असार २, २०८२ सोमबार

रोजगारीका लागि विदेशिए ७ लाख ४१ हजार युवा

झापा । गत आर्थिक वर्ष २०८०-८१ मा ७ लाख ४१ हजार युवा रोजगारीका लागि विदेश गएका छन् । आव २०७९÷८० को तुलनामा यो संख्या थोरैले कम हो ।

२०७९-८० मा ७ लाख ७१ हजार युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । वैदेशिक रोजगार विभागका अनुसार यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जाने दुवैको संख्या हो ।

विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीले मलेसियाले आप्रवासी श्रमिकको भर्नामा रोक लगाउँदा यो संख्यामा कमी आएको बताउँछन् । उनका अनुसार मलेसियाले सन् २०२३ को मार्च महिनादेखि विदेशी कामदारको भर्नामा रोक लगाएको छ ।

कुन महिनामा कति गए ?

विभागका अनुसार गत आर्थिक वर्षको साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार २०१ र पुसमा ६५ हजार ८१३ नेपाली रोजगारीका क्रममा विदेशिएका छन् ।

त्यस्तै माघमा ६२ हजार १४७, फागुनमा ६५ हजार ६५८, चैतमा ७० हजार ९३३, वैशाखमा ७० हजार ६३७, जेठमा ७२ हजार ६०० र असारमा ५८ हजार ७३६ वैदेशिएको तथ्यांक छ ।

यूएई पहिलो गन्तव्य

विभागका अनुसार पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीका लागि यूएई नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य बनेको छ ।

यूएईमा मात्रै गत आवमा १ लाख ९३ हजार ४३९ जना श्रम स्वीकृति लिएर गएका छन् । त्यस्तै मलेसियामा १ लाख ५१ हजार ३९५ जना रोजगारीका लागि गएका छन् । त्यसपछि क्रमशः साउदी अरब, कतार, कुवेत जानेहरू छन् ।

पछिल्ला वर्षमा नेपाली युवाहरू कामको खोजीमा युरोपेली मुलुकसमेत जान थालेका छन् । विभागका अनुसार गत वर्ष क्रोएसिया, रोमानिया, साइप्रस, माल्टा, पोर्चुगल लगायत मुलुकका लागि थुप्रै नेपालीले श्रम स्वीकृति लिएका छन् ।

प्रकाशित मिति : श्रावण ३, २०८१ बिहीबार  ७ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]