तत्काल निर्वाचनमा जान पत्रकार महासंघ नेतृत्वलाई पूर्व अध्यक्षहरूको अपिल
काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरूले महासंघको विवाद टुङ्गाएर तत्काल निर्वाचनमा जान आग्रह गर्नुभएको छ ।
आइतबार पूर्व अध्यक्षहरूले संयुक्त विज्ञप्ति जारी गरी महासंघको वैधानिक संरचना भित्रबाट विवादको हल खोजेर तत्काल निर्वाचनमा जान महासंघका अध्यक्ष विपुल पोखरेलसहित केन्द्रीय समितिलाई आग्रह गर्नुभएको हो । महासंघका पूर्वअध्यक्ष किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी र शिव गाउँलेले विज्ञप्ति जारी गरी तत्काल निर्वाचन गरी नयाँ नेतृत्व चयन गर्न आग्रह गर्नुभएको छ ।
महासंघको निर्वाचनका सन्दर्भमा देखिएको सदस्यता लगायतका विवादको समाधान वैधानिक संरचनामार्फत खोजी तत्काल निर्वाचन प्रक्रियामा जान महासंघका अध्यक्षसहित केन्द्रीय समितिको उहाँहरूले ध्यानाकर्षण गराउनुभएको छ । ‘महासंघको केन्द्रीय कार्यालय र जिल्ला तथा प्रदेश कार्यालयमा तालाबन्दी र हुल हुज्जत हुनुलाई हामी दुर्भाग्यपूर्ण र आपत्तिजनक कार्य मान्दछौँ’, विज्ञप्तिमा उल्लेख छ ।
महासंघका सदस्यले गर्ने आन्तरिक लोकतन्त्रको अभ्यासमा समस्या देखिएको बहानामा सरकार र राजनीतिक दलले गर्न सक्ने हस्तक्षेप प्रति सचेत हुन समेत उहाँहरूले आग्रह गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघका पूर्व सभापति र अध्यक्षहरूको वक्तव्य
९१० नेपाली पत्रकारहरूको साझा र भरोसायोग्य संस्था नेपाल पत्रकार महासंघभित्र पछिल्लो केही दिनयताका काम–कारबाही र गतिविधिप्रति महासंघका हामी पूर्व सभापति र पूर्व अध्यक्षहरू गम्भीर चिन्ता, चासो र सरोकार व्यक्त गर्दछौं ।
९२० लोकतन्त्रको जगेर्ना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको हितमा विभिन्न कालखण्डमा महत्वपूर्ण र निर्णायक भूमिका निर्वाह गर्दै आएको नेपालको अगुवा नागरिक संस्था समेत रहेको महासंघको केन्द्रीय कार्यालय र जिल्ला तथा प्रदेश कार्यालयहरूमा तालाबन्दी र हुलहुज्जत हुनुलाई हामी दुर्भाग्यपूर्ण र आपत्तिजनक कार्य मान्दछौं ।
९३० महासंघको निर्वाचनका सन्दर्भमा देखिएको सदस्यता लगायत विवादको समाधान महासंघको वैधानिक संरचना मार्फत खोज्ने परम्परा अवलम्बन गर्दै विवाद हल गरी तत्काल निर्वाचन प्रक्रियामा जान महासंघका अध्यक्ष सहित केन्द्रीय समितिको ध्यानाकर्षण गराउँदछौं । महासंघको साख र मर्यादा कायम गर्न पूर्व सभापति र अध्यक्षहरू आवश्यक सहजीकरण गर्न पछि नपर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
९४० नेपाल पत्रकार महासंघका सदस्यहरूले गर्ने आन्तरिक लोकतन्त्रको अभ्यासमा समस्या देखिएको बहानामा सरकार र राजनीतिक दलहरूले गर्न सक्ने हस्तक्षेप र राख्न सक्ने प्रभावका सम्बन्धमा गम्भीर बन्न महासंघका सदस्यहरूमा हामी अपील गर्दछौं ।