जेष्ठ २७, २०८२ सोमबार

३४ जिल्लामा रात्रि बस नचलाउन अनुरोध

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न स्थानमा भारी र अति भारी वर्षा हुनसक्ने भन्दै जोखिम रहेका जिल्लामा रात्री बस नचलाउन अनुरोध गरेको छ ।

अति भारी वर्षाका कारण विपदका घटना हुनसक्ने भन्दै राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कताका लागि सूचना जारी गरेको हो ।

प्राधिकरणले रातको समयमा बाढी पहिरोको आकलन गर्न कठिन हुने भएकाले जोखिममा रहेका जिल्लामा रात्रिकालीन बस नचलाउन भनेको छ ।

भारी वर्षाको समयमा जरुरी काम बाहेक यात्रा नगर्न, नदी किनाराका बासिन्दा चनाखो रहन र समस्या परे सुरक्षा निकायमा तुरुन्त खबर गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

बाढीको समयमा दाउरा निकाल्न तथा माछा मार्नको लागि नदीमा नजान पनि प्राधिकरणले आग्रह गरेको छ ।अति भारी वर्षाबाट ३४ जिल्ला उच्च जोखिममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, रसुवा, सिन्धुपाल्चोक, चितवन, दोलखा, धादिङ, नुवाकोटलाई उच्च जोखमको सूचीमा राखेको छ ।त्यस्तै म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, पूर्वी नवलपरासी, लमजुङ र गोरखामा पनि उच्च जोखममा रहेको विभागले जनाएको छ ।

कपिलवुस्त, रुपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची, रुकुम पश्चिम, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी उच्च जोखिममा छन् ।

प्राधिकरणले विपद्को जोखिममा रहेका नागरिकलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले समन्वय गरी तत्काल सुरक्षित आश्रयस्थलमा सार्न, जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी र प्रतिकार्य गर्न विपद्सम्बन्धी काम गर्ने साझेदार संस्थालाई जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रहन सूचित गराएको छ ।

प्राधिकरणले उच्च जोखिमका जिल्लामा जुनसुकै बेला विपद् आउनसक्ने हुनाले खोज तथा उद्धारका लागि ती जिल्लाहरुका तीनवटै सुरक्षा निकायलाई तयारी अवस्थामा रहने, भारी वर्षाको अवधिभरि अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, नदी किनार र पहिरोको जोखिममा बसेका बासिन्दालाई चनाखो रहन आग्रह गरेको छ ।

प्रकाशित मिति : श्रावण २२, २०८१ मंगलबार  ६ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]