माघ २८, २०८१ सोमबार

यातायात कार्यालय यथास्थान मै व्यवस्थित गर्नुपर्छ : वडाध्यक्ष बुढाथोकी

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको यातायात व्यवस्था कार्यालयलाई अन्यत्र सार्ने चर्चा भइरहेको छ । मन्त्रालयले पत्र नै पठाएपछि कार्यालय प्रमुख बाबुराम शर्मा लुईटेलले एक चरण पत्र बारे सम्बन्धित निकायलाई जानकारी गराइसकेका छन् ।

बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई कार्यालय प्रमुख लुईटेलले पत्र बारे जानकारी गराइसकेपछि आवश्यक अध्ययन गरेर मात्रै निर्णय लिने भनेपछि तत्काललाई प्रक्रिया स्थगित छ । नगर प्रमुखले दिएको प्रतिक्रियाका बारेमा यातायातका कार्यलय प्रमुखले मन्त्रालयलाई नै जानकारी गराइसकेको बताएका छन् ।

हालको कार्यालयलाई पर्याप्त ठाउँ अभाव भएको कारण खुलाउदै अन्यत्र सार्नुपर्ने पत्र आएको बुझिएको छ । यता, कार्यालय रहेको जग्गादाताहरुले आवश्यक जग्गा व्यवस्थापनका लागि आफुहरुसँग कुनै पनि परामर्श नलिएको गुनासो गरेका छन् । जग्गादाता बद्री खड्का भन्छन्, हामीले निशुल्क उपलब्ध गराएको दुई कठ्ठा जमिनमा कार्यालय सञ्चालन भइरहेको छ । अझै आवश्यक भएमा सहयोग गर्न तयार छौं, उनले थपे – ‘तर, जग्गा आवश्यक भएको कुरा हामीलाई जानकारी गराइएको छैन । एउटा लाइसेन्सको लागि भवन बनाउन भनेर पहिल्यै भनिएको थियो । त्यो दिन त्यतिबेलै तयार थियौं ।’ जग्गादा खड्काका अनुसार यातायातको कार्यालय सार्नुपर्ने कुनै कारण छैन । सेवाग्राहीलाई सुविधा भइरहेको ठाउँबाट असुविधा हुने ठाउँमा लैजानु न्यायोचित हुने छैन ।

बिर्तामोड–७ को गरामनी चोक पूर्व समावेशी टोलमा एक दाताले १२ कठ्ठा सहयोग गर्ने बुझिएको छ । अहिले बिर्तामोड ३ मा कार्यालय सञ्चालन भइरहेको छ । कार्यालय रहेको ठाउँ पूर्वपश्चिम राजमार्गबाट ५ सय मिटरमा अवस्थित छ ।
कार्यालय सार्ने चर्चा भइरहेका बेला वडा नं. ३ का अध्यक्ष मदन बुढाथोकीले यथास्थानमै कार्यालय व्यवस्थापन हुनेपर्ने धारणा व्यक्त गरेका छन् । जग्गा अभाव भए दाता परिवारसँग सहयोग मागेर व्यवस्थापन गर्नुपर्ने उनको भनाई छ । पहिले यातायातले नै मागेर जग्गा उपलब्ध गराउने दाता परिवारको अवमुल्यन गर्न हुदैन– वडाध्यक्ष बुढाथोकीले भने, सकेसम्म अहिले कार्यालय भएकै ठाउँमा व्यवस्थित गर्न तर्फ सबैले ध्यान दिनुपर्छ ।

यातायात सार्ने विषयमा उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्र घिमिरेले कार्यालय सेवाग्राहीलाई सुविधा हुने ठाउँमा हुनुपर्ने बताएका छन् । उनले राजमार्गबाट नजिक सुविधा हुने स्थानमा कार्यालय सञ्चालन हुनुपर्ने प्रतिक्रिया दिए ।

प्रकाशित मिति : श्रावण ४, २०८१ शुक्रबार  ७ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]