माघ २८, २०८१ सोमबार

शिवसताक्षीका वडा-वडामा स्वास्थ्य सेवा, विपन्नलाई उपचार गर्न आर्थिक सहयोग

शिवसताक्षी सेरोफेरो

नागरिकको स्वास्थ्य उपचार सेवामा संघीयताको प्रभाव राम्रैसँग परेको छ । स्थानीय सरकार हुनुअघि जिल्ला जनस्वास्थ्यको भरमा स्वास्थ्य सेवा प्रवाह भइरहेको थियो । सिमित औषधि र अति कम बजेटबाट सञ्चालित स्वास्थ्य संस्थाहरुले नागरिकको लागि पर्याप्त स्वास्थ्य सेवा प्रदान गर्न सकिरहेका थिएनन् । संघीयतापछि वडा–वडामा सञ्चालनमा आएका स्वास्थ्य संस्थाले आवश्यक सेवा प्रदान गरिरहेको शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखामा कार्यरत निर्मला सिग्देलको भनाई छ । उनले शिवसताक्षीका नागरिकले वडा–वडामा स्वास्थ्य सेवा पाइरहेको जानकारी दिइन् । स्थानीय सरकारको परिकल्पना नै नागरिकलाई स्थानीय स्तरमै सेवा दिने भन्ने हो । सोही अनुसार नागरिकले सेवा प्राप्त गरिररहेको उनको भनाई छ ।

शिवसताक्षी नगरपालिकाले चालु आर्थिक वर्षका सबैजसो कार्यक्रमहरु सञ्चालन गरिसकेको जनाएको छ । नगरपालिका र ससर्त तर्फको बजेटबाट सञ्चालित कार्यक्रमहरु सम्पन्न गरिएको बताइएको छ । स्वास्थ्य शाखाले महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई पुनरताजकी तालिम सञ्चालन गरिएको सिनियर नर्सिङ निरीक्षक सिग्देलले जानकारी दिइन् । उनले विभिन्न स्वास्थ्य सम्बन्धित तालिमहरु सञ्चालन गरेर जनशक्तिलाई दक्ष बनाउने काम गरिएको बताइन् । यस्तै, नगरलाई पोलियो खोप सुनिश्चितताका लागि अभियान सञ्चालन गरिएको थियो ।

गत वर्ष ४ वटा विद्यालयमा किशोर किशोरी रक्त अल्पता जाँच गरिएको थियो भने यो वर्ष सोही कार्यक्रम थप ५ वटा विद्यालयहरुमा सञ्चालन गरिएको थियो । किशोर किशोरीको रगतको मात्रा जाँच गरिएको सिग्देलको भनाई छ ।

यस्तै, स्वास्थ्य शाखाले गर्भवती महिलाहरुका लागि क्याल्सियम वितरण गरिएको छ । गर्भवती महिलाहरुको प्रसुतिपछि सुत्केरी र बालबालिकाहरुको नियमित स्वास्थ्य जाँच गर्दै आएको नगरको स्वास्थ्य शाखाले जनाएको छ ।
नगर स्वास्थ्य शाखाले महिलाहरुको पाठेघरको मुखको क्यान्सरजन्य समस्यालाई संवेदनशीलतालाई ख्याल गर्दै स्वास्थ्य जाँच गरिएको सिनियर नर्सिङ निरीक्षक सिग्देलले जानकारी दिइन् । उनका अनुसार पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर जाँच गरिएको बताइन् ।

वडा–वडामा नागरिकको स्वास्थ्य जाँचका लागि एक्सरे समेत गर्ने तयारी गरिएको छ । यसै आर्थिक वर्षमा एक्सरे कार्यक्रम सञ्चालन सम्पन्न गर्ने योजना छ ।

सिनियर नर्सिङ निरीक्षक सिग्देलले स्थानीय तह मार्फत नागरिकको स्वास्थ्य उपचार प्रभावकारी भइरहेको बताइन् । पहिले औषधि नै अभाव थियो, उनले भनिन् – अहिले पर्याप्त औषधि छ । नागरिकले चाहेको औषधि सहजै पाइरहेका छन् । तोकिएको औषधि विरामीलाई उपलब्ध गराउन सकिएको उनको भनाई छ । संघीयतापछि नागरिकलाई नजिकैको स्वास्थ्य जाँच गर्न बानी बनाउन स्वास्थ्य शाखाले भूमिका निर्वाह गर्दै आएको छ ।

नगरभित्र सबै वडामा स्वास्थ्य संस्थाका संरचनाहरु व्यवस्थित गरिएका छन् । अहिले वडा नं. ६ मा नगर अस्पताल सञ्चालनको अन्तिम चरणमा छ । शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्दै नगर अस्पताल निर्माण सम्पन्न गरिएको छ । नगरलाई हस्तान्तरण गरेपछि पूर्ण रुपमा अस्पताल सञ्चालनमा ल्याइने जानकारी दिइएको छ ।


शिवसताक्षीका नागरिकहरुले ठुलो समस्या बाहेक सबै उपचार सेवा वडा–वडाबाट उपलब्ध गराइरहेको स्वास्थ्य शाखाले जनाएको छ । अहिले जटिल समस्या बाहेक नगरमै उपचार सेवा उपलब्ध भइरहेको छ ।

नियमित कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गरिरहेको शिवसताक्षी स्वास्थ्य शाखाले गाउँगाउँमा स्वास्थ्य सचेतना शिक्षा सञ्चालन गरिरहेको जनाएको छ ।

ओपीडी सेवा, गर्भवती पीएनसी सेवा लगायतका सेवाहरु उपलब्ध गराउदै आमा र बच्चाको रेखदेख देखि स्वस्थ्य खानाका लागि अभियान समेत सञ्चालन गरिरहेको बताइएको छ ।

विपन्नलाई उपचारमा लाखौं रुपैयाँ आर्थिक सहयोग
शिवसताक्षी नगरपालिकाले विभिन्न स्वास्थ्य उपचार सेवाका लागि आर्थिक सहयोग उपलब्ध गराउदै आएको छ । क्यान्सर, मृगौला प्रत्यारोपण, डाइलोसिस, पक्षघातका विरामीलाई हरेक ४÷४ महिनामा आर्थिक सहयोग रकम उपलब्ध गराउदै आएको स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य शाखाले उपलब्ध गराएको विवरण अनुसार पहिलो चौमासिकमा १७ लाख ४५ हजार दोस्रो चौमासिकमा १८ लाख ४५ हजार बैंक मार्फत भुक्तानी उपलब्ध गराइएको छ । तेस्रो चौमासिकमा २० लाख २० हजार र चौथो चौमासिकमा २३ लाख ६ हजार रुपैयाँ भुक्तानीको तयारी गरिएको छ ।

यस्तै , शिवसताक्षी नगरपालिकाले १ सय ६२ जना नागरिकलाई उपचार सहयोग उपलब्ध गराएको छ । नगर प्रमुख रोशन थोप्राले उपचारका लागि सहयोग माग गर्न आउने विपन्न नागरिकहरुलाई विरामीको अवस्था अनुसार सहयोग गर्ने गरेका छन् । ५ हजारदेखि ५० हजारसम्म सहयोग गरेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

प्रकाशित मिति : असार ६, २०८१ बुधबार  १० : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]