जेष्ठ २६, २०८२ आईतबार

प्रधानमन्त्रीको उपस्थितिमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा र बजेट कार्यान्वयनबारे छलफल

काठमाडौँ, ३१ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गत आर्थिक वर्षको प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै वर्तमान सरकारको एक सय दिनभित्र गरिने मुख्य मुख्य कामबारे आज छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त छलफलमा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सबै मन्त्रालयका सचिवको सहभागिता रहेको छ । प्रस्तुत समीक्षा र योजनाका आधारमा मुख्य क्रियाकलाप तथा माइलस्टोन समावेश गरी प्रधानमन्त्री र मन्त्रीहरुबीच छिट्टै कार्यसम्पादन सम्झौता हुने मुख्यसचिव लीलादेवी गड्तौलाले जानकारी दिनुभयो ।

तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठले गत आर्थिक वर्ष २०८०र८१ मा समग्रमा ६३ दशमलव ४७ प्रतिशत पुँजीगत खर्च भएको, तीन हजार चार सय २१ माइलस्टोन निर्धारण भएकामध्ये ४९ प्रतिशत र एक हजार ६ सय क्रियाकलापमध्ये ४२ प्रतिशत सम्पन्न भएको तथा बैठकमा त्यसबारे छलफल भएको जानकारी दिनुभयो । मल आपूर्तिमा सहजता भएको, दुर्गममा जोखिमको अवस्थामा रहेका सुत्केरीको हवाईउद्धार गरिएको, पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान आरम्भ भएको आदि उपलब्धि देखिएको छ । बजेट र कार्यक्रमको तयारीमा अपुग, स्रोत सुनिश्चित नभएका योजना, अन्तर निकाय समन्वय अभाव, निर्माण सामग्रीको अपर्याप्तता, खरिद ऐनका समस्या, विस्तृत परियोजना प्रतिवेदन तयारी नहुनु, जग्गा प्राप्ति र रुख कटान आदिका समस्याका कारण आयोजना समयमा सम्पन्न नभएको प्रस्तुतिकरणमा उल्लेख छ ।

समीक्षापश्चात् सम्बन्धित मन्त्रालयका सचिवहरुले चालु आर्थिक वर्ष २०८१र८२ को मन्त्रालयगत कार्यसम्पादन सूचक र सरकारको एक सय दिनभित्र गरिने जनअपेक्षामा आधारित मुख्य कार्यक्रम प्रस्तुतिको क्रम जारी रहेको छ ।

आर्थिक वर्षको सुरुआतदेखि नै बजेट र कार्यक्रम कार्यान्वयन योजना तर्जुमा सरकारले तदारुकता देखाएको हो । यसअघि प्रधानमन्त्री ओलीले यही साउन १५ गते सबै मन्त्री र सचिवलाई सेवा प्रवाहमा सुधार र प्रभावकारिताका विषयमा निर्देशन दिनुभएको थियो ।

प्रकाशित मिति : श्रावण ३१, २०८१ बिहीबार  ३ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]