चैत्र १६, २०८० शुक्रबार

सम्पादकीय : जनप्रतिनिधिको परिणाम अपेक्षा

स्थानीय सरकारका जनप्रतिनिधि यतिबेला सबैभन्दा धेरै व्यस्त हुने नागरिकमा पर्छन । उनीहरुसँग फुर्सद छैन । फुर्सद त छैन । व्यस्तता अनुसारको परिणाम पनि छैन । व्यस्तता अनुसार परिणाम आउने हो भने पनि सान्तवना मिल्ने थियो । एउटा सामान्य नागरिक कुनै कामले भेट्न चाहेमा जनप्रतिनिधिसँग समय मिलाउन निकै हम्मेहम्मे हुन्छ । उनीहरु काममै लागिरहेको जस्तो देखाइरहेका छन् । अब जनप्रतिनिधिले आत्मसमीक्षा गर्नुपर्छ, के व्यस्तता अनुसारको परिणाम पनि आइरहेको छ ? कि यत्तिकै व्यस्तता देखाइरहेका छौं ? सबै जनप्रतिनिधिले सोच्ने बेला आएको छ ।

निर्वाचन सकेर जिम्मेवारी सम्हालेको यतिका समय सकिएको छ । कामको परिणाम देख्न आम नागरिकले अझै सकिरहेका छैनन् । कहाँ के काम भयो ? कस्तो परिणाम आइरहेको छ । स्थानीय तहले गरेको कामबाट कस्तो परिणाम आइरहेको छ । सबै स्थानीय तहले समीक्षा गर्नुपर्छ । समय प्रभावकारी काममा खर्च भइरहेको छ वा खेह्र गइरहेको छ । कतै–कतै काम पनि सामान्य रुपमा देखिएको छ । दिनभर हुइकिएर काम बन्दैन । कामका लागि योजना चाहिन्छ । प्रभावकारी योजना नभए परिणाममा काम देख्न पाइदैन । सूचनामा जनप्रतिनिधि अपडेट भइरहेको पनि पाइदैन । कहाँ के भइरहेको छ ? गर्नुपर्ने के हो ? स्थानीय सरकारले गर्ने काम कारबाहीमा पनि सूचना छैन ।

स्थानीय सरकारले गर्ने काम, नागरिकले पाउने सुविधा बारे जानकार नहुनु पनि सूचनामा ध्यान नदिनु हो । ०७३ सालमा मन्त्री परिषदले गरेको एउटा निर्णयबारे जनप्रतिनिधि जानकार नहुँदा आज दलित समुदायका नागरिक प्रोत्साहन रकमबाट बञ्चित छन् । ३५ दिनभित्र जन्मदर्ता गराउँदा दलित बालबच्चाले १ हजार पाउने व्यवस्था सरकारको छ । तर, यो सूचना नागरिकलाई थाहा छैन । आम नागरिकलाई मात्र होइन, जनप्रतिनिधिलाई पनि थाहा छैन । जसका कारण यो सुविधाबाट धेरै नागरिक बञ्चित छन् । यो त एउटा प्रतिनिधि मुलक घटना मात्र हो । यस्ता कयौं काम बारे जनप्रतिनिधि बेखवर छन् । आम नागरिकले पाउने सुविधा जानकारी गराउने दायित्व पनि स्थानीय सरकारको हो । यसैले सबै खाले सूचनामा पहुँच राख्नुपर्छ । अनावश्यक व्यस्ततामा रहनुभन्दा नागरिकलाई परिणाम दिने काममा लाग्नु उत्तम हुन्छ ।

प्रकाशित मिति : पुष २६, २०७६ शनिबार  ११ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]