असार ४, २०८१ सोमबार

‘पाँच वर्षभित्र कक्षा १२ सम्म निशुल्क गर्नेछौ’

बिर्तामोड सेरोफेरो
झापाको बिर्तामोड नगरपालिका आर्थिक वर्ष ०८१–८२ को बजेट तथा नीति कार्यक्रम निर्माणको तयारीमा जुटेको छ । जिल्लाको मुख्य बजारको रुपमा स्थापित बिर्तामोड नगरपालिका सामु अनेकौ चुनौतिहरुका बीच धेरै अवसरहरु छन् । नगरपालिकाले आवधिक योजना निर्माण गरेर नगरको संवृद्धि हासिल गर्ने लक्ष्य बनाएको छ । नगर समक्ष नगरबासीले उठाइरहेका विविध सवाल र हालसम्मका उपलब्धिहरुका सन्दर्भमा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलासँग इजलासका सम्पादक प्रदीप परियारले गरेको कुराकानी :

बुधबारे बजारको देवी हाट कहिले बन्छ ?
बिर्तामोड नगरपालिकाभित्र रहेको सार्वजनिक जग्गामध्येको देवीहाट हामीले अघिल्लो वर्ष खाली ग¥यौं । त्यो जग्गा खालीखाल्चा नगरी नगर विकास कोष (टिडिएफ) लगानी नगर्ने भएपछि हामीले त्यसलाई खाली गराएका हौं । त्यहाँ टिडिएफको ९० प्रतिशत लगानी र नगरपालिकाको १० प्रतिशतको लगानी गरेर हामीले करीव एक अर्बको प्रोजेक्ट त्यहाँ अगाडि बढाएका छौँ ।

त्यहाँ बहुतले व्यवसायिक भवन बन्दैछ । यस विषयमा हामीले पटकपटक छलफल गरेका छौँ । सम्बन्धित संस्थासँग बसेर लिखित रुपमा सहमति पनि भएका छन् । हामीले तीन तहमा देवीहाटमा डिपिआर निर्माण गर्दै छलफल गर्दैगर्दा विभिन्न कुराहरु आएका छन् ।

देवीहाटमा एकै चोटी जमिनको सबै भाग कभरेज गरेर बनाउने कि केही भागमा चाहिँ बनाएर बाँकी रहेको भागलाई ओपन स्पेस बनाउने भन्ने सन्दर्भमा हामीले पटकपटक छलफल गरेका छौँ । भवन कस्तो बनाउने भन्ने विषय मै प्लान बन्न नसेकाले गर्दा काम ढिलो भइरहेको छ । तर, यो विषयमा के बुझ्नु चाहिँ भएन भने नगरपालिकाले बजेटै छुटाएन । हामीले आफ्नो दायित्वको रकम अघिल्लै वर्ष राखेका छौँ ।

आउँदो भदौ–असोजबाट यो कामलाई अगाडि बढाउने विषयमा हामीले केन्द्रमा कुरा गरिरहेका छौँ । अब काम सुरु भइहाल्छ ।

बिर्तामोडमा महिनौदेखि सडकवत्ती बलेको छैन । किन मतलव नगर्नु भएको ?
स्थानीय सरकार बन्नुभन्दा पहिले बिर्तामोडको सडकवत्ती जडान भएको हो । सडकवत्तीमा ड्राई ब्याट्री हुँदो रहेछ । जसको आयु ४ वर्ष हुदो रहेछ । मतलव नगरेको होइन, सडकमा वत्ती नबलेपछि हामीले चासो दिएकै हो । तर, ब्याट्री फेर्नका लागि ठुलो खर्च हुने रहेछ । सुरुमा यसको आवश्यकता महसुस गरेर बिर्तामोडमा जडान भयो । त्यसैगरी अन्य पालिहरुमा पनि जडान भएको पयौं । सबै ठाउँमा व्याट्रीकै कारण बत्ती नबलेको भन्ने सूचना छ । ब्याट्री फेर्न ठुलो खर्च हुने भएपछि यसको विकल्पमा जान सकिन्छ कि भनेर केहि छलफलहरु गरेका छौं । बिर्तामोडको हकमा ब्याट्री फेर्नका लागि २९ लाख रुपैयाँ लाग्ने रहेछ । ब्याट्री फेर्नका लागि रकम पनि व्यवस्था गर्न सकिएन । किनभने, यहाँ जग्गा बर्गीकरणका कारण कर उठाउन सकिएन । जग्गा दर्ता, पास नभएपछि आन्तरिक आम्दानी भएन ।

