रोजगारी सिर्जना गर्ने उद्योग संरक्षण गरौं
सम्पादकीय
कोभिड महामारी र आर्थिक मन्दीले उद्योग व्यवसायको क्षेत्र धरासयी बनिरहेको छ । उत्पादित बस्तुको व्यापार र उत्पादनका लागि पुँजीको अभाव छ । कोभिडपछि सिर्जित आर्थिक मन्दीले बैंक तथा वित्तीय क्षेत्र लगानी गर्न सकिरहेका छैनन् । लगानी गरेको ठाउँमा फिर्ता हुने नहुने पीर छ । अहिले उद्योग व्यापारको क्षेत्रलाई टिकाउनु नै ठुलो चुनौति छ । उद्योग सञ्चालन गर्नु, रोजगारी सिर्जना गर्नु भनेको अहिलको ठुलै उपलब्धी हो । यस कारण उद्योग व्यवसायको क्षेत्रलाई संरक्षण गर्न राज्य पक्षले सहयोग गर्नैपर्छ । राज्य पक्षले सहयोग नगर्ने हो भने अब दुखले चलिरहेका उद्योग व्यवसाय संकट तर्फ जाने छन् ।
पछिल्लो समयको मन्दीले हरेक उद्योग अप्ठ्यारोमा परेको छ । इटा उद्योगहरु धमाधम बन्द भइरहेका छन् । व्यापारमा जमेका मान्छेहरुले व्यापार छोडेर पलायन हुनुपरेको छ । पत्रपत्रिका समेत बन्द भइरहेका छन् । यस्तो अवस्थामा पनि उद्योग क्षेत्र बचाएर जाने उद्योगीहरुलाई राज्य पक्षले अनुदानको माध्यमबाट संरक्षण गर्न आवश्यक छ । बिर्तामोड–७ मा नेपालकै ठुलो नेपाली हाते कागज उद्योग सञ्चालनमा छ । उद्योगले ६० जना नेपालीहरुलाई रोजगारी पनि दिएको छ । स्थानीय स्तरमा उत्पादित कच्चा पदार्थको पनि सदुपयोग भइरहेको छ ।
कागज उद्योगमा ठुलो लगानी भएको छ । त्यहाँ उत्पादित नेपाली कागजको बजारिकरणमा उद्योगी कै मात्र पुहँच नपुग्न पनि सक्छ । तथापि, नेपालमा आवश्यकता अनुसार कागजको निर्यात गर्ने काम भइरहेको छ । यसको उपयोगिता धेरै छ । सरकारले यसको प्रयोग गर्ने क्षेत्रलाई बढाउनुपर्छ । विदेशमा निर्यातका लागि सहज वातावरण तयार गर्नुपर्छ । यो एउटा उद्योगको मामिला मात्र होइन, स्थानीय सरकारको पनि चासोको विषय बन्नुपर्छ । एउटा घरेलु उद्योगले ६० जनालाई रोजगारी दिन कुरा भनेको सामान्य विषय होइन । यसरी उद्योग सञ्चालन गर्ने र रोजगारी दिने अन्य उद्योगहरुको पनि खोजी गरेर तीनै तहको सरकारले आवश्यक सहयोग गर्न जरुरी छ । विजुलीमा होस् वा बीमामा अर्थात कर्जामा किन नहोस् सहयोगको खाँचो छ । सँगसँगै बजारीकरणमा पनि उत्तिकै सहयोग गर्न आवश्यक छ । त्यसका लागि स्थानीय सरकारले चासो देखाउनुपर्छ ।