बैशाख २४, २०८२ बुधबार

कल्की २८९८ दर्शकको रोजाइमा पर्नुको पाँच कारण

एकराज प्रधान

वैजयन्ती मुभिजको ब्यानरमा बनेको साउथ इन्डियन फिल्म कल्की यो वर्षको सबैभन्दा धेरै बक्स अफिस कलेक्सन गर्ने सिनेमा बनेको छ । पहिलो हप्तामै विश्वभरबाट ७०० करोड ग्रस कलेक्सन गर्न यो फिल्म सफल भइसकेको भारतीय मिडियाहरुले बताइरहेका छन् । कल्कीलाई यति धेरै मनपराइनु र हेरिनुको पछाडि के छ त कारण ? दर्शक किन आकर्षित भइरहेका छन् ? धेरै कारणहरुमध्ये पाँच महत्वपूर्ण कारण रहेका छन् ।

१. फिल्मको स्टोरीलाइन
हिन्दु धर्मग्रन्थबाट प्रेरित हुँदै महाभारतको कुरुक्षेत्रबाट सुरु हुने यो फिल्मले कलियुगको अन्तिम रुप देखाउन खोजेको छ । महाभारत युद्धको अन्त्यमा अभिमन्यूकी पत्नी उत्तराको गर्भमा रहेको बच्चामाथि अस्वत्थामाले ब्रह्मास्त्र चलाउन पुग्छन् तर श्रीकृष्णले बचाउँछन् । अनि गर्भमा रहेको बच्चालाई ब्रह्मास्त्र चलाएको सजाय स्वरुप अस्वत्थमालाई दु:खको साक्षी बनेर मृत्युको लागि तड्पिन श्राप दिन्छन् । चाहेर पनि अस्वत्थामाले मृत्युवरण गर्न सक्दैनन् र कलियुगसम्मै अनेक दु:ख सहेर उनी बाँचिरहेको जनविश्वासमा यो फिल्म आधारित रहेको छ ।
फिल्ममा उनको शिरमा रहेको दिव्य मणि पनि खोसिन्छ । प्रायश्चितका लागि उनले कलियुगको अन्त्यमा श्रीकृष्णले कल्की अवतारको रुपमा पुनर्जन्म लिने र कल्कीकी आमाको रक्षा गरेपछि मात्र मुक्ति मिल्ने अस्वत्थामालाई बताउँछन् । यसरी फिल्ममा महाभारतको अन्त्यबाट कथा सुरु हुन्छ ।
कलियुगको अन्त्यमा मानिस कुन हदसम्म पुग्छन्, संसार कस्तो अवस्थामा पुग्छ भन्ने कुराको इमाजिनेसन नै फिल्मको बलियो पक्ष मान्न सकिन्छ ।

२. अमिताभको अस्वत्थामा अवतार
अस्वत्थमाको रुपमा अमिताभ बच्चनलाई दमदार रुपमा प्रस्तुत गरिनु फिल्मको अर्को मुख्य आकर्षण हो । उमेरले उनी ८१ लागिसके । तर, यो उमेरमा पनि यत्तिको दमदार एक्सन र अभिनयलाई दर्शकले सम्मान दिएका छन् । एउटा लिजेन्ड कलाकार अनि अस्वत्थामा जस्तो क्यारेक्टर । सटिक सम्वाद, बलियो प्रस्तुतिले दर्शकलाई इन्टरटेन गराइरहेको छ । अभिताभ बच्चन अभिनयका प्रेरणा नै हुन् । फिल्ममा प्रभास र अमिताभको फाइट सिन क्रिएट गर्नु नै निर्देशक नाग अश्विन सफलता हो ।

