नगर विकास कोषबाट ऋण लिएर बसपार्क बनाउँदै उर्लाबारी
विराटनगर – मोरङको उर्लाबारी नगरपालिकाले २० करोड रुपैयाँको लागतमा बसपार्क निर्माण गर्ने भएको छ ।
त्यसका लागि नगरपालिकाले नगर विकास कोषसँग ऋणको सम्झौता गरेको छ । कोषको ऋण सहयोगमा बसपार्क निर्माण गर्न लागिएको हो ।
बसपार्कका लागि कुल २० करोड ३ लाख ४७ हजार लागत आवश्यक पर्ने बताइएको छ । आइतबार नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र उर्लाबारी नगरपालिका प्रमुख गंगाप्रसाद खरेलबीच ऋण सम्झौता भएको छ ।
कुल लागतको ६० प्रतिशतले हुन आउने १२ करोड २ लाख ऋण र १० प्रतिशतले हुन आउने २ करोड ३४ हजार अनुदान सम्झौता भएको नगरपालिकाले जनाएको छ । कुल लागतको ३० प्रतिशत अर्थात् ६ करोड १ लाख रुपैयाँ भने नगरपालिकाले बेहोर्ने सम्झौतामा उल्लेख छ ।
उर्लाबारी नगरपालिका–६ मा नगरपालिकाको करिब १ बिघा १३ कठ्ठा क्षेत्रफल जग्गामा निर्माण हुने यो आयोजनालाई पूर्वपश्चिम राजमार्गमा आवतजावत गरिने सवारीसाधन व्यवस्थापन तथा नगरको शौन्दर्यकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको मेयर खरेलले बताए ।