पूर्वपश्चिम राजमार्गमा एसिएन हाइवेले आफ्नो योजना अनुसार गर्ने भएपछि दक्षिण तर्फ र उत्तर तर्फका वत्तीको व्यवस्थापन गर्नुपर्ने हाम्रो जिम्मेवारीमा छ । अब ब्याट्रीको विकल्पमा विद्युतीय वत्ती जडान गर्ने योजना छ । त्यसका लागि सोलार वत्तीकै पिल्लरहरुको प्रयोग गरेर आगामी आर्थिक वर्षबाट जडान गर्ने सोच छ । कतिपय ठाउँहरुमा सोलार वत्तीकै पनि व्यवस्थापन गर्नुपर्ने हुन सक्छ । नवीकरणीय उर्जाको बजेट पनि आइरहेको हुन्छ । जंगली हात्ती प्रवेश गर्ने ठाउँहरुमा सोलार वत्तीको आवश्यक पर्छ । पहिले सोलार जडान भएका ठाउँहरुमा आउँदा आ.वबाट विद्युतीय वत्तीहरुकै प्रयोग गरेर जाने व्यवस्थापन मिलाइनेछ ।

अस्वस्थ्यकर माछा प्रतिवन्धपछि के प्रतिफल मिल्यो ?
माइपूर्वका १० वटा स्थानीय तहको संयुक्त बैठक बसेर मरेका अस्वस्थ्यकर माछालाई प्रतिवन्ध लगाएका थियौं । त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा कतिपय पालिकाहरुले काम गरिरहनु भएको अवस्था छ । खासगरी बिर्तामोड नगरपालिकाले अस्वस्थ्यकर माछा प्रतिवन्ध गर्ने सवालमा कडाई गरेकै हो । किनभने, नगरवासीको स्वास्थयप्रति स्थानीय सरकाले सतर्कता अपनाउन सक्छ । लामो दुरीबाट धेरै दिनपछि ल्याइने माछा खानयोग्य हुदैन । मिठो मानेर हुदैन, स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्छ । धेरैजसो मरेका अस्वस्थ्यकर माछा भारतबाट आयात हुने गरेको छ । २०, २२ दिनसम्म लगाएर बोरामा हालेर ल्याइएका अस्वस्थ्यकर माछालाई प्रतिवन्ध गर्दा नागरिकको तर्फबाट साथ पाएका छौं । भारतमा खान अयोग्य भएको माछा सस्तोमा भन्सार छलेर ल्याइन्छ । त्यसैले अस्वस्थ्यकर माछालाई बिर्तामाडमा कडाइ गरिएको छ । अवैध रुपमा ल्याइएको माछालाई नगर प्रहरी, स्थानीय सुराकीको आधारमा नियन्त्रण समेत गर्ने गरिएको छ ।

भन्सार गरेका माछा पनि महिनौदिनसम्म राखेर विक्री गर्ने गरेको पाएका छौं । अनुगमनका क्रममा त्यसरी प्रतिवन्धित माछा फेला परेमा खाल्डोमा पुर्ने समेत गरिएको छ । कतिपटक बेबारिसे माछा पनि भेटिएका छ । त्यसरी भेटिएका माछा पनि मुचुल्का उठाएर नष्ट गर्ने काम गरिएको छ । नियन्त्रणको सन्दर्भमा हामीले निर्णयलाई कार्यान्वयन गर्दै जानेर्छौ । माछा नियन्त्रणको लागि अन्य पालिकाहरुले पनि सहकार्य, समन्वय गर्न आवश्यक छ । त्यसका लागि छिट्टै संस्थागत रुपमा अघि बढ्ने योजना छ । अस्वस्थ्यकर माछा नियन्त्रणका लागि कानुनन नै बनाएर जाने पनि सोचिरहेका छौं ।

बिर्तामोडमा अघिल्लो वर्ष ११४ जनामा क्यान्सर रोग देखा परेको थियो । यो आर्थिक वर्षमा ६०-६५ जनामा क्यान्सर देखा परेको छ । क्यान्सर मात्र होइन, अस्वस्थ्यकर माछा नियन्त्रणले अन्य रोग पनि लाग्न दिने छैन । माछामा फर्मालिन मात्र होइन, सरकारले समेत थाहा नपाएका विषादीहरु माछामा प्रयोग भइरहेको छ । यसैले विषादीयुक्त माछा नियन्त्रणमा प्रदेश सरकार र केन्द्र सरकारले समेत ध्यान दिन आवश्यक छ ।

