हरेक महिलालाई सीप सिकाउने योजना
उपप्रमुख, नरमाया कार्की
शिवसताक्षी नगरपालिकामा हरेक महिला दिदी बहिनीहरुलाई स्वरोजगार बनाउन सीप विकासका लागि गत वर्षबाट सीपमुलक तालिमहरु सञ्चालन गरिएको छ । नगर उपप्रमुख नरमाया कार्कीले महिलालाई सक्षम बनाउन सीप र रोजगारसँगै चेतनाको विकास गर्नुपर्ने धारणा राख्नुभएको छ ।
विगतमा सीप नभएकाले महिलाहरु पछि पर्नु भएको थियो, उहाँले भन्नुभयो – आयमुलक व्यवसायका लागि सीप सिकाउन लागिपरेका छौं । मेरो कार्यकालमा दिदीबहिनीहरुलाई स्वरोजगार बनाउदै अघि बढाउनेछु । बेरोजगार महिलाहरुलाई रोजगारमा जोड्ने संकल्प गर्दै उपप्रमुख कार्कीले सीप सिकाउने, प्रविधि हस्तान्तरण गर्ने र बीउ पुँजीको लागि सहयोग गर्ने योजना रहेको बताउनुभयो । उहाँले महिलालाई दक्ष बनाउनका लागि दक्ष तथा अनुभवी सहजकर्ताबाट तालिम उपलब्ध गराइरहेको बताउनुभयो । तालिमलाई परिणाममुखी बनाउनका लागि व्यवसायमा जोडिन आवश्यक रहेको भन्दै उपप्रमुख कार्कीले महिलाहरु सीप, रोजगार र साक्षर बन्नुपर्ने धारणा राख्नु भएको छ ।
समूह बनाएर काम गर्ने योजना भए पनि नगरपालिकाले सहयोग गर्नेछ । महिलाहरुलाई घरेलु तथा साना उद्योगहरु सञ्चालन गर्दै सामूहिक व्यवसायमा जोडेर जाने नगरको योजना रहेको उनको भनाई छ । स्थानीय सरकार बनेपछि महिलाहरु खुलेर बाहिर आउनुभएको छ । सामाजिक काममा पनि सक्रियता देखाइरहनु भएको छ । उपपप्रमुख कार्की भन्नुहुन्छ – संघीयताले महिलाहरुलाई स्वरोजगार बन्नका लागि प्रेरित गरेको छ । गाउँमा सरकार भएपछि महिलाले त्यसैगरी सहयोग पाइरहेका छन् ।
आगामी वर्षमा केराको थामबाट धागो उत्पादन गर्ने र व्याग बनाउने योजना रहेको छ । केराको थामबाट बनेको व्याग विदेश निर्यात गर्ने उपप्रमुख कार्कीको योजना छ । महिलालाई आयआर्जनमा जोड्का लागि केराको थामबाट व्याग बनाउने योजना बनाएको उनको भनाई छ ।
उहाँले पछिल्लो समय पारिवारिक एकतामा समस्या बढ्दै गइरहेकोमा चिन्ता समेत व्यक्त गर्नुभएको छ । न्यायिक समिति संयोजक कार्कीले मानाचामल सम्बन्धी मुद्धा धेरै नै आइरहेको छ । यसले धेरै नै चिन्तित बनाउने गरेको छ । पारिवारिक एकताका लागि चेतनामा परिवर्तन हुनुपर्ने धारणा छ ।