असार ३, २०८१ आईतबार

एमाले अध्यक्ष ओलीद्वारा काँकडभिट्टा-लौकही सडक र कनकाई पुलको शिलान्यास

झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशका जस्तै सडक, पुल लगायतका भौतिक संरचना नेपालमा नै धमाधम बनिरहेको बताएका छन् ।

बुधबार झापाको कमल गाउँपालिकास्थित पाडाजुंगीमा पूर्व पश्चिम राजमार्गको काँकडभिट्टा–लौकही सडक स्तरउन्नती योजना शिलन्यास गर्दै ओलीले मुलुकको समग्र विकासका लागि भौतिक विकास पनि प्रमुख माध्यम भएको बताए । उनले भने, ‘विदेशमा गएर ठुला गगनचुम्बी भवनको अगाडि सेल्फी खिच्ने तर नेपालमा पनि किन ठूला भवन र संरचना चाहियो भनेर विरोध गर्ने परिपाटी पनि देखेको छु ।’

अब राम्रा र फराकिला सडक तथा आकर्षक पुल नेपालमा नै बन्न थालेकाले सेल्फी खिच्नका लागि विदेश गइरहनु नपर्ने बताए । विदेशका जस्तै सडक, पुल लगायतका भौतिक संरचना नेपालमा नै धमाधम बनिरहेको जनाउदै उनले यस्तो बताएका हुन् ।

नेपालमा नै विदेशका जस्ता सडक, पुल र भवन बन्ने उनको भनाइ छ । ‘केही समयपछि अब यहाँ बनेको सडक र पुलहरुमा सेफी खिच्न लायक बन्नेछन्’, ओलीले भने ।

सडकहरुको विकास र स्तरउन्नतीले विकासका धेरै आयामलाई जोड्ने ओलीको भनाइ थियो । यस प्रकारका योजनामा सबैलाई समान रुपमा अवसर प्राप्त गराउने र आफूले पनि अवसर लिने प्रयत्न गर्नुपर्ने बताएका छन् ।

काँकडभिट्टा–लौकही सडक तीन वर्षभित्र सम्पन्न गर्ने
उपप्रधान तथा भौतिक मन्त्री रघुवीर महासेठले पूर्व पश्चिम राजमार्गको काँकडभिट्टा–लौकही सडक स्तरउन्नती योजना निर्धारित समयमा नै अन्तर्राष्ट्रिय मापदण्ड अनुसार चार लेन सडक बनाउने काम सकिने बताए ।
बुधबार झापाको कमल गाउँपालिकास्थित पाडाजुंगीमा पूर्व पश्चिम राजमार्गको काकडभिट्टा–लौकही सडक स्तरउन्नती योजना शिलन्यास कार्यक्रमा बोल्दै यस्तो बताएका छन् ।

पूर्व पश्चिम राजमार्गको काँकडभिट्टा–लौकही सडक स्तरउन्नती योजनाको शिलान्यास एमाले अध्यक्ष ओलीले गरेका हुन् । काँकडभिट्टा–लौकही खण्ड ९५ किलोमिटर रहेको छ । यो सडक एसियाली विकास बैङ्कको सहयोगमा आगामी तीन वर्षमा सम्पन्न हुने गरी निर्माण सुरु भएको र निर्धारित समयमा निर्माण सम्पन्न गरिने उनको भनाइ थियो ।
सबै ठेक्काको निर्माण अवधि तीन वर्ष र निर्माण सम्पन्न पछि थप ६ वर्षसम्म मर्मतसम्भार कार्य सोही निर्माण कम्पनीबाटै गराउने व्यवस्था गरिएको सो अवसरमा जानकारी गराइएको थियो । २०८० साल कार्तिक २ गते निर्माण सम्झौता भएको र २०८३ माघ १९ गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ ।

कनकाई पुलको शिलान्यास
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कनकाई पुलको बुधबार नै शिलान्यास गरेका छन् । अध्यक्ष ओलीले झापा क्षेत्र–४ को शिवसताक्षी नगरपालिकाको मदरगाछ खण्डको कनकाई पुलको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा उपप्रधान तथा भौतिक मन्त्री रघुवीर महासेठ, साँसद एलपी साँवा लगायतको सहभागी रहेको थियो ।
अध्यक्ष ओलीले बिहीवार एमाले दमक नगर कमिटीको अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि मोरङको सुन्दर हरैंचा नगरपालिकामा एक सडकको शिलान्यास गरेर सुनसरीमा निजी क्षेत्रबाट खोलिएको अस्पताल उद्धाटन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीले विराटनगर पार्टी कार्यकर्ताहरुलाई सम्बोधन गरेर बिहीवार साँझ काठमाडौं फर्कने सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ ९, २०८१ बुधबार  १० : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]