सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा अर्जुनधाराका खेलाडी
अर्जुनधारा । थाइल्यान्डमा हुने सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन जाने झापा अर्जुनधाराका खेलाडीहरुलाई विदाई गरिएको छ ।
अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा अर्जुनधारा नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच आज खेलाडीहरुलाई विदाई गरिएको हो ।
कार्यक्रममा अर्जुनधाराबाट सहभागी हुने चार जना खेलाडी र एक जना प्रशिक्षकको विदाई गरिएको हो । विदाई हुने खेलाडीहरु विवेक गिरी, सम्यात थापा, शैलेश तामाङ र प्रिजन नेम्वाङ रहेका छन् । प्रशिक्षकमा दिपेन्द्र दनुवार छन् । थापा, तामाङ र नेम्वाङले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् भने विवेक गिरीले पुम्से प्रदर्शन गर्ने छन् । थापाले ५६ केजि माथिको तौल समुहमा प्रतिस्पर्धा गर्दा तामाङले ९५१–५५० र नेम्वाङ्ले ९२९–३२० तौल समुहमा प्रतिस्पर्धा गर्ने प्रशिक्षक दनुवारले जानकारी दिए । प्रशिक्षक दनुवारका अनुसार खेलाडीहरु शनिश्चरे तेक्वान्दो दोजाङका उत्पादन हुन् ।
उनीहरुले च्याम्पियनसिपमा नेपाली टोलीको प्रतिनिधित्व गर्नेछन् । जसका लागि झापा जिल्लाबाट अर्जुनधाराका ४ खेलाडी र एक प्रशिक्षक मात्रै सहभागी बन्दै छन् । नेपालबाट जम्मा ५१ जना खेलाडी बैंकक जानेछन् । बैंककको सुवर्णभूमि क्याम्पसमा अगस्ट १० देखि १२ तारिखसम्म च्याम्पियनसिप हुनेछ ।
अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालको अध्यक्षतामा भएको खेलाडी विदाई कार्यक्रममा टोलीलाई नगर खेलकुद विकास समितिको तर्फबाट नगद २५ हजार प्रदान गरिएको थियो । त्यस्तै पाँचै जनालाई एक–एक थान ट्रयाकसुट समेत वितरण गरिएको थियो ।
खेलाडी टोलीलाई नगर खेलकुद विकास समितिका अध्यक्ष धिमाल, अर्जुनधाराका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल र वडा अध्यक्ष खगेन्द्र इङनाम, समितिका सल्लाहकार बीरबहादुर राईले खादा अबिर लगाएर विदाई गरेका थिए ।
त्यस्तै नगर खेलकुद विकास समितिका सदस्य सचिव खगेन्द्र लिङ्देन, सदस्यहरु सुरेन राई, हेमलाल परियार, निशा तामाङ, तिलक योञ्जन र बिराज सुवेदी लगायतले खेलाडीहरुलाई शुभकामना प्रदान गर्दै विदाई गरेका हुन् ।