असार ४, २०८१ सोमबार

भद्रपुर सोचेजस्तो विकास हुन सकेन : नेता खरेल

भद्रपुर । सरकारका पूर्व कानुन मन्त्री अग्निप्रसाद खरेलले विकास निर्माणका जति पनि योजना कार्यान्वयन एमाले सरकारमा भएको बखत मात्र भएको बताएका छन् । एमाले भद्रपुर नगर कमिटीको दोस्रो अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

स्थायी कमिटी सदस्य समेत रहेका नेता खरेलले हुलाकी सडक, एसियन हाइवे, हुलाकी मार्गसँग जोडिएका पालिकामा नगर योजना अन्तर्गत वार्षिक दुई अर्ब बजेट यसको प्रमुख उदाहरण भएको जनाए । उनले मदन भण्डारी ,पुष्पलाल मार्ग लगायत दर्जन बढी आयोजना एमालेको अगुवाइमा भएको दाबी गरे । सोचे अनुरूप भद्रपुरमा विकास नभएको उल्लेख गर्दै उनले निर्वाचनका बखत गरिएको गठबन्धनले असर पारेको बताए । अब आउने निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा सूर्यमा नै भोट हाल्ने उम्मेदवार खडा गरिने आश्वासन दिए ।

पार्टीको निर्देशनका कारण भागमा परेको झापा क्षेत्र नम्बर १ मा पराजय भोग्नु परेको उनले बताए । सोही क्षेत्रबाट विजयी भएर गएका नेताले निर्वाचन क्षेत्रका मतदातालाई सम्बोधन नगरी संसद् भवनमा भाषण मात्र छाडने गरेको उनको भनाइ थियो । नेतासँग सेल्फि खिचेर जनतालाई बेवास्ता गरेको भन्दै अब नेतासँग हैन जनतासँग सेल्फि खिच्न सुझाव दिए । विगतमा भएका कमजोरीलाई आत्मसात् गरेर अगाडि बढ्न उनले निर्देशन दिएका छन् । एमालेको प्रतिस्पर्धी नेपाली काङ्ग्रेस भएकोले सो पार्टीसँग सहमतिको सरकार बन्न नसक्ने विश्वास दिलाएका थिए । चुनावमा जाँदा मन फाट्ने भएकोले सहमतिमा नगर कमिटी चयन गर्न उनले सुझाव दिए ।

कार्यवाहक अध्यक्ष भीम सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीलाई सदैभरि साथ दिने विभिन्न तहका नेता तथा कार्यकर्तालाई सम्मान गरिएको थियो । नगर कमिटी उपसचिव किरण कार्कीले स्वागत गरेको कार्यक्रममा एमाले जिल्ला अध्यक्ष प्रेम गिरी,प्रदेश कमिटी सचिवालय सदस्य वसन्त कुमार बानिया,नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला अध्यक्ष केदार पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । नगर कमिटीका सचिव घनश्याम लकान्द्रीले सञ्चालन गरेको कार्यक्रममा बन्द सत्रले दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति : जेष्ठ १२, २०८१ शनिबार  ९ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]