जेष्ठ ७, २०८१ सोमबार

‘कनकाईलाई शिक्षाको हब बनाउन केन्द्रीत छौं’

झापाको कनकाई नगरपालिकाले शैक्षिक क्षेत्रमा गरेको कामको परिणाम देखिन थालेको छ । स्वास्थ्य, कृषि र पूर्वाधारभन्दा प्राथमिकता दिइएको शिक्षा क्षेत्रमा निरासाहरु हट्दै आशा जगाएको छ । त्यसको मुख्य आधार भनेको सामुदायिक विद्यालयहरुमा विद्यार्थीको आकर्षण हो ।

१४ वटा सामुदायिक र २३ वटा निजी बिद्यालय रहेको कनकाईमा ३ वटा धार्मिक विद्यालयहरु रहेका छन् । बन्द निषेधित क्षेत्रको रुपमा स्थापित कनकाईमा स्थानीय सरकारले प्राथमिकताका साथ बजेट व्यवस्थापन गरेर काम गरिरहेको छ । कनकाई नगरपालिकाले २ करोड १० लाख रुपैयाँ बजेट शिक्षामा छुट्टाएको थियो । सोही बजेटका आधारमा शिक्षा क्षेत्रमा काम गरिरहेको शिक्षा शाखाका प्राविधिक सहायक रोहित पौड्यालले जानकारी दिए । शैक्षिक उन्नयनका लागि नगरपालिकाले शैक्षिक गन्तव्य कार्यक्रम सञ्चालन गरेको उनको भनाई छ ।

कक्षा १ देखि १० सम्म पोसाक वितरण गरिसकेको कनकाईले कक्षा १ देखि ३ सम्म स्थानीय पाठ्यक्रममा पनि लागु गरिरहेको छ । यस्तै, कक्षा ४ देखि ६ सम्म प्रकाशनको तयारी भइरहेको छ भने कक्षा ७ र ८ को स्थानीय पाठ्यक्रम लेखन कार्य जारी रहेको पौडेलले जानकारी दिए । स्थानीय पाठ्यक्रममा स्थानीय भाषा, संस्कृति, धार्मिक एवम् पर्यटकीय स्थलहरु, कला, संस्कार र संस्कति समावेश गरिएको छ ।

कनकाई नगरपालिकाले शिक्षा क्षेत्रमा विद्यार्थीहरुको आकर्षण बढाउनका लागि प्राविधिक विषय अध्ययन गर्नेहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । शिक्षकलाई शैक्षिक सुधार तथा सिकाईका सन्दर्भमा तालिन प्रदान गर्ने, विद्यालयको कार्यसम्पदान मुल्याङकन गर्ने, शैक्षिक क्यालेण्डर बमोजिम काम गरिररहेको पौडेलको भनाई छ । उनले विषय विज्ञ शिक्षकद्वारा सामुहिक सुपरिवेक्षण तथा अवलोकनको काम समेत भइरहेको जानकारी दिए ।

अहिले कनकाईका विद्यालयहरुमा भर्ना पनि चलिरहेको छ । कतिपय विद्यालयमा भर्ना लिन सक्ने अवस्था पनि छैन । विद्यार्थीको चाप धेरै भएपछि भर्ना नलिएको पनि बुझिएको छ ।

सुरुआतमा विद्यालयका भौतिक पूर्वाधार र फर्निचर निर्माणमा ध्यान दिएको कनकाई नगरपालिका यतिवेला गुणस्तर सुधारमा केन्द्रित छ । गुणस्तर सुधारका लागि केन्द्रित नगरपालिकाले विभिन्न योजना निर्माण गरेर काम गरिरहेको उनको भनाई छ । सरोकारवालाहरुसँग गुणस्तर सुधारका लागि नियमित छलफल गर्दै आएको नगरपालिकाले विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, अभिभावकसँग अन्तरक्रिया गर्दै आएको बताइएको छ । पौडेल भन्छन्, ‘कसरी विद्यालयमा गुणस्तर सुधार गर्न सकिन्छ, हाम्रो ध्यान त्यसैमा केन्द्रित गरेका छौं । कनकाईलाई कसरी शिक्षाको हब बनाउने, यहाँका विद्यालयहरुलाई कसरी अब्बल बनाउनेमा हामी निरन्तर लागिरहेका छौं ।’

