बैशाख २०, २०८२ शनिबार

शिवसताक्षीको रणनीति : कृषि उत्पादनमा सम्पन्न नगर बनाउने लक्ष्य

धान प्रवद्र्धनदेखि माटोको स्वास्थ्य बचाउने रणनीति

शिवसताक्षी – झापाको शिवसताक्षी नगरपालिका कृषि उत्पादनका दृष्टिले उर्वर मानिन्छ । तीन बालीसम्म हुने शिवसताक्षीमा कृषिलाई जोगाइराख्न स्थानीय सरकारको तर्फबाट आवश्यक सहजीकरण भइरहेको छ । धान, तरकारी, तेलहन, मौरीपालनमा अग्रस्थानमा रहेको शिवसताक्षी किसानको हितमा धेरै भन्दा धेरै काम गर्ने उत्कट इच्छाका साथ काम गर्दै आएको छ ।

नगर प्रमुख मेघाहाङ थोप्रा (रोशन) किसान संरक्षण्का लागि माटो जोगाउन जरुरी रहेको बताउँछन् । माटोको स्वास्थ्यलाई जोगाउदै कृषि क्षेत्रको विकासमा जोड दिइरहेको उनको भनाई छ । पछिल्लो बढ्दै गइरहेको जमिन टुक्राउने समस्याले ठुलो क्षेत्रमा खेती गर्न कठिनाई भइरहेको छ । उनका अनुसार खेतीका लागि प्रविधि प्रयोगमा समेत चुनौति थपिरहेको छ । उनले नीतिगत रुपमा कृषि क्षेत्रको प्रवद्र्धन र विकासमा योगदान गर्ने जनाएका छन् । किसानको हितमा अधिकतम काम गर्दै शिवसताक्षीलाई कृषि उत्पादनमा सम्पन्न नगर बनाउने योजना छ ।

शिवसताक्षी नगरपालिकाले कृषिलाई प्रोत्साहन गर्दै विभिन्न कार्यक्रमहरु मार्फत कृषकलाई कृषि उन्ननयका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ । शिवसताक्षी नगरपालिकाका अधिकांश नागरिक कृषिमा आश्रित छन् । नगरको दक्षिणी भेग कृषि उत्पादनका लागि पकेट क्षेत्रको रुपमा स्थापित छ ।

नगरमा भएको कृषि उत्पादनलाई बजारिकरणका लागि नगरपालिकाले शिवगंज कृषि थोक बजार सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । नगरपालिकाले स्थानीय क्षेत्रमा उत्पादित कृषिजन्य सामग्री तथा रैथाने सामग्रीको बजारीकरणको लागि सहजता पु¥याउनका लागि थोक बजार सञ्चालनमा ल्याउन लागेको हो ।

नगरपालिकाले वडा नम्बर ६ शिवगञ्ज थोक बजार निर्माण गरेको छ । विगत केही बर्षदेखि निर्माण गर्दै आएको सो बजार यस वर्ष सम्पन्न भएको पालिकाका कृषि शाखा अधिकृत रविन भट्टराईले जानकारी दिए । उनका अनुसार चालु आवमा नगरबाट विनियोजित १५ लाख बजेटबाट पूर्ण रुपमा निर्माण कार्य सम्पन्न भएको छ । आगामी आर्थिक वर्षबाट कृषि बजार सञ्चालनमा आउने छ ।

नगरपालिकाले बजारमा रहेका ४७ वटा सटरहरु भाडामा दिने उनको भनाइ छ । उक्त संरचनामा नगरपालिकाले ब्लक ‘ए’ का ३९ वटा प्रति सटर एक हजार ५०० रुपैयाँको दरले र ब्लक ‘बी’ का ८ वटा प्रतिसटर दुई हजार ५०० रुपैयाँको दरले भाडामा दिने उनको भनाइ छ ।

नगरपालिकामा धान, मकै तथा तरकारीको उत्पादन राम्रो भइरहेको उनले जानकारी दिए । पालिकाले बाली तथा तरकारीलाई थप प्रवद्र्धनको लागि अनुदानमा बीउ, उपकरण तथा सामग्री वितरण गर्दै आएको छ ।

नगरपालिकाले कालो नुनिया, मसिनो, वास्नादार धान प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको छ । त्यसका लागि कृषकहरुलाई प्रति कठ्ठा ५०० का दरले ४७ जना किसानलाई ६१८ कठ्ठा क्षेत्रफलको लागि ३ लाख ९ हजार प्रोत्साहन रकम उपलब्ध गराएको छ । युवा लक्षित कृषि कार्यक्रम अन्तर्गत ७ वटा कृषि फर्मलाई मह उत्पादन र २ वटा कृषि फर्मलाई तरकारी खेतीमा अनुदान उपलब्ध गराइएको कृषि शाखालले जनाएको छ ।

