ताप्लेजुङ पर्यटन महोत्सवको आयव्यय सार्वजनिक
ताप्लेजुङ – गएको जेठ ३ देखि ७ गतेसम्म ताप्लेजुङमा सञ्चालित ताप्लेजुङ पर्यटन महोत्सवको आज आयव्यय सार्वजनिक गरिएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महोत्सव आयोजक समितिले महोत्सवमा रु ४९ लाख २७ हजार चार सय खर्च भएको जनाइको छ ।
समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले मेयर कप पुरुष भलिबल र नेपाल घरेलु तथा साना उद्योग महासङ्घबाहेकको खर्च सार्वजनिक गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “भलिबल र औद्योगिक कृषि तथा पर्यटन मेलाको आयव्ययको अधिकार नगरपालिका र महासङ्घले नै गरेकाले त्यसबाहेक सबै कार्यक्रम मूल आयोजक समितिले गरेको थियो । सोहीअनुसार विवरण सार्वजनिक गरिएको छ ।”
पुरुष तथा महिला हाफ म्याराथन पुरस्कारमा मात्र रु पाँच लाख ४६ हजार छ सय ६७, म्याराथन व्यवस्थापनतर्फ रु दुई लाख ५० हजार दुई सय ६८ खर्च भएको आयोजकले जनाएको छ । परियोजना प्रस्ताव, चिठी, मायाको चिनो, प्रमाण पत्र तथा छपाइमा रु दुई लाख ७६ हजार आठ सय ८९ र मञ्च व्यवस्थापन र साउण्ड सिस्टममा रु १० लाख १५ हजार आठ सय ७० खर्च भएको त्यस अवसरमा जानकारी दिइयो ।
यसैगरि सांस्कृतिक कार्यक्रमतर्फ कलाकार पारिश्रमिक, प्रस्तुति, यातायात र होटल बास खर्चवापत रु पाँच लाख ७० हजार दुई सय ४७ खर्च भएको थियो । स्टल व्यवस्थापन, खाद्य परिकार र कार्यक्रमस्थलको जग्गा भाडातर्फ रु दुई लाख १८ हजार नौ सय ८५, डिजाइन तथा फेलेक्स प्रिन्टमा रु एक लाख ८४ हजार छ सय ७६ खर्च भएको थियो । साइकिलिङ व्यवस्थापनतर्फ सान्त्वनासहित रु १ लाख २६ हजार ४ सय ५० रुपैयाँ खर्च भएको थियो ।
स्वागतद्वार निर्माण रु एक लाख १५ हजार दुई सय ६०, मठमन्दिर तथा माङ्हिममा पूजाका लागि रु एक लाख दुई हजार चार सय ४५ र छायाङ्कन तथा फोटो प्रदर्शनीमा रु एक लाख छ हजार खर्च गरेको आयोजकले जनाएको छ ।
अतिथि स्वागत तथा सत्कारतर्फ रु एक लाख ८२ हजार ९५, खाना, खाजा, चिया तथा छलफलमा रु एक लाख ५३ हजार तीन सय ५५, महोत्सव प्रचारप्रसारमा रु ९९ हजार सात सय २० खर्च भएको छ । यातायात व्यवस्थापनमा रु ८५ हजार तीन सय ३६, डोको क्यारी रनतर्फ सान्त्वनासहित रु ७९ हजार दुई सय ७५, अन्तर गाउँपालिकास्तरीय वक्तृत्वकला प्रतियोगितामा रु ५७ हजार र झाँकी व्यवस्थापनमा ४५ हजार पाँच सय खर्च भएको छ ।
औद्योगिक तथा कृषि प्रदर्शनीमा ३९ हजार नौ सय, पर्यटकीय क्षेत्र भ्रमण तथा अवलोकनमा रु २७ हजार नौ सय, स्वयंसेवक परिचालन र कामदारतर्फ रु ४१ हजार छ सय ७५, साहित्य कार्यक्रमतर्फ रु १८ हजार पाँच सय ५०, चौरी प्रदर्शनमा १० हजार खर्च, सरसफाइ व्यवस्थापनमा रु सात हजार चार सय २० र पुरस्कार व्यवस्थापनतर्फ रु तीन हजार दुई सय ७५ खर्च भएको छ ।
यसैगरी महोत्सवमा सहयोग गर्नेको विवरणसमेत सार्वजनिक गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिले रु १९ लाख ७० हजार, पाथीभरा केबलकार प्रालिले रु १० लाख, फुङलिङ नगरपालिका रु छ लाख, स्पार्क हाइड्रोपावर कम्पनीले रु तीन लाख, जिल्लास्थित निर्माणाधिन हाइड्रोपावर कम्पनीबाट रु पाँच लाख, सानिमा मिडिल तमोर, पाथीभरा देवीमन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समिति र मिक्वाखोला गाउँपालिकाबाट रु एक÷एक लाख, ताप्लेजुङ भेनियर सङ्घले ९० हजार, गोर्खा ब्रुअरी प्रालि रु ५० हजार, धावक इन्ट्री फिबाट रु ३२ हजार पाँच सय र सिद्धार्थ बैंकले रु आठ हजार पाँच सय प्रदान गरेका समन्वय समिति प्रमुख लामाले जानकारी दिनुभयो ।
महोत्सवमा मेयरकप भलिबलका लागि नगरपालिकाले रु २० लाख र अन्य कार्यका लागि नेपाल घरेलु तथा साना उद्योग महासङ्घले रु नौ लाख ५७ हजार खर्च गरेको पनि उहाँले बताउनुभयो ।