिक्षाको गुणस्तर सुधारमा सबै क्षेत्र अब्बल भए पनि शिक्षक गुणस्तर नभए संभव नहुने उनको धारणा छ । प्रअ डाँगीले विद्यालयमा प्रभावकारी अनुगमनको खाँचो भएको बताएका छन् । अनुगमन भए त्यसले शैक्षिक क्षेत्रमा ठुलो मद्दत पुग्ने बताए । शिक्षकमा उत्तरदायित्व कम भयो भने पनि विद्यालय सुधारमा चुनौति आइपर्ने धारणा छ । गरिव विपन्न परिवारका अभिभावकहरुले बालबच्चाको आवश्यकता पुरा नगर्ने, आवश्यक सामग्रीहरु खरिद नगर्ने, नियमित विद्यालय नपठाउने लगायतका समस्याले गर्दा पनि विद्यार्थीको पठनपाठन प्रभावित हुने गरेको उनको भनाई छ । जसका कारण विद्यालयको तर्फबाट हुने मेहनतहरु परिणाममा देखा पर्न सक्दैनन् । त्यसले गर्दा पनि विद्यालयलाई शैक्षिक सुधारमा समस्या आउने गरेको छ ।

प्रअ डाँगीले कनकाईको शैक्षिक क्षेत्रको जग बलियो बन्दै गइरहेको प्रतिक्रिया दिएका छन् । नगरपालिकाले सबै विद्यालयहरुको स्तरलाई सँगसँगै माथि उठाउने काम गरिरहेको छ । शिक्षामा माथिमाथि हेरेर देखिदैन, नगरपालिकाले शिक्षाको जग बलियो बनाउने काम गरिरहेको छ । यहाँ परिणाम देखिन समय लाग्न सक्छ, तर बलियो जगसहितको परिणाम शिक्षामा पाइने छ ।

उनले लक्ष्य निर्धारण गर्दै जाने हो भने सामुदायिक विद्यालयसँग कसैले प्रतिष्पर्धा गर्न सक्ने छैनन् । अन्त्यमा उनले थपे, अभिभावकले विद्यालयको मुल्याङकन गरेर बालबालिका पठाइरहुन भएको छ । अब विद्यालयलाई सबैको आकर्षणको केन्द्र बनाउनैपर्छ । – कनकाई सेरोफेरोबाट

प्रकाशित मिति : बैशाख २७, २०८१ बिहीबार  १० : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]