शिवसताक्षी वडा नं. ४ का विपन्नलाई बायोसेण्ड फिल्टर वितरण
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ४ ले विपन्न परिवारलाई वायोसेण्ड फिल्टर वितरण गरेको छ । वडा नं. ४ ले उक्त फिल्टर दुई चरणमा वितरण गरेको जनाएको छ ।
वडाबासी विपन्न परिवारको स्वास्थ्यलाई मध्यनजर गर्र्दै वडाले फिल्टर वितरण गरेको वडाध्यक्ष विष्णु प्रसाईले जानकारी दिए । वडाध्यक्षका अनुसार १९ वटा फिल्टर आषाढ महिना भित्र र १९ ओटा श्रावणको अन्तिममा वितरण गरिएको छ ।
उनले आषाढमा एक लाख बराबरको गरिबसँग विशेश्वर कार्यक्रम मार्फत वितरण गरिएको हो भने, हाल एक लाख बराबरको वडाको सिलिङ्ग बजेटबाट वितरण गरिएको बताए । फिल्टर आषाढ महिना मै निर्माण गरी रकम निकाशा भएको उनको भनाई छ । फिल्टर सिमेन्टबाट निर्माण गरिने भएकोले निर्माण पछि तत्कालन प्रयोग गर्न नमिल्ने बाध्यताले वितरणमा ढिला भएको उनले जानकारी दिए ।
उनले भने, सामाजिक सञ्जालमा आए जस्तो होइन, केही समय फिल्टर सुक्नु पर्ने भएकाले वितरणमा ढिला भएको हो । वडाले पहिले छनोट गरेका विपन्न परिवारलाई नै फिल्टर वितरण गरिएको जनाएको छ ।
उनले वडाका अधिकांश स्थानमा ट्युवेलबाट आयरिन युक्त पानी आउने गरेको बताए । आयरिन युक्त पानीले खान मात्र होइन कपडा धुँदा सबै रातो हुने गर्छ । कम्तिमा पनि वडाबासी सुद्ध पानी पिउनु पर्छ भन्ने लागेर नै फिल्टर वितरणको अवधारणा ल्याएको उनको भनाई थियो ।
वायोसेण्ड फिल्टरले वालुवाको सतहमा जैविकीय तह निर्माण गरेर पानी शुद्धिकरण गर्छ ।