सकड सञ्जालमा सम्पन्न कनकाई
संख्याभन्दा गुणस्तरलाई ध्यान दियौं
झापाको कनकाई नगरपालिका बन्द निषेधित क्षेत्रको रुपमा स्थापित छ । अहिले कनकाई सूर्तिजन्य पदार्थ निषेधित क्षेत्रका रुपमा पनि परिचित भइरहेको छ । नागरिकको स्वास्थ्य सुरक्षाप्रति संवेदनशिल कनकाई नगरपालिकाले विक्रीमा पूर्ण रुपमा प्रतिवन्ध लगाएको छ । गत वर्षबाट प्रतिवन्ध गरिए पनि कार्यान्वयनकै चरणमा रहेको बताइन्छ ।
अन्य स्थानीय तहभन्दा पृथक ढंगले काम गरिरहेको कनकाई नगरपालिका शिक्षा, स्वास्थ्य र सरसफाईप्रति अति संवेदनशील रहेको नगरको गतिविधिहरुले स्पष्ट हुन्छ । भौतिक पूर्वाधार तर्फ मसिनोसँग काम गरिरहेको कनकाईले कृषि बजारको काम थालेको छ ।
आर्थिक वर्ष ०८०-८१ मा नगरपालिकाले ९ वटा ठेक्का ई–विडिङ गरेको थियो । उक्त ठेक्काहरु सम्झौता गरि कार्यसम्पन्नताको चरणमा रहेको योजना शाखा प्रमुख जमुना कटुवालको भनाई छ । उनका अनुसार सम्झौता बमोजिमका ठेक्काहरु निर्माणको चरणमा छन् । नगरमा रहेको ठुलो योजना एकीकृत कृषि बजार हो । कृषि भवन निर्माणका लागि कनकाई नगरपालिकाले ४ करोड बजेट व्यवस्था गरेको छ । अहिले उक्त भवन निर्माणको काम अघि बढेको छ ।
भौतिक पूर्वाधार तर्फ सडक निर्माण र मर्मतमा प्राथमिकता दिएको कनकाई नगरपालिकाले प्रदेश र संघको समपुरक बजेटलाई सडक पूर्वाधार निर्माणमा लगानी गरेको उनको भनाई छ । पूर्वाधारमा सडकलाई प्राथमिकता दिएको बताउदै उनले भवन संरचनाहरु पनि प्राथमिकतामा रहेको बताइन् ।
यस्तै, नगरपालिकाले वडा नं. ६ लाई जोड्ने जनपथ मार्ग ठेक्का लगाइएको छ । पञ्चायत मार्ग निर्माणको चरणमा छ भने कृषि बजार बहुवर्षे योजनाका रुपमा निर्माण प्रक्रिया अघि बढाइएको छ । नगरले वडा कार्यालयको आवश्यक पूर्वाधारलाई पनि प्राथमिकतामा राखेको छ । वडा नं. ४, ६ र ८ मा आवश्य संरचना निर्माण गर्दै जाने बताइएको छ । ४ र ६ नं. वडा कार्यालयमा घेरावारको लागि कम्पाउण्ड निर्माण र वडा नं. ८ मा भवन निर्माणको काम जारी रहेको बताइएको छ । कनकाईले वायोग्यास प्लान्टसम्म जाने बाटो निर्माणलाई प्राथमिकता दिएको छ । बिर्तामोड, कनकाई र अर्जुनधारा नगरपालिका, सर्वसाधारणको शेयर लगानीमा सञ्चालित वायोग्यास प्लान्टसम्म जाने बाटोलाई निर्माण पुरा गर्ने सोच बनाएको कटुवालले जानकारी दिइन् ।
यस्तै, कनकाई नगरपालिकामा मेयर आवास कार्यक्रम सञ्चालनमा रहेको छ । यसअघि करिव ४ सय आवास निर्माण गरेर विपन्न नागरिकलाई हस्तान्तरण गरेको कनकाईले आगामी वर्षमा पनि उक्त कार्यक्रमलाई निरन्तरता दिने योजनामा छ । सुरुवातदेखि २ लाख ५० हजार लगानीमा आवास निर्माण गरिरहेको कनकाईले यो वर्ष ३ लाख लगानी गरेर घर निर्माण गर्ने जनाएको छ । टाटी लगाएर निर्माण गर्ने गरिएको थियो, योजना शाखा प्रमुख कटुवालले