भारतीय नागरिकलाई धारिलो हतियार प्रहार गर्ने बिर्तामोडबाट पक्राउ
बिर्तामोड । बिर्तामोड–६ मा फुलवारी व्यवसाय गरेर बस्ने भारतीय नागरिकलाई धारिलो हतियार प्रहार गरी घाइते बनाउने २ जनालाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राऊ गरेको छ । हतियार प्रहार गरि उनीहरु फरार भएका थिए ।
पक्राउ पर्नेहरुमा इलाम घर भई बिर्तामोड ५ बस्ने २१ वर्षीय भद्र बहादुर बस्नेत र ताप्लेजुङ घर भई बिर्तामोड ६ बस्ने २६ वर्षीय रोहन तामाङ रहेका छन् । उनीहरुलाई अनारमनी प्रहरीले ३ गते राती १ः५० बजे सुगम पेट्रोल पम्प नजिकैबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका युवाले मंगलवार ११ बजे भारतीय नागरिक ३५ वर्षीय हविबुल इस्लामलाई हतियार प्रहार गरी घाइते बनाएका थिए । हतियार प्रहारबाट ढाड र कुममा चोट लागेको जिल्ला प्रहरीले जनाएको छ । उनको बिएण्डसीमा उपचार भइरहेको छ ।
पक्राउ परेका युवालाई इप्रका अनारमनीमा राखेर अनुसन्धान अघि बढाइएको छ ।