माछा पालनमा बढ्दैछ आकर्षण
गगन ढकाल
झापा । झापामा माछा पालनमा किसानहरुको आकर्षण बढेको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्यांक अनुसार जिल्लामा माछा पालनमा किसानहरुको आकर्षण बढेको हो ।
आर्थिक वर्ष २०७९-०८० मा जिल्लाभरी नौ सय ७६ घरपरिवारले माछा पालन गरेका थिए । सो तथ्यांक आर्थिक वर्ष २०८०-०८१ मा आइपुग्दा बढेर नौ सय ८१ पुगेको छ । झापामा चालू आर्थिक वर्षमा पाँच जना माछापालक किसान बढेको तथ्यांकले देखाएको छ ।
यसैगरी माछा पालन हुने जमिनको क्षेत्रफलमा पनि वृद्धि भएको छ । आ.व २०७९-०८० जिल्लाभरी कूल तीन सय ६५ दशमलव ३४ हेक्टरमा माछा पालन हुन्थ्यो भने हाल तीन सय ७० दशमलव ३४ हेक्टरमा माछा पालन भइरहेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा झापामा पोखरी संख्यामा पनि उल्लेखनीय वृद्धि भएको तथ्यांकले देखाएको छ । अघिल्लो आर्थिक वर्षमा झापा भरी दुई हजार दुई सय ९० वटा रहेको पोखरीको संख्या वृद्धि भएर दुई हजार तीन सय १६ वटा पुगेको छ ।
आर्थिक वर्ष ०७५-७६ मा जिल्लाभरी नौ सय ११ घरपरिवारले माछा पालन गरिरहेका थिए भने हाल त्यो संख्या नौ सय ६१ घर परिवारमा पुगेको छ । आर्थिक वर्ष ०७६-७७ मा नौ सय २७ घरपरिवारले गरिरहेका माछा पालन ०७७÷७८ मा नौ सय ४८ घर परिवार पुगेको थियो ।
लगातार कृषकहरुको माछा पालनमा आकर्षण बढ्नु मुख्य कारण थोरै जमिनमा धेरै आम्दानी रहेको पशु ज्ञान केन्द्रको माछा विभागकी कर्मचारी केदार कुमारी अधिकारी बताउँछिन् । उनी भन्छिन् ‘माछाको माग अनुसार उत्पादन नभएकाले माछाको बजार राम्रो छ, बजार नपाउने भन्ने समस्या छैन । फेरि यसमा अन्य पशुहरुमा झै हैजाहरु पनि नलाग्ने भएकाले किसानहरु माछा पालनमा आकर्षित भइरहनु भएको छ ।’
झापामा उत्पादनको हिसाबमा हेर्ने हो भने आर्थिक वर्ष ०७५-७६ मा एक हजार ७७ दशमलब ७७ मेट्रिक टन उत्पादन भएको थियो भने आर्थिक वर्ष ०७६-७७ मा ११ सय ३७ दशमलब ९ मेट्रिक टन र आर्थिक वर्षमा ०७७-७८ मा १२ सय ९९ दशमलब ५९ मेट्रिक टन माछा उत्पादन भएको पाइन्छ । यसैगरी आर्थिक वर्ष ०७९-८० मा एक हजार सात सय ६५ दशमलव १६ मेट्रिक टन माछा उत्पान भएको थियो भने आर्थिक वर्ष २०८०-०८१ मा कूल एक हजार सात सय ८६ दशमलव छ मेट्रिक टन माछा उत्पादन भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्यांकले देखाएको छ ।
माछालाई एकै पोखरीमा तीन तहमा तीन प्रजातीको माछा पाल्न सकिने ज्ञान केन्द्रकी कर्मचारी अधिकारीले जानकारी दिइन् । उनी भन्छिन् ‘एकै पोखरीमा तीन तहमा माछा पाल्न सकिने भएकाले माछामा राम्रो उत्पादन हुने गर्दछ । जसले गर्दा पनि आम्दानी बढ्छ ।’
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्यांकमा माछा पालनमा किसानको आकर्षण बढेको देखिएता पनि वास्तविकता भने फरक रहेको नेपाल मत्स्य व्यवसायी संघ कोशी प्रदेशका उपाध्यक्ष मोहन सिवाकोटी बताउँछन् ।
उनले झापा माछा उत्पादनमा आत्मनिर्भर हुँदा पनि राज्यको उचित संरक्षणको अभावमा किसानहरु मारमा परेको बताएका छन् । उनी भन्छन् ‘जिल्लाभर भारतीय माछाको प्रभावका कारण किसानहरु मारमा परेका छन् । भारतीय बजारबाट सस्तो मूल्यमा मरेका माछाहरु आउँछन् जसले गर्दा हाम्रो माछाले उचित मूल्य पाउँदैन र हामी घाटा व्यहोर्न बाध्य छौँ ।’, उनी भन्छन् ‘हामीले सरकारसँग केही माग गरेका छैनौ । भारतीय माछा जो क्वारेन्टाइनमा पनि परीक्षण नभई आउँछन्, मरेको हुन्छन्, खान अयोग्य हुन्छन् ति माछाहरुलाई रोकिदिए मात्र पनि हुन्थ्यो ।’ उनी थप्छन् ‘नगर पालिकाहरुले तेस्ता माछालाई रोक लगाउने निर्णय त गरेका छन् तर, ठिक ढंगले कार्यान्वयनमा गएका छैनन् । राज्यले यसरी किसानहरुलाई बेवास्ता गर्ने हो भने हामी पोखरी पुर्न बाध्य हुन्छौँ ।’
उपाध्यक्ष सिवाकोटीका अनुसार झापामा अहिले पनि तस्करी भएर माछा आइरहेका छन् । उनी भन्छन्, ‘भारतमा ग्रेडिङ भएर काम नलाग्ने भएको माछा तस्करी भएर नेपाल आउँछ । ति माछाको मूल्य एकदमै सस्तो हुन्छ, जसले गर्दा हाम्रो माछा बिक्रि हुँदैनन् ।’
राज्यले किसानहरुलाई थोरै मात्र उत्प्रेरणा दिदा पनि हामी अर्थतन्त्रमा सहयोग पु¥याउन सक्थ्यौं । तर, राज्यको बेवास्ताका कारण हामी बिस्तापित हुने स्थितिमा पुगेका छौँ ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले विभिन्न शिर्षकमा माछा किसानहरुलाई अनुदान पनि दिदै आएको छ । चालू आर्थिक वर्षमा केन्द्रले मत्स्य क्षेत्र बिस्तारका निम्ति आठ जना किसानहरुलाई प्रति हेक्टर पाँच लाखका दरले २५ लाख रुपैँया अनुदान दिएको छ । यसैगरी यान्त्रिकरणका निम्ति चार जना किसानलाई ५० हजारका दरले दुई लाख अनुदान दिएको छ । साथै, मत्स्य नर्सरी स्थापना तथा व्यवस्थापनका निम्ति दुई वटा कृषि फर्मलाई पाँच लाखका दरले १० लाख रुपैँया अनुदान दिएको छ ।