भनिन् – अब इटाको समेत प्रयोग गरिनेछ । बस्नका लागि सहज हुने गरि विपन्न परिवारको घर निर्माण गरिने उनको भनाई छ । हरेक विपन्न नागरिकको आवास हुनुपर्छ भन्ने मान्यतालाई पुरा गर्ने क्रममा कनकाईले बस्न लायक घर निर्माण गरिरहेको छ । मेयर आवासलाई परिणाममुखी बनाउका लागि प्राथमिकता दिइएको हो । कनकाईका जनप्रतिनिधिहरुको समपना समेत भएकाले लगानी समेत थप गरिएको उनको भनाई छ । आउँदो वर्षहरुमा आवास निर्माणलाई राम्रो बनाउदै जाने योजना छ ।
यसैक्रममा कनकाई नगरपालिकाले विद्यालयका भवन मर्मत, खानेपानी , पुस्तकालय लगायतका संरचनाहरु निर्माणमा समेत उत्तिकै ध्यान दिएको छ । गुणस्तरीय शिक्षाका लागि आवश्यक पूर्वाधार र आधारभुत आवश्यकताहरुलाई परिपूर्ति गर्दै गएको शाखा प्रमुख कटुवालको भनाई छ । उनले सिकाईलाई प्रभावकारी बनाउनका लागि विद्यालयमा ल्याव संरचना निर्माणमा समेत नगरपालिकाले सहयोग गरिररहेको जानकारी दिइन् । आउँदो वर्षहरुमा पनि विद्यालय क्षेत्रको पूर्वाधार निर्माणलाई निरन्तरता दिदैं जाने बताइन् । शिक्षामा नयाँ केहि गरौं, रचनात्मक र परिणाममुखी काम गरौं भन्ने उदेश्यले अगाडि बढिरहेको उनको भनाई छ । कनकाई नीति कार्यक्रममा पनि शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिइन् ।
कनकाई नगरपालिकाले भौतिक पूर्वाधार तर्फ संख्या भन्दा पनि गुणस्तरलाई प्राथमिकता दिइरहेको छ । बनाइसक्दा विग्रिने भन्दा पनि बलियो र गुणस्तर संरचना निर्माणमा कनकाई प्रतिवद्ध रहेको पाइन्छ । पूर्वाधार निर्माणमा सोचेजस्तो लक्ष्य हासिल गर्न सकिदैन, उनले भनिन् – तर निर्माण भएका संरचनालाई गुणस्तरीय बनाउन सकिन्छ । त्यसका लागि कनकाई नगरपालिकाले कालोपत्रेको थिकनेस जाँच गर्ने गरेको छ । सम्झौता बमोजिम कालोपत्रे भए नभएको जाँच गर्न नगरपालिकाले कोरकटर मेसिनको प्रयोग गर्दै आएको छ । पूर्वाधार तर्फ कालोपत्रेको गुणस्तर जाँचका लागि डिजिटल मेसिन प्रयोग गर्दै आइरहेको कनकाई नगरपालिकाले जनाएको छ ।
भौतिक पूर्वाधार निर्माणमा निर्माण व्यवसायी र उपभोक्ता समितिले गर्ने काममा धेरै नै फरक पाइने योजना तथा प्रशासन शाखा प्रमुख कटुवालको धारणा छ । निर्माण व्यवसायीले ठेक्का लिएर काम गर्दा पर्याप्त मात्रामा प्रविधि तथा उपकरणको प्रयोग गर्ने गरेका हुन्छन् । प्रविधिको माध्यमबाट निर्माण क्षेत्रको काम गर्दा गुणस्तरीय पनि बन्ने गर्छ । तर, उपभोक्ता समितिले त्यसैगरी काम गर्न सक्ने अवस्था हुदैन । कागजमा ठिकै प्रतिवेदन आएपनि फिल्ड पुग्दा त्यस्तो देखिदैन । उपभोक्ता समितिहरुले पनि काममा गुणस्तर कायम गर्न प्रतिबद्ध हुनुपर्ने उनको सुझाव छ । यस्तै, कनकाईले सम्झौता बमोजिम काम नगर्ने निर्माण व्यवसायीको फाइल रोक्ने गरेको छ । सम्झौता बमोजिम काम पुरा गरेपछि मात्रै फरफारकको काम अघि बढाइन्छ । उनले भनिन्, यहाँ काम सम्झौता बमोजिम नगरी भुक्तानी लैजान्छु भन्ने नसोचे पनि हुन्छ ।
