बैशाख ८, २०८१ शनिबार

हतियार देखाएर खोलाको अवैध उत्खनन

जनकपुरधाम । नदी–खोला अवैध उत्खननको विरोध गर्दा मिथिला नगरपालिकाका दिलीप महतोको हत्या भएपछि क्रसर व्यवसायको बदमासीबारे धेरैको ध्यान तानिएको छ ।

तर क्रसर उद्योगीहरुले हतियार बोकेर हिड्ने र स्थानीयलाई तर्साउने मात्र होइन, त्यही हतियारको देखाएर डकैती समेत गर्ने गरेको पाइएको छ ।

बटेश्वर गाउँपालिका– १ का मनोजकुमार कुशवाह हतियारसहित चित्रपुर खोलामा बालुवा निकाल्न गिट्टी उत्खनन् गर्न गएका थिए । २५ जेठ २०७६ मा खोला उत्खनन गर्न गएका उनको साथबाट स्वचालित पेस्तोल बरामद भएको थियो ।

प्रहरीले मनोजलाई समातेर हातहतियार तथा खरखजाना मुद्दा मात्रै दर्ता गर्‍यो । इलाका प्रहरी कार्यालय ढल्केबरले उनीविरुद्व नदी उत्खननसम्बन्धी मुद्दा नै चलाएन ।

मनोज हाल हातहतियार तथा खरखजना मुद्दामा पुर्पक्षका लागि जलेश्वर कारागारमा थुनामा छन् ।

बलजफ्ती गर्थे उत्खनन्

हतियार लिएरै नदी उत्खनन् गर्ने मनोजको कुनै क्रसर उद्योग छैन । न त उनले उत्खनन् गर्ने ठेक्का पाएका थिए । उनको काम थियो–ठेकेदारहरुलाई नदीजन्य पदार्थ पुर्‍याउने ।

उनी आफ्नै वडाको लक्ष्मी माविमा लेखाको काम समेत गर्थे । तर विद्यालयबाट तलव खाएर समय भने कम दिन्थे । बिहानदेखि बेलुकासम्म उनी खोलामे हुुन्थे । स्थानीयका अनुसार ठेकेदारले उनलाई नदीजन्य पदार्थ चाहिएको भन्नेवित्तिकै उनी टिपर र स्काभेटर भाडामा लिएरै उत्खनन् गर्ने गर्थे ।

‘यसो नगर्न हामीले बारम्बार सम्झाएका थियौं’ बटेश्वर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष शैलेन्द्र महतोले अनलाइनखबरसँग भने, ‘तर कसैको कुरा मान्न तयार भएनन् उनी ।’

आफूसहित गाउँपालिका प्रमुख, समन्वय समितिका पदाधिकारीले पनि मनोजलाई सम्झाउँदा उत्खनन् गर्न नछाडेको वडा अध्यक्ष महतोको भनाइ छ ।

त्यही हतियारले डकैती पनि

डेढ बर्षअघि धनुषामा भएको डकैतीमा पनि नदी उत्खनन् गर्ने मनोजले बोकेकै हतियार समेत प्रयोग भएको देखिएको छ । २०७५ साल साउन २५ गते मिथिला नगरपालिका ८ जमुनीबासस्थित चार जनाको घरमा डकैती हुँदा मनोजको साथबाट बरामद भएको हतियारले नै गोली फायर भएको देखिएको थियो ।

पुष्पलाल श्रेष्ठ, कृष्ण श्रेष्ठ, नवराज श्रेष्ठ र चन्द्रबहादुर श्रेष्ठको घरबाट लाखौंको डकैती भएको थियो । उनीहरुले एकै परिवारका चार जना श्रेष्ठ दाजुभाइको घरबाट नगद रु २ लाख ५० हजार, साढे ६ तोला सुनको गहना, ५६ तोला चाँदीको गहना, ६ थान मोवाइल, जग्गा जमिनको लालपूर्जा, नागरिकता, सबारीको ब्लू बुकसहितका महत्वपूर्ण कागजातसमेत लुटेका थिए ।

पेस्तोल, खुकुरी र लाठीसहित लुट्न आएका डाँकाहरुको समूहलाई समात्न खोज्दा डाँकाहरुले पुष्पलाल श्रेष्ठमाथि गोली चलाएर घाइते बनाएका थिए ।

श्रेष्ठमाथि प्रहार गरिएको गोलीको खोका केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा परीक्षण गराउँदा कुशवाहकै पेस्तोलबाट फायर भएको देखिएको प्रहरीको भनाइ छ ।

डकैतीमा संलग्न भएका सर्लाहीको साविक नोकैलवा गाविस ६ बस्ने ४९ बर्षीय गनेरु माझी, सर्लाहीकै चन्द्रनगर गाउँपालिका ६ का ३६ बर्षीय देवलाल कापड समेत पक्राउ परिसकेका छन् ।

हतियार लिएरै नदी उत्खनन गर्ने कार्यमा संलग्न भएकाहरु अन्य अपराधिक कृयाकलापमा समेत संलग्न रहेको यस्ता घटनाले समेत प्रमाणित गