बैशाख २०, २०८२ शनिबार

बिर्तामोड प्रभु बैंक प्रकरण : छोरा चाहियो, गल्ती भए कारबाही होस्

बिर्तामोड । सम्पर्कबिहीन भएका प्रभु बैंक बिर्तामोडका कर्मचारी प्रमोद सिटौलाको आमा पवित्रा सिटौलाले छोराको खोजी गरिदिन आग्रह गरेकी छन् । आज बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै छोरालाई घरबाटै लैजाने तीन जना व्यक्तिहरुलाई छोरा ल्याइदिन आग्रह गरेकी हुन् ।

मेरो छोरालाई घरबाटै लैजानेहरुले जस्तो अवस्थामा रहेपनि उपस्थित गराइदिनुपर्छ । छोराले कारोवारमा कुनै गल्ती कमजोरी गरेको भए त्यसलाई कानुनी कारबाही होस्, आमा पवित्राले भनिन् – मलाई छोरा चाहियो, गल्ती गरेमा कारबाही होस् ।

सिटौला परिवारले छोरा हराएको ९ दिन भइसकेको जनाएको छ । पत्रकार सम्मेलनमा श्रीमति एलिसा बुढाथोकीले आफ्नो श्रीमानलाई टिकाराम नेपाल ‘नेती’, स्वागत नेपाल र तुलसी उप्रेतीले घरबाटै लगेको जानकारी दिइन् । उनले श्रीमान लैजानेहरुसँग माग गरेकी छन्, मेरो श्रीमान चाहियो । उनका अनुसार साउन १६ गते विहान ८ः३० बजे ३ जनाले श्रीमान प्रमोद सिटौलालाई कार्यालय छोडिदिने भन्दै लगेका थिए । श्रीमानले आफ्नै गाडिमा जाने भन्दाभन्दै उनीहरुले आफ्नो गाडिमा घरबाट लगेको बताइन् ।

प्रभु बैंक बिर्तामोडमा मञ्जु कुमारी नेपालको नाममा रहेको खाताबाट जम्मा गरिएको १ करोड १० लाख ४३ हजार रुपैयाँ गायव भएको नेपाल परिवारले यसअघि नै सार्वजनिक गरिसकेको छ । उनीहरुले बैंकमा रकम जम्मा गरेको सबै प्रमाण आफुहरुसँग सुरक्षित रहेको भन्दै सार्वजनिक नै गरिसकेका छन् । उक्त प्रमाणबारे बैंकले सबै कागजातहरु नक्कली भनिसकेको छ ।

बैंकले अन्तिम विज्ञप्तिमा भनेको थियो, नक्कली कागजात बनाउने कार्यमा तत्कालिन कर्मचारी सिटौलाको संलग्नता रहेको छ ।

बैंकका कर्मचारी सिटौला वेपक्ता भएको विषयमा नेपाल पक्षले तत्कालै बैंकलाई जानकारी दिएको जनाएका छन् । होटलमा कुराकानीका क्रममा बाहिर निस्केका सिटौला बारे तत्कालै बैंकलाई जानकारी गराइएको थियो ।

असार २७ गते विवाह गरेका सिटौला विवाहको २१ दिनपछि सम्पर्क विहीन भएको परिवारको भनाई छ । उनीहरुले कारोवारमा भए कारबाही गर्न कुनै बाधा नगर्ने बताएका छन् । बैंकसँग जोडिएको विषयमा नेपाल पक्षले कानुन नै हातमा लिएको सिटौला पक्षको दावी छ । सिटौला पक्ष भन्छन् – बैंकसँगको कारोबारका विषयमा घरबाटै अपहरण शैलीमा उठाइनु बेठिक भयो ।

श्रीमानको खोजीका विषयमा प्रहरी प्रशासनले समेत असहयोग गरिरहेको परिवारको आरोप छ । प्रहरी प्रशासनले छोराको ेखोजीमा सहयोग गर्न सकेको छैन, बैंकले पनि धेरै चासो नदिएको उनीहरुको गुनासो छ ।

प्रकाशित मिति : श्रावण २४, २०८१ बिहीबार  ६ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]