विषादीयुक्त माछा नियन्त्रण गर्न थालेपछि स्थानीय किसान पनि उत्पादनमा जोड दिइरहनु भएको छ । धेरै पोखरीहरुमा किसानले माछा पालनालाई व्यवसायिक बनाइरहनु भएको छ । त्यसका लागि नगरपालिकाले आवश्यक सहयोग गरिरहेको छ । किसानका हरेक पोखरीहरुमा माछा पालना भइरहेका छन् । आयात बन्द हुँदा बेलाबखत माछा अभाव पनि हुँदो रहेछ । स्थानीय व्यापारीले स्थानीय माछा खरिद गर्ने सम्झौता समेत भएको छ । व्यापारीहरुले ठुलो माछा, ठुलो टाउको भन्दा पनि नागरिकको स्वास्थ्यलाई ख्याल गर्न जरुरी छ । किसानलाई पनि स्थानीय सरकारले त्यसै गरी माछा उत्पादनमा आवश्यक सहयोग उपलब्ध गराउदै जानेछ ।

कर्मचारी नियुक्ती पारदर्शी छैन भन्ने आरोप छ नि ?
बिर्तामोड नगरपालिकाले हाल कर्मचारी नियुक्ति गरेको छैन । यहाँ अघिल्लै कार्यकालमा नगरपालिकाको आवश्यकता अनुरुप कर्मचारीहरु नियुक्त हुनुभएको छ । हामीले नगर अस्पतालमा मात्रै डाक्टर र प्राविधिक, नर्स, अहेब, अनमी र सहयोगी कर्मचारीहरु नियुक्ति गरेका छौँ । साथै नियुक्ति गर्ने तयारीमा पनि छौँ । हामीले नियुक्ति गर्दा सार्वजनिक रुपमा विज्ञापन गरेरै नियुक्ति गरेका छौँ । साथै नियुक्ति गर्नु पर्ने विषयको विज्ञ र कर्मचारीहरु सहितको समिति बनाएर निष्पक्ष परीक्षा गराएका छौँ । हामीले लिखित, मौखिक र प्राविधिक परीक्षा पछि मात्रै सर्वोउत्कृष्ट प्रतिष्पर्धीलाई नियुक्ति गर्ने गरेका छौँ ।

हामीलाई नगर प्रहरीको संख्या बढाउनु पर्ने आवश्यकता भएको छ । तर, हामीसँग नगर प्रहरीको संख्या बढाउने आवश्यक स्रोत नभएका कारण त्यो सकिरहेका छौनौं । हामीले स्रोतको व्यवस्था गर्नुपर्ने भएको छ । यसका साथै अन्य क्षेत्रहरुमा पनि कर्मचारी नियुक्ति गर्नुपर्ने भएको छ । हामी माथि कर्मचारी नियुक्ति प्रक्रिया पारदर्शी भएन भनेर लागेको आरोप मिथ्या हो । यदि कोही यसबारे अध्ययन गर्न चाहनुहुन्छ भने साँचो सूचना उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछु ।

न्याय सम्पादनको अवस्था के छ ?
बिर्तामोड नगरपालिकामा मेरो नेतृत्वमा तीन सदस्यीय न्यायिक समिति छ । हामीसँग उजुरी प्रशासक हुनुहुन्छ । हामीले न्यायिक समिति र नगरपालिकाका निम्ति कानूनी सल्लाहकारको पनि प्रबन्ध गरेका छौँ ।
विर्तामोडमा हाल जग्गाजमिन सम्बन्धी समस्याहरु अलिक बढि छन् । यसपछि धितो लिलामको मुद्दा पनि धेरै छ । एक व्यक्तिले निश्चित समयको भाका राखेर अर्को व्यक्तिसँग धितो राख्ने र त्यस्तो लिलामले समस्या उत्पन्न भएको छ । अहिले अन्य मुद्दाभन्दा आर्थिक लेनदेन, धितोलिलाम र जग्गाका मुद्दाहरु लामो समय लाग्ने र समस्या जटिल बन्दै जाने भइरहेको छ । समयमा मान्छे उपलब्ध नभईदिने र न्यायिक समितिलाई नागरिकहरुले अलिक हेप्ने पनि गर्नुभएको छ । यस अवस्थामा पनि हामीले काम गरिरहेका छौँ ।

