असार ७, २०८२ शनिबार

काठमाडौँमा झण्डै साढे १६ हजार बैंकिङ कसुरको मुद्दा

काठमाडौँ । नेपाल प्रहरीले सुरक्षित रूपमा बैंकिङ कारोबार गर्न आग्रह गरेको छ । नेपालमा निरन्तर बैंकिङ कसुरका घटनाहरू बढ्दै गएको भन्दै सुरक्षित रूपमा बैंकिङ कारोबार गर्न आग्रह गरेको हो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले नियतवस वा अन्जानमा बैंकिङ कसुरका घटना बढ्दै गएको जानकारी दिए ।

गत आर्थिक वर्षमा १६ हजार ३ सय २२ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएको भन्दै उनले यस आर्थिक वर्षमा अहिलेसम्म १३ हजार ३ सय १० वटा मुद्दा दर्ता भएको बताए । आफूले काटेको चेकलाई खाम्ने रकम आफ्नो खातामा नभएको जानी जानी चेक दिने घटनाहरू धेरै आएको प्रहरीले जनाएको छ । बैंकिङ कसुरका घटना बढ्दै गएपछि प्रहरीले सामुदायिक प्रहरी कार्यक्रम अन्तर्गत जनचेतनामूलक कार्यक्रमहरू गर्दै आएको प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले बताए ।

उनका अनुसार बैंकिङ कसुर भएको कुरा थाहा पाएको मितिले एक वर्षभित्र जाहेरी दिन सकिने हदम्याद छ । बैंकिङ कसुरका प्रतिवादी कतिपय मिटरब्याजबाट पीडितसमेत रहेको भन्ने आशंका रहँदारहँदै पनि स्पष्ट कानुनी आधार र पर्याप्त प्रमाणको अभावले प्रतिवादी पीडित हुने अवस्था रहेको मैनालीले बताए ।

मैनालीले बैंकिङ कसुरका घटना धेरै आएपछि प्रहरीहरू उक्त विषयमा केन्द्रित हुनुपर्दा अन्य शान्ति सुरक्षा, गम्भीर अपराधको अनुसन्धानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा असर पुगेको सुनाए ।

प्रकाशित मिति : जेष्ठ २८, २०८१ सोमबार  ९ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]