त्यसैगरी आकस्मिक बाली संरक्षण कार्यक्रम मार्फत शिवसताक्षी ११ बच्चाबगरमा कृषि सेवा केन्द्र स्थापना गरी नगर भित्रका कृषकहरुको बालीमा देखिएको समस्याको आधारमा जैविक तथा रसायनिक विषादीहरु वितरण गरिएको छ । नगरभित्र रहेका साना फर्महरुको ५० प्रतिशत अनुदानमा मकै छोडाउने मेसिन ४५ थान, मकै रोप्ने मेसिन ५० थान, इलेक्ट्रोनिक स्प्रे ट्यांकी १०० थान, एक पाङ्ग्रे ठेला १०० थान कृषकहरुलाई वितरण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

विभिन्न कृषक समूह र सहकारी मार्फत वितरण गरिएको थियो । बेमौसमी तरकारी खेतीका लागि कृषि शाखाले ४५९ जनालाई प्लाष्टिक टनेल वितरण गरेको छ । त्यसैगरी तोरी खेतीमा प्रोत्साहन गर्दै १० जना कृषकलाई १० विगाह क्षेत्रफलमा तोरी खेती लगाए बापत जनही एक लाख अनुदान दिएको छ । त्यस्तै ५० प्रतिशत अनुदानमा १३२० केजी उन्नत जातको गहुँ र १२०५ केजी धानको विउ कृषकलाई वितरण गरिएको कृषि शाखा प्रमुख भट्टराईको भनाई छ ।

शिवसताक्षीले चालु वर्षदेखि धान विक्री नहुने, उचित मुल्य नपाउने किसानहरुको समस्या समेत समाधान गरेको छ । नगरले वडा ४ मा सामूहिक रुपमा गरेको चैते –५ धानको उत्पादनपछि मोरङको बेलबारीमा रहेको आर्जु राइस मिलसँगको समन्वयमा विक्रीको वातावरण मिलाएको छ । प्रति मन ९ सयदेखि ११ सय रुपैयाँसम्म विक्रीको लागि व्यवस्था मिलाइएको शाखा प्रमुख भट्टराईले जानकारी दिए । उनका अनुसार धान विक्री नहुँदा किसान मार्कामा पर्नु परेको थियो । दुई पक्षबीचको सम्झौताले उचित मुल्य प्राप्त गर्न सहजता मिलेको छ ।

यस्तै, नगरमा सञ्चालित तराई सिंचित कृषि प्रवद्र्धन कार्यक्रम मार्फत जाइकाको सहयोगमा किसानलाई सहयोग प्रदान गरिएको छ । किसानहरुका लागि उत्पादन सामग्री र प्राविधिक सामग्री सहयोग भएको कृषि शाखाले जनाएको छ ।

नगरमा व्यवसायिक तरकारी र मौरी पालन किसानलाई प्रोत्साहन गर्ने काम गरिएको छ । आवश्यक सहयोग गरेपछि किसानहरुको आकर्षण पनि बढिरहेको छ । अहिले शिवसताक्षीमा वर्खायाम बाहेकका महिनाहरुमा पर्याप्त तरकारी उत्पादन हुने गरेको छ । यहाँ उत्पादन हुने तरकारीले लगभग ९ महिना धान्ने गरेको छ । माछामासु, दुधमा आत्मनिर्भर भइसकेको शिवसताक्षी तरकारीमा पनि आत्मनिर्भर बनाउने योजना छ । शिवसताक्षी नगरपालिकाले मौरी पालन गर्न अनुदान दिएपछि मौरी पालन कृषकलाई राहत मिलेको शिवसताक्षी १० को मौरी पालक कृषक अम्बरबहादुर माबोले बताए । मौरी पालनबाट केही आम्दानी हुन्छ । उनले भने, महमा आफैले बजार विक्री वितरण गर्दा धेरै आम्दानी र संस्थालाई विक्री गर्दा थोरै आम्दानी हुने गरेको छ । हाल आफुसँग हाल १३ घार मौरी रहेको उनको भनाई छ ।

नगरपालिकाले कृषिमा अनुदान दिन थालेपछि शिवसताक्षी नगरपालिका वडा न.७ का पौडेल दम्पत्तीले तरकारी खेतीबाट मनग्ये आम्दानी गरेका छन् । शिवसताक्षी ७ सिमलचौक निवासी डिल्लीप्रसाद पौडेल र उनी श्रीमती मीना पौडलले आफ्नै बारीमा लगाएको तरकारी खेतीबाट मनग्ये आम्दानी गरेका हुन् । पौडेलले १६ कठ्ठा क्षेत्रफलमा क्याप्सिकन, बन्दाकोपी, खर्बुजा बैगुन लगायतका तरकारीहरु लगाएका छन् ।