उपप्रमुखको जिम्मेवारी धेरै हुने हुनाले समय व्यवस्थापन गर्न पनि गाह्रो हुने रहेछ । विहानदेखि साँझसम्म यस्तै कामहरु गरेर बेलुका योजनाहरु निर्माणको पनि काम भइरहेको छ । यसका साथै उपप्रमुखले सडक, पूर्वाधारदेखि लिएर पोल लाईटसम्मको अनुगमन गर्नुपर्ने हुन्छ । यस्ता तमाम जिम्मेवारीका कारण न्याय सम्पादनमा केही कमी कमजोरी भएको छ ।

यो आर्थिक वर्षमा हाम्रो न्यायिक समितिमा ८० वटा मुद्दा दर्ता भएका छन् भने एक सय १३ वटा मुद्दाहरु अघिल्लो आर्थिक वर्षकै सरेर आएका थिए । हामीले ३५ वटा मात्रै मुद्दाहरु फर्सौट गरेका छौँ । यसैगरी ७८ वटा मुद्दाहरु जटिल किसिमका भएकाले तिनलाई प्रक्रियामा राखिएको छ ।

अन्य दलहरुसँगको सहकार्य किन देखिन्न ?
बिर्तामोड नगरपालिकाले राजनीतिक दलहरुलाई अभिभावक ठानेको छ । नगरले आवश्यक मात्रामा दलहरुसँग छलफल गरी अविभावकीय भूमिकाको माग गरेको छ । हामीले व्यक्तिगत रुपमा दालहरुसँग सुझाव मागेका छौँ । हामीले दलहरु मात्रै हैन विभिन्न स्टेकहोल्डर, सरोकारवाला र नगर विकास चाहने आम सर्वसाधरण नागरिकहरुसँग पनि सुझाव माग्ने गरेका छौँ ।

हामीले आवश्क मात्रामा दलहरुसँग सहकार्य गरिरहेका छौँ । हामी सहकार्य गरेर विर्तामोग नगरको विकास गर्न चाहन्छौँ ।

बिर्तामोड नगरपालिकामा लागुऔषधको कारोवारी र प्रयोगकर्ता दुवै बढेको पाइएको छ । यो विषयमा सबैलाई जानकारी भएको स्थिति छ । यस विषयसँग सम्बन्धित रहेर हामीले वडास्तर र नगरस्तरबाटै विभिन्न जनचेतनाका कार्यक्रमहरु सञ्चालन गरेका छौँ ।

विर्तामोडमा सुधारगृहहरुको पनि साझेदारीमा विभिन्न कार्यक्रमहरु भएका छन् । यसमा प्रहरी प्रशासनले पनि विर्तामोडमा त कारबाही गरिरहेको देखिन्छ । तर, खुल्ला नाका भएका कारण नाका छेउका पालिकाहरुबाट अलिकति ध्यान नपुको जस्तो देखिन्छ ।

विर्तामोडमा जनसंख्या बढ्दो दरमा रह्ेको छ । यहाँभित्रका भन्दा पनि बाहिरका नागरिकहरु व्यापार व्यवसाय गर्न आउनुहुन्छ । यहाँ भारतबाट पनि सोझै यतातिर आउन सकिने भएकाले पनि लागुऔषधको कारोबार बढेको हो कि भन्ने मेरो शंका छ ।

बोर्डर नजिक र खुला भएका कारण यहाँ फरक–फरक ढंगबाट लागु औषध भित्रिरहेको छ । यसलाई भित्राउन यतैको नागरिकहरुको पनि सहयोग रहने गरेको पाइएको छ ।

हामीले लागुऔषधको प्रयोग गर्नुहुँदैन भनेर सचेतना जगाउने कार्यक्रम नै प्रभावकारी हुने ठहर गरेर हाम्रा ७७ वटै विद्यालयहरुमा सचेतनाका कार्यक्रमहरु सञ्चालन गरिरहेका छौँ । हामीले यो क्षेत्रमा निरन्तर काम गर्नुपर्ने अवस्था आएको छ । हामीले यस क्षेत्रमा निरन्तर काम गरिरहेका छौँ र थप प्रभावकारी कार्यहरु हामी गर्ने छौँ ।