यो वर्ष कनकाईले सडक बोर्डसँगको सहकार्यमा पुराना सडकहरु मर्मत गर्दैछ । कालोपत्रे भत्किएका पुराना सडकहरुलाई मर्मत गर्न काम अघि बढाइएको छ । जनताको माग धेरै नै छ । उनले थपिन्, सबै माग पुरा गर्न बजेट अनुसार पनि गाह्रो छ । तर, जनताले सहजै हिडडुल गर्न सक्ने सडक निर्माण गर्न स्थानीय सरकार लागिरहेको छ । कालोपत्रे गर्ने, पेवर्भ लगाउने , ट्रयाक खोलिएका सडकहरुलाई व्यवस्थित गर्दै कनकाईले सडक पूर्वाधारमा सुधार ल्याइरहेको छ । काम गर्न धेरै बाँकी छ । शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा धेरै काम भइसकेको छ । आगामी वर्ष पनि यस क्षेत्रलाई प्राथमिकता दिने उनको भनाई छ ।
अन्य पालिकाको तुलनामा कनकाईले भौतिक पूर्वाधार विकास सन्तोषजनक काम गरेको योजना शाखा प्रमुख कटुवालको भनाई छ । ट्रयाक खोलिएका ठाउँमा व्यवस्थित तरिकाले निर्माण गरी आवतजावतलाई सहज बनाउन काम गरिएको छ ।
धार्मिक एवम् पर्यकटीय नगर कनकाईले पूर्वाधार निर्माण गर्दा यस क्षेत्रलाई पनि सँगसँगै अघि बढाएको छ । पर्यटकीय स्थलसम्म जानका लागि सडक निर्माण, पेवर्भ लगाउने कामहरु भइरहेको बताइएको छ । सामुदायिक वन क्षेत्रमा भएका पर्यटकीय स्थलहरुमा पार्क निर्माण सहयोग देखि मनोरञ्जनका लागि बोट खरिदमा समेत सहयोग गरिरहरको अवस्था छ ।
पुराना सडकको मर्मत गर्ने
कुशल हुँमागाई, इन्जिनियर
कनकाई नगरपालिकाले गत वर्षयता आधा दर्जन सडकमा कालोपत्रे गर्न सफल भएको छ । आगामी वर्षका लागि समेत ठेक्का लगाइसकेको इन्जिनियर कुशल हुँमागाईले जानकारी दिए । उनका अनुसार वडा नं.७ मा पर्ने फेचाहोलीमा १ हजार ७१ मिटर सडकमा कालोपत्रे सम्पन्न गरिएको छ । स्वर्गद्वारी मार्ग ४२० मिटर, जनपथ मार्ग ६३० मिटर, पञ्चायत मार्ग ३०० मिटर, रिङरोड कालोपत्रे ६६७ मिटर कालोपत्रे गरिएको छ । घैलाडुब्बामा रहेको कोच राजवंशी भवनको माथिल्लो तलाको ढलाई गर्ने काम सकिएको हुमागाईले जानकारी दिएका छन् ।
अब यो वर्ष जनपथ मार्ग, स्वर्गद्वारी मार्गमा कालोपत्रेलाई निरन्तरता दिने बताइएको छ । सडक बोर्डबाट नगरपालिकाले ६ वटा पुराना बाटोहरुको मर्मत गर्ने तयारी गरेको छ । कालोपत्रे विग्रिएका ६ वटा सडक ठेक्काबाट निर्माण सम्पन्न गर्ने बताइएको हो । त्यसका लागि टेन्डर समेत आव्हान भइसकेको छ । त्यस प्रकारको बाटोहरु करिव ४०३२ मिटर सडक मर्मत गरिने छ । भृकुटी मार्ग वडा नं. ७, शान्ति मार्ग वडा नं. १, हुलाक मार्ग, जेसीज मार्ग, योगमाया मार्ग वडा नं. ३ र वडा नं. २ मा रहेको डाँडागाउँ मार्ग मर्मत गरिने इन्जिनियर हुमागाईले जानकारी दिएका छन् ।
