धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र
धरान (सुनसरी), २९ वैशाखः नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले यहाँ कोशी प्रदेशस्तरीय कृषि तथा खाद्य प्रविधि विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरेको छ ।
धरान उपमहानगरपालिका–१६ मा बनेको केन्द्रको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई, नाष्टका उपकुलपति डा दिलीप सुब्बा र सचिव डा रवीन्द्रप्रसाद ढकालले शुक्रबार उद्घाटन गर्नुभयो ।
त्यस अवसरमा उपकुलपति सुब्बाले प्रविधिको प्रयोगबाट कृषि उत्पादन बढाउन सकिने बताउँदै त्यसनिम्ति केन्द्रलमार्फत किसानलाई सघाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
नगरप्रमुख राईले धरानको विकास आफ्नो एकमात्र लक्ष्य हो भन्दै केन्द्र स्थापनाका निम्ति उपमहानगरपालिकाले पूर्वाधार खडा गरेको जानकारी दिनुभयो । साथै उहाँले धरान आवासका निम्ति उपयुक्त सहर भएकाले त्यसैअनुसार खानेपानी योजना सञ्चालन तथा फोहरमैला व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
नास्टका सचिव ढकालले केन्द्रमा विशेष गरी कृषि र खाद्य प्रविधिसँग सम्बन्धित विषयमा अध्ययन अनुसन्धान हुने बताउनुभयो ।