विभिन्न प्रजातिका तरकारी भन्दा क्याप्सिकन तरकारीले भाउ पाउने भएपछि यस वर्षदेखि प्याप्सिकन लगाएको डिल्लीप्रसाद पौडेल बताउँछन् । उनको बारीमा हाल बन्दाकोपी, खोर्सानी, बैगुन, खर्बुजा लगायतका तरकारीहरु भेटिन्छन् । जसमा बन्दा र प्याप्सिकनले आम्दानी दिन सुरु गरेको छ । उनले १० कठ्ठामा क्याप्सिकन, ३ कठ्ठामा खर्बुजा र १ कठ्ठामा बैगुन लगाएका छन् । उनको बगानमा अंगुर, स्याउ, ड्रागन फ्रुट्स र तेलका लागि सूर्यमुखी समेत लगाइएको छ ।

शिवसताक्षी नगरपालिकाले कृषिमा अनुदान दिन थाले पछि तरकारी खेतीमा गर्न केही सहज हुन थालेको स्वयम डिल्लाप्रसाद पौडेल बताउँछन् । उनका अनुसार क्याप्सिकन बन्दा र करेलाको तुलनामा दोब्बरभन्दा पनि माथि आम्दानी भइरहेको छ । उनी भन्छन्, १० कठ्ठा क्षेत्रफलमा लगाइएको क्याप्सिकनबाट खर्च कटाएर ६ लाख आम्दानी हुनेछ । तरकारी खेतीमा बजारको समस्या नभई उत्पादन मै समस्या रहेको उनको भनाई छ । पौडेलले उत्पादन गरेको तरकारी शिवसताक्षीका व्यापारीले घरमै आएर लैजाने गरेका छन् । पौडेलले भने, यहाँ भन्दा दमक र विर्तामोड पुर्याउन सके अझ बढी आम्दानी हुने गरेको छ ।

शिवसताक्षीमा चालु वर्षमा सिचाईका लागि मोटर वितरण गरिएन । गत वर्ष प्रदेश सरकारको समेत सहयोगमा ३०० थान मोटर वितरण गरिएको थियो । सिंचाईका दृष्टिले शिवसताक्षीमा कनकाई माईको नहरबाट सिंचित गर्ने गरिएको छ । जसका कारण कृषि उत्पादनमा शिवसताक्षीलाई सिंचाईमा ठुलो समस्या छैन ।


कृषि उत्पादनका हिसावले राम्रो मानिने शिवसताक्षीमा कृषकको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ । किसानको संख्या घट्दै जाँदा भविष्यमा कृषि नै संकटमा पर्ने भएकाले जनप्रतिनिधिहरुले किसान जोगाउने रणनीति बनाइरहेका छन् । जमिन टुक्राउन नदिने, आधुनिक प्रविधिको प्रयोग गरेर उत्पादनमा लगाउने नगरको सोच छ । खर्च कम गरेर उत्पादन धेरै गर्ने नगरको योजना विस्तारै सफल हुनेमा शाखा प्रमुख ढुक्क छन् ।

माटोमा रसायनिक मलको अत्याधिक प्रयोगलाई घटाएर उर्वर माटोको सुरक्षा गर्नुपर्ने किसानको धारणा छ । त्यसका लागि बनाउनका लागि पनि स्थानीय सरकारको सहयोगको खाँचो छ । किसानको मागलाई मध्यनजर गर्दै प्राङ्गारिक मल बनाउन ध्यान दिइने जनप्रतिनिधिहरुको भनाई छ ।

स्थानीय सरकार बनेपछि किसानहरु अनुदानका लागि धेरै माग ल्याइरहेका छन् । किसानको मागलाई मध्यनजर गर्दै बजेटको व्यवस्था अनुसार अनुदान दिने गरेको छ । आगामी वर्षदेखि किसानलाई धान खेतीमा विशेष सहयोग गर्ने योजना छ । नगरपालिकाले धान रोप्ने, काट्ने र धान तयार गर्ने मेसिन प्रदेशसँगको समन्वयमा माग गर्ने जनाएको छ । जनमजदुरको अभाव र अत्याधिक खर्च कटौती गर्न कम्वाइन हार्वेस्टर ल्याइने बताइएको छ । यस्तै, कृषि शाखाका अनुसार आगामी वर्षदेखि चिस्यान र ड्रायर मेसिनको अभाव पनि अन्त्य भएर जाने निश्चित भएको छ । त्यसका लागि नगरपालिकाले सम्बन्धित ठाउँमा पहलकदमी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : असार १०, २०८१ आईतबार  १० : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]