असार ७, २०८२ शनिबार

स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार स्थापित गर्न पाँच जिल्लामा वृक्षारोपण

काठमाडौँ । स्वच्छ वातावरण उपभोग गर्न पाउनु आधारभूत मानवअधिकार हो भन्ने तथ्य स्थापित गर्न विश्व वातावरण दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाजले पाँच जिल्लामा वृक्षारोपण गरेको छ ।

वृक्षारोपणसहितका कार्यक्रम गरी शान्ति समाजले ५२औँ विश्व वातावरण दिवस मनाएको हो । शान्ति समाजका काठमाडौँ, रुपन्देही, पाल्पा, चितवन, नवलपुर र दाङ शाखाले वृक्षारोपणसहित सफाइ कार्यक्रम गरेका हुन् । पाँच जिल्लामा करिब पाँच सय बिरुवा रोपिएको शान्ति समाजका उपनिर्देशक सरिता पौडेलले जानकारी दिइन् ।

जगतमुखी अभियानमा समर्पित शान्ति समाजले २०६४ सालदेखि जलवायु परिवर्तन र विश्वव्यापी उष्णताबाट परेको प्रभावबारे ‘सचेतना र हिमालय बचाऔँ नदी जोगाउ’ अभियान सञ्चालन गर्दै आएको छ । अभियानमार्फत शान्तिसमाजले धेरै जिल्लामा वातावरण जोगाउन सचेतनामूलक कार्यक्रम सम्पन्न गरिसकेको जनाइएको छ ।

वातावरण संरक्षणका क्षेत्रमा सकारात्मक कदम चाल्ने आवश्यकताप्रति विश्वव्यापीरुपमा सचेतना फैलाउँदै, ध्यानाकर्षण गराउँदै ५ जुनलाई विश्व वातावरण दिवसका रूपमा मनाइन्छ । यो दिवस सकारात्मक परिवर्तनका लागि प्रेरित गर्ने वैश्विक मञ्च हो ।

सन् १९७२ को जुन ५ देखि १६ सम्म स्वीडेनको राजधानी स्टकहोमममा मानव पर्यावरणसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन सम्पन्न भएको थियो । वातावरणसम्बन्धी यो नै पहिलो विश्व सम्मेलन थियो । जसले वातावरण संरक्षणमा केन्द्रित रही २६ वटा सिद्धान्तसहित घोषणापत्र र कार्य योजना जारी गरेको थियो । राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको सुरुआत स्टकहोम सम्मेलनकै परिणाम थियो । त्यसको एक वर्षपछि ५ जुन १९७३ मा पहिलो विश्व वातावरण दिवस मनाइएको थियो ।

प्रकाशित मिति : जेष्ठ २५, २०८१ शुक्रबार  ८ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]