जेष्ठ ७, २०८१ सोमबार

बिर्तामोडमा प्रहरी गस्ती बढाइयोस्

सम्पादकीय
झापाको बिर्तामोड नगरपालिकामा मंलगवार राती भएको घटनाले आम नागरिकलाई त्रसित बनायो । घरमा एक्लै बस्न जोखिम रहेको मंगलवार रातीको घटनाले स्पष्ट पारेको छ । बिर्तामोड–४ को मेघावारी टोलमा राती चोर आएको हल्ला भयो । गाउँलेहरुले चोरको खोजी गरे । कतै चोर नदेखेपछि आआफ्नो घर फर्किएका सर्वसाधरणलाई विहान स्तब्ध बनायो । ६८ वर्षीया विष्णुमाया विष्ट घरमा मृत अवस्थामा फेला परेपछि गाउँलेहरु चकित भए । राती चोर आयो भनेको घरकै मान्छे विहान मृत फेला पर्दा गाउँहरुले असुरक्षा महसुस गरिरहेका छन् ।

बिर्तामोड बजार नजिकै एउटा घरमा पसेर कुटपिट गरेर हत्या गर्ने विषय सामान्य होइन । यो घटनाले यहाँको सुरक्षा प्रशासनमाथि प्रश्न उठाएको छ । चोरी गर्ने नियत भएकै व्यक्तिहरुले हत्या गरेको अनुमान लगाउन सकिन्छ । सुरुमा घरमा ढकढक गरेको सुनेपछि वृद्धाले आफ्नो छोरालाई काठमाडौं जानकारी दिएकी थिइन् । त्यसपछि गाउँलेलाई छोराले सम्पर्क गरेर आमाको घरसम्म जान अनुरोध गरेका थिए । गाउँलेहरु घरमै पुगेर आमालाई भेटघाट गरी चोर आएको विषयमा कुराकानी गरेरै छुटे । उनै वृद्धा विहान मृत फेला परिन् ।

जिल्लाको मुख्य बजार बिर्तामोड अहिले लागुऔषध, यौनधन्दा र चोरीको गढ बनेको छ । यहाँ राती भरअभर हिडडुल गर्न कठिन छ । पश्चिम स्टेण्डमा गत महिना छुरा प्रहार भयो । अवेरमा हिडडुल गर्दा लुटपाट नै हुने गरेको छ । चोरीजन्य घटनाले सीमा नाघेको छ । यहाँ पर्याप्त प्रहरी गस्ती नहुँदा अपराधिक घटनाहरु भइरहेका छन् । बिर्तामोडको भित्रि बजार, गाउँहरुमा रातभर युवायुवतीहरु हिडिरहेका हुन्छन् । दिउँसो नदेखिनेहरु रातभर के को लागि बजार, गाउँ घुमिरहेका छन् ? त्यसको सोधीखोजी गर्ने दायित्व प्रहरी प्रशासनको हो । विना काम रातभर हिडडुल गर्नेलाई प्रहरीले कारबाहीको दायरामा ल्याउनैपर्छ । होइन, भने यहाँ जुनसुकै बेला विष्टकै अवस्था अरुले पनि भोग्नुपर्नेछ । त्यसैले सरोकारवालाले अपराधिक क्रियाकलाप नियन्त्रणका लागि चासो दिनैपर्छ । प्रहरीले दिनरात पर्याप्त गस्ती गर्नैपर्छ ।

प्रकाशित मिति : बैशाख २८, २०८१ शुक्रबार  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]