कनकाईका अधिकांश जसो सामुदायिक विद्यालयहरुले अंग्रेजी माध्यम सञ्चालन गरेपछि विद्यार्थीहरुको आकर्षण बढेको छ । विद्यार्थीहरुलाई आकर्षण गर्नकै लागि विद्यालयले मेहनत गरिरहेका छन्, उनले भने । संस्थागत विद्यालयहरुको तुलनामा पनि अब्बल बनाउनका लागि विद्यालयहरु जोडदार मेहनत गरिरहेको उनको बुझाई छ ।

शिक्षकहरुले विद्यालय सुधारमा जहाँ–जहाँ मेहनत गर्नुभएको छ, त्यहाँ –त्यहाँ सुधार पनि आएको छ । सुधारका लागि सबैभन्दा धेरै मेहनत गर्ने पनि शिक्षकले नै हो । नगरपालिका, विद्यालय व्यवस्थापन समिति र अभिभावकले सहयोग मात्रै गर्ने पौडेलको प्रतिक्रिया छ । सहायक प्राविधिक पौडेलका अनुसार सुधार आएका विद्यालयहरुमा विद्यार्थीको चाप बढ्दै गइरहेको छ । उर्तिर्ण दर पनि वृद्धि भएको छ ।

नगरपालिकाले शिक्षक कर्मचारीहरुको तलव ई–हाजिरी बमोजिम भुक्तानी दिने गरेको छ । विद्यालयले पेश गर्ने ई–हाजिरीको विवरण अनुसार शिक्षकहरुको तलव भुक्तानी हुन्छ । समय नदिने शिक्षकहरुको हाजिरी बमोजिम तलव काटिने उनको भनाई छ । त्यस कारण शिक्षकहरुले विगतमा जस्तो विद्यालय छोडेर हिढ्ने वेथिती अहिले छैन ।

सिकाई उपलब्धीका लागि नगरपालिकाले सामुदायिकसँगै निजी विद्यालयहरुको पनि अवलोकन गर्ने गरेको छ । सामुदायिक र निजी बीच अतिरिक्त क्रियाकलाप आयोजना गर्न नगरपालिकाले अनुदान नै व्यवस्था गर्दै आएको बताइएको छ । निजी विद्यालयहरुको शुल्कको सन्दर्भमा अभिभावकले स्वीकृत गरेपछि मात्रै नगरपालिकाले पनि पारित गरिदिने गरेको छ । निजी विद्यालयहरुले मनोमानी शुल्क लिन पाउनु भएको छैन । नगरले सामुदायिकको अवस्था अनुसार केहि प्राथमिकता दिएर निजी शैक्षिक उपलब्धी हासिल हुनुपर्छ भन्ने मान्यता सहित काम गर्दै आएको शिक्षा शाखाले जनाएको छ ।

शिक्षा क्षेत्रको उन्नयन, प्रगति र गुणस्तर सुधारका लागि जनप्रतिनिधिहरु पनि अति नै सकारात्मक भएको पौडेलले जानकारी दिए । उनले जनप्रतिनिधिहरु सकारात्मक भएकै कारण शिक्षामा सुधार आएको बताए । जनप्रतिनिधिहरु शिक्षामा सुधार ल्याए मात्रै अन्य क्षेत्रमा सुधार हुने बताइरहेको उनको भनाई छ ।

विद्यालयहरुलाई स्थानीय तह बनेपछि शैक्षिक सुधारमा ठुलो मद्दत पुगेको छ । जिल्ला शिक्षा धाउनुपर्ने, थोरै बजेट व्यवस्था कठिन हुन, अनुगमन नहुने लगायतका समस्याले शिक्षा क्षेत्र लथालिंग भएको थियो । अहिले स्थानीय सरकारको प्रत्यक्ष निगरानी सुरु भएपछि विद्यालयहरुलाई काम गर्न सहज भएको छ । शिक्षाक्षेत्रको सुधारका लागि सबै चिन्तित नै छौं, उनले भने – चिन्ता मात्र होइन, शिक्षामा व्यापक परिवर्तन ल्याउनका लागि चिन्तन, मनन्सहित काम गरिरहेका छौं ।

प्रकाशित मिति : बैशाख २८, २०८१ शुक्रबार  ८ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]