अन्त्यमा, तपाईको कार्यकालमा बिर्तामोड कस्ता बन्ने छ ?
हाम्रो नेतृत्व ०७९ बैंशाख ३० गते निर्वाचित भएर आएको हो । हाम्रो नेतृत्वले तेस्रो बजेट निर्माणको तयारी गरेको छ । २ वर्ष पुरा गरेर ३ वर्ष प्रवेश गरेका छौं । हामीले नगर बिकासका लागि बिर्तामोडमा आवधिक योजना निर्माण गरेका छौं । २ वर्ष, ३ वर्ष ४, वर्ष र ५ वर्षका लागि आवधिक योजना र १० वर्ष, १५ वर्ष र २० वर्षे गुरुयोजना बनाएका छौं । आवधिक योजना यहि कार्यकालमा पुरा गर्ने हो । हाम्रो विकासको योजना घोषणा पत्रमा समावेश गरिएको थियो । त्यो बेला गरिएको घोषणा पत्रमा उल्लेख भएका कार्यक्रमहरु पुरा गर्दै जानेछौं ।

१५ शैयाको अस्पताललाई २५ शैयाको बनाउदै गरेको अवस्था छ । कतिपय योजनाहरु महत्वकांक्षी जस्तो देखिएको थियो । तर, स्वास्थ्य क्षेत्रमा हेर्ने हो भने धेरै फड्को मारेको अवस्था छ । पाँचवर्षभित्र स्वास्थ्य सेवा सुलभ तथा गुणस्तरलाई प्राइभेट भन्दा राम्रो बनाउन सफल हुनेछौं । उज्यालो शहर योजना अनुसार पालिकाको सबै वडामा विजली विस्तार गर्नेछौं । स्वच्छ खानेपानीलाई पाँच वर्षभित्र सकेसम्म हरेक परिवारमा पुराउने लक्ष्यका साथ काम गरिएको छ । त्यसका लागि बजेट व्यवस्था मिलाएर काम गरेका छौं । आगामी पाँच वर्षभित्र बहुतले व्यवसायिक भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौं । निशुल्क स्वास्थ्य वीमा र कृषि योग्य जमिनमा सिचाँई पुराउने योजना अनुसार काम गर्दै आएका छौं ।

हालसम्म ८०७ किसानलाई मोटर उपलब्ध गराएका छौं । २४ सय विगा जमिनमा सिचाईको परिवन्ध गरिएको छ । अब, १५ सय विगा कृषियोग्य जमिनमा सिचाईको व्यवस्था मिलाउनेछौं । कृषि उत्पादकलाई सहयोग गर्दै जाने कार्यक्रम जारी रहनेछ । माछा मासुमा आत्मनिर्भर हुने गरि काम गरिएको छ । ३०० भन्दा धेरै आवास निर्माणको योजना छ । सबै पालिका जोड्ने कालोपत्रे निर्माण सम्पन्न हुनेछ ।

ड्रेन, प्लम निर्माणको काम यहि कार्यकालमा लगभग सम्पन्न हुनेछ । आर्थिक मन्दीका कारण लक्ष्य अनुसार सडक निर्माण सम्पन्न हुने अवस्था छैन । तथापि, ८० किलोमिटर सडक निर्माण सम्पन्न गर्नेछौं । मन्दीका कारण कालोपत्रे र पेवर्स लगाउने काममा पछि परिन्छ जस्तो छ । पाँच वर्षभित्र कक्षा १२ सम्म निशुल्क शिक्षाको अवधारणा ल्याएका छौं । विद्यालयहरुमा सेवा शुल्क उठाउने काम भइरहेको छ । कक्षा १२ सम्म निशुल्क गर्न अघि बढेका छौं । त्यसलाई पुरा गर्ने दायित्व तर्फ नगरपालिका लागिरहेको छ । विद्यालयहरुको पूर्वाधार निर्माणमा पनि उत्तिकै काम गरिरहेको अवस्था छ । अब, कक्षा १२ सम्म नसके कक्षा १० सम्म भएपनि निशुल्क गर्ने लक्ष्य छ ।

 

प्रकाशित मिति : जेष्ठ १३, २०८१ आईतबार  ८ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]