यस्तै, नगरपालिकाले जामुनवारी चोकदेखि वनपथ हुँदै वायोग्यास जाने ८९३ मिटर सडकमा ब्लक लगाएको छ । टेण्डर गर्दा घटेर आएपछि नगरपालिकाले ८०.५ मिटर ब्लक विच्याउने काम वृद्धि गरिएको थियो । यहाँ ड्रेन पनि निर्माण गरिएको छ । पश्चिम साइडमा ४४५ मिटर र पूर्वसाइडतिर ६३१ मिटर डे«न निर्माण सम्पन्न गरिएको छ । नगरले पञ्चायत मार्गको कालोपत्रे गर्ने योजनालाई निरन्तरता दिएको छ । सो सडकले अर्जुनधारा जोड्नेछ । यो आर्थिक वर्षमा कालोपत्रे सम्पन्न गरिने उनको भनाई छ । चार वर्षदेखि निरन्तर निर्माण हुँदै आएको पञ्चायत मार्गको निर्माण यसै वर्षबाट सम्पन्न हुने बताइएको छ ।
आगामी वर्ष नगरले वडा नं. ८ को कार्यालय निर्माण गर्ने जनाएको छ । यस्तै, वडा नंं. ४ मा माथि ट्रस थप गर्ने र वडा नं. ६ मा बाउन्ड्री वाल र गेट निर्माण गरिने छ । घैलाडुब्बामा रहेको स्वास्थ्य चौकी मर्मत, घेरावारा र माथि ट्रस लगाइने पूर्वाधार तर्फको योजनामा समेटिएको छ ।
उनका अनुसार मन्सापुर टोल–पाथीभरा मार्ग कालोपत्रे निर्माणलाई निरन्तता दिने तयारी गरिएको छ । सुरुङामा २ तले कृषि भवनको लागि ठेक्का लागिसकेको छ । बजार क्षेत्रको सौन्दर्यकरणलाई ख्याल गर्दै बजार जोड्ने साना बाटोहरुमा ब्लक लगाउने काम गरिएको छ । छोटा बाटोहरु नगरले आफ्नै स्रोतबाट सम्पन्न गरिरहेको छ भने लामो बाटोहरुमा प्रदेश र संघीय सरकारको सहयोग लिइरहेको कनकाई नगरपालिकाले जनाएको छ ।
कनकाईको सुरुंगा–धनुस्कोटी ४ किलो मिटर, सुरुंगा पुल–पञ्चायत मार्ग ३ किलो मिटर, दुर्गापुर–दहीझोडा साढे तिन किलो मिटर, सुरुंगा–चप्रामारी ८ किलो मिटर, मनकामना मन्दिर–नारायणदल चोक ३ किलो मिटर, नारायणदल–पश्चिम ५ सय मिटर, चर्च रोड ४ सय मिटर सडक कालोपत्रे गर्ने काम भइसकेको छ । लक्ष्मीमार्ग साढे १ किलो मिटर, कोटीहोम–गौतम चोक ४ किलोमिटर, त्रिवेणी–शिवसताक्षी सिमाना २ किलो मिटर, टप्पु–सुरुंगा साढे २ किलो मिटर, वडा नं. ३ मा पर्ने रिङरोडमा २ किलो मिटर, योगमाया पार्क–झापा रोड २ किलो मिटर, मृकुटी मार्ग साढे २ किलो मिटर, विजमनी मार्ग १४ सय मिटर, वडा नं. ६ मा साढे १ किलो मिटर कलोपत्रे सडक बनेको छ ।
त्यसैगरी लक्ष्मीपुर–लकडीगद्धी साढे ४ किलो मिटर, जनपथ मार्ग १७ सय मिटर, महिला मार्ग ७ सय मिटर, वडा नंं ८ र ९ मा साना साना गरी ५ किलो मिटर, सिमसार पश्चिम २ किलो मिटर, टप्पु–चम्पापुर २ किलो मिटर, सुरुंगा बजार क्षेत्रमा ३ किलो मिटर कालोपत्रे गर्ने काम भइसकेको छ । वर्षेनी कालोपत्रे गर्ने, धुलाम्मे सडकलाई ग्राभेल गरेर कनकाई नगरपालिकाले सडक सञ्जालमा अब्बल सावित गर्न सफल भएको छ ।
मास लाइटदेखि व्यायामशालासम्म
कनकाईले ‘मास लाइट’ जडान गरेको छ । शान्ति सुरक्षाका लागि नगरपालिकाले नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा मास लाइट जडान गरेको हो ।
दुई करोड ६० लाखको लागतमा चारवटा मास लाइट तथा एक सय स्मार्ट लाइट जडान गरिएको छ । नगरपालिकाले ६० तथा प्राधिकरणले ४० प्रतिशत लगानी गरेर लाइट जडान गरिएको हो । एउटा मास लाइट जडान गर्न १६ लाख खर्च भएको थियो । कनकाई नगरपालिकाको कोटीहवन, सुरुङ्गा, दुर्गापुर र लक्ष्मीपुरमा मास लाइट जडान गरिसकेको छ ।
सोह्र मिटर अग्लो पोलमा जडान गरिने स्वचालित मास लाइटले एक सय मिटर वरपरसम्म उज्यालो दिने प्राविधिकहरुको भनाई छ । सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै नगरपालिकाले मास लाइट जडान गरेको थियो । चोरी डकैतीलगायत विभिन्न आपराधिक घटनामा कमी ल्याउन सकिने विश्वास सहित उक्त किसिमको लाइट जडान गरेको हो ।
यस्तै, कनकाई नगरपालिकाले आफ्नै लगानीमा खुला व्यायामशाला सञ्चालन गरिरहको छ । नगरवासीको सुविधाका लागि खुला व्यायामशालाको अवधारणा ल्याएको हो । कनकाईले ‘स्वस्थ जीवन प्रवद्र्धन’ कार्यक्रमअन्तर्गत कनकाई–३ को सुरुङ्गा बजार नजिक पश्चिम बसस्टेण्डमा नगरपालिकाले व्यायामशाला निर्माण गरेको छ । व्यायामशालामा कुनै शुल्क तिर्नु पर्दैन । कनकाई सामुदायिक वनको चार कठ्ठा जग्गामा बाल उद्यान र खुला व्यायामशाला सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलको भनाई छ ।
नगरपालिकाको ४५ लाख र कोशी सरकारको १२ लाख गरी कूल ५७ लाख खर्च गरेर उक्त संरचना निर्माण गरिएको छ । व्यायामशालालाई सुरक्षित बनाउन कम्पाउड वालले घेरिएको छ । रोग लाग्नुभन्दा रोकथामको उपाय गर्नु ठीक हुन्छ भन्ने मान्यताका आधारमा व्यायामशाला सञ्चालनमा ल्याएको उनको भनाई छ । बढ्दो शहरीकरणसँगै खुला ठाउँको अभाव भइरहेको बेला शारीरिक व्यायाम गर्ने स्थान अभाव भएको महसुस गर्दै निजीरूपमा व्यायामशाला निर्माण गर्न खर्चिलो हुने देखेर खुल्ला व्यायामशाला निर्माण गरेका पोखरेलले जानकारी दिए ।
व्यायामशालामा विभिन्न आधुनिक १२ वटा उपकरण राखिएको छ । व्यायामशाला युवादेखि बृद्धासम्मका लागि खुला गरिएको छ । झापामा स्थानीय तहले निर्माण गरेर सञ्चालनमा ल्याइएको यो पहिलो खुला व्यायामशाला हो । खानपान र जीवनशैलीमा आएको परिवर्तनले व्यक्तिमा विभिन्न प्रकारको दीर्घरोग बढिरहेको अवस्थामा स्वस्थ जीवन जिउनका लागि नियमित शारीरिक अभ्यासमा व्यायामशालाले उत्प्रेरित गर्ने नगरप्रमुख पोखरेलले सपना देखेका थिए । उनले त्यो सपना पुरा पनि गरेका छन् ।
सुरुङ्गा ‘बन्द निषेधित क्षेत्र’ भएको हुँदा व्यायामशालामा त्यसको प्रतीक राखिने बताए । दश वर्षे जनयुद्धकालमा समेत सुरुङ्गाबासीले आफ्नो बजारलाई बन्द हुन दिएनन् । त्यसैले सुरुङ्गा बन्द निषेधित क्षेत्रको रूपमा चर्चित छ । कतिपयले खुला व्यायामशालामा सरसफाईको अभाव भएको प्रतिक्रिया दिएका छन् ।