३. भिएफएक्स
फिल्ममा जुन खालको दुनियाँ देखाइएको छ, यो इमाजिनेसन वर्ल्ड प्रशंसा लायक छ । पौराणिक इतिहासलाई साक्षी मानेर नयाँ वर्ल्ड क्रिएट गर्नु साँच्चै अनौठो कुरा हो । उल्टो पिरामिडमा रहेको मेगा स्ट्रक्चर, जसलाई फिल्ममा कम्प्लेक्स नाम दिइएको छ । जुन विश्वकै पुरानो र अन्तिम सहर कासी रहेको भनिएको छ । पिरामिडको टपमा मात्र हरियाली, स्वच्छ हावा, पानी रहेको छ । त्यसबाहेक दुनियाँ पानीका लागि तड्पिरहेको छ । फिल्ममा एउटा डायलग छ, हमारा पाप धोते धोते गंगा सुख गई । दृश्यमा गंगा सुकेको देखाइन्छ । हावा लिन पनि अक्सिजन लिनु परिरहेको जर्जर दृश्य देखाइन्छ ।
भिजुअल इफेक्टको कुरा गर्नुपर्दा कम्प्लेक्स, सम्भाला, उड्ने कार, बाइक, रोबोट, गन, इफेक्टहरुले फ्युचरलाई रिप्रेजेन्ट गरेको छ । भिलेनलाई रेड कलर र हिरोका लागि ब्ल्यु कलरले छुट्याइएको छ । सबैभन्दा मजा त रथ उडाउँदै प्रभासले कर्णको रुपमा इन्ट्री गरेको सिनमा दर्शकले ताली पिट्छन् । फिल्ममा प्रभासको डबल रोल रहेको छ । महाभारतमा कर्णको रुपमा देखिएका प्रभासले कलियुगमा भैरवाको रुपमा पुनर्जन्म लिएको फिल्ममा बुझ्न सकिन्छ । दमदार भिजुअल इफेक्टले पनि दर्शकलाई मोहित बनाइरहेकाले यसलाई अर्को कारण मान्न सकिन्छ ।

४. फिल्मको सन्देश
फिल्मले पर्यावरणको विषयलाई मजबुत ढङ्गमा उठाएको छ । फिल्ममा एउटा अभियान छ ‘कल के लिए’ । सिम्बोलिक तरिकाले फिल्ममा प्रस्तुत दृश्यले भोलि कति कठिन समय आउँदैछ भन्ने कुरालाई इङ्गित गरेको छ । रुखहरु मर्ने, पानी सुकेर मरुभूमि हुने, हावा दूषित हुनेदेखि महिलाहरुमा प्रजनन क्षमता नभई बच्चा जन्म नै नहुने जस्ता दृश्यहरुले पर्यावरणको रक्षा नगरे जीवन कसरी सकिन्छ भन्ने देखाउँछ । कलियुगको अन्त्यमा कुनै एक शक्तिले मानिसलाई चाहिने आवश्यक सबै कुरामा कब्जा गरेर मान्छेलाई कति शोषण गर्न सक्नेछ भन्ने कुरालाई पनि इसारा गरेको छ ।

५. स्टारडम
दक्षिण भारतीय कलाकार प्रभासको स्टारडम अलग लेभलको बनेको छ । बाहुबलीका रुपमा लोकप्रिय बनेका प्रभासलाई त्यस्तै क्यारेक्टरमा हेर्न दर्शकले चाहिरहेका थिए । यो फिल्ममा उनको त्यस्तै दमदार क्यारेक्टर रहेको छ । हल्का स्लो लागे पनि जब जब उनी एक्सनमा उत्रिन्छन्, उनको आँखाले पनि अभिनय गरिरहेको पाउँछौँ । कमल हसनलाई फिल्ममा छोटो समय देखिन्छ तर अर्को पार्टका लागि उनले दर्शकलाई फुल प्रिपेयर गराउँछन् । दिपिकाको अभिनयले पनि फिल्मलाई उचाइ दिएको छ । सुमती नाममा उनी कल्कीकी आमाको भूमिकामा देखिएकी छन् । अरु क्यारेक्टरहरुको छोटो भूमिका देखिए पनि उनीहरुको सम्झन योग्य अभिनय रहेको छ ।

कल्कीको यो फर्स्ट पार्टमा सास्वता चटर्जीलाई नै मेन भिलेन मान्न सकिन्छ । फिल्ममा दिशा पट्नीलाई रोक्सी र शोभानालाई मरियमको रुपमा देख्न सकिन्छ । ब्रह्मानन्दम, पशुपति, अन्ना बेन, आयाज पासा, हर्षित रेड्डी, काभ्या रामचन्द्रनलाई पनि देख्न सकिन्छ ।

इसापूर्व ३१०२ वर्ष पहिले कृष्णले मृत्युलाई आत्मसात गरेपछि कलियुग सुरु भएको मानिन्छ । फिल्मको नामसँगै २८९८ एडी राखिएको छ । यी दुई अंकलाई जोड्ने हो भने ६००० वर्ष हुन्छ । पुराणहरुलाई आधार मान्ने हो भने ६ हजार वर्षमा युग परिवर्तन हुने मान्यता रहेको छ । फिल्मलाई एक लाइनमा भन्नु पर्दा २८९८ मा कल्कीले जन्म लिने र उसको रक्षाका निम्ति अस्वत्थमाले गर्ने संघर्ष नै कल्कीको फर्स्ट पार्ट हो ।

प्रकाशित मिति : असार २४, २०८१ आईतबार  ९ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]