अनेरास्ववियुको कोशी प्रदेश स्तरीय प्रचार भेला बिर्तामोडमा
बिर्तामोड । अनेरास्ववियुको कोशी प्रदेश स्तरीय प्रचार भेला झापाको बिर्तामोडमा असार ५–६ गते हुने भएको छ । बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजना गरिने प्रचार भेलामा कोशी प्रदेशका एक हजार विद्यार्थीको सहभागिता हुने छ ।
सूचना तथा प्रविधिमा विद्यार्थीलाई जोड्दै आन्दोलनलाई रचनात्मक बनाउन प्रचार भेलाको आयोजना गरिएको अनेरास्ववियु कोशी प्रदेश कमिटी उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख नारायण पोखरेलले जानकारी दिए । उनका अनुसार राज्यबाट प्राप्त उपलब्धीहरुलाई सूचना तथा प्रविधिको माध्यमबाट तल्लो तहसम्म पु¥याउनका लागि कार्यक्रम फलदायी हुने छ ।
प्रचार विभाग प्रमुख पोखरेलले कार्यक्रममा नयाँ प्रविधि र सूचनाका माध्यमहरुको प्रयोगका बारेमा बृहत छलफल हुने जानकारी दिए । उनले सहभागी विद्यार्थीहरुलाई प्रचारलाई व्यवस्थित बनाउन प्रशिक्षण समेत प्रदान गरिने बताए ।
कोशी प्रदेशको प्रचार भेलामा संगठनका केन्द्रीय अध्यक्ष समिक बडाल, पार्टीका जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकाल, पार्टी केन्द्रीय सदस्य विद्यार्थी इञ्चार्ज किशोर विक्रम मल्ल लगायतको सहभागिता हुने छ । प्रचार भेलामा विज्ञ दिपेन्द्र श्रेष्ठ, संगठनका केन्द्रीय प्रचार विभाग प्रमुख आर विक्रम ओखेडा लगायतले सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।
दुई दिनसम्म सञ्चालन प्रचार हुने भेलामा विद्यार्थीहरुलाई प्रचारमा पोख्त बनाउने उद्देश्य रहेको आयोजक कमिटीको धारणा छ ।