प्रभु बैंकलाई प्रश्न : रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट कसरी नक्कली भयो ?
संक्षिप्त टिप्पणी
बिर्तामोड । यतिबेला प्रभु बैंक लिमिटेड बिर्तामोड शाखा चर्चामा छ । चर्चा हुनुको पछाडि सराकात्मक विषय छैन । एक जना बचतकर्ताको रकम बैंकमा लिन जाँदा रकम नै नभएको विषयले चर्चा पाइरहेको छ ।
झापा बिर्तामोड निवासी मञ्जु कुमारी नेपालले बिर्तामोड शाखामा जम्मा गरेको ‘फिक्स डिपोजिट’ रकम झिक्न जाँदा बैंकमा पैसा नभएको प्रतिक्रिया आयो । नेपालले ६ महिनाअघि १ करोड १० लाख रुपैयाँ बिर्तामोड शाखामा जम्मा गरेको कागजातहरु सहित दावी गरिरहेकी छन् ।
सोही विषयलाई लिएर बैंकले आज विज्ञप्ति सार्वजनिक गर्दै मुद्दति रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट अनाधिकृत एवम् नक्कली भनेको छ । प्रारम्भिक चरणको अनुसन्धान भन्दै बैंकले नक्कली भनेपछि थप प्रश्न बैंक तर्फ नै तेर्सिएको छ ।
प्रमुख बैंकको नाममा बैंक बाहिर मुद्दति रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट कसरी बन्छ ? बैंकले दिने मुद्दति रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट नक्कली वा सक्कली कसरी चिन्ने ? कुन कर्मचारीले दिएको मुद्दति रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट सक्कली हो भनेर कसरी छुट्टाउने ? बैंकका कर्मचारीले बैंकभित्र बुझेको रकमको रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट सक्कली कसरी भएन ?
यस प्रकारका अनेकौ प्रश्नहरु उब्जिएको छ । बैंकका कर्मचारीले कुनै सेवाग्राही वा बचतकर्ताको रकम बैंकमा जम्मा गर्छु भनेर लगेमा को जिम्मेवारी हुन्छ ? सेवाग्राहीको घरबाटै पैसा जम्मा गर्न कर्मचारीले लगेमा त्यसको जिम्मेवारी बैंक हुन्छ कि हुदैन ? लगायतका प्रश्नहरु बजारमा चर्चा छ । बैंकले पैसा जम्मा गरेको समयको सीसी क्यामेरा जाँच गरेर यथार्थ सार्वजनिक गर्न आवश्यक छ ।
बैंक र बैंकका कर्मचारीहरु माथि नै विश्वास गुम्ने यो घटनाबारे चाँडोभन्दा सार्वजनिक गर्न जरुरी रहेको आम नागरिकको धारणा छ ।
यो प्रकरणमा कानुनी पाटोलाई पीडित पक्षले समाउन आवश्यक देखिन्छ । बैंकको कर्मचारीले नै नक्कली कागजात बनाएको हो भने त्यसको जिम्मेवारी प्रभु बैंकले लिनैपर्छ ।
कर्मचारीले नै नक्कली कागजात दिएको हो भने यस्तो प्रतिक्रिया दिएर बैंक भाग्न पनि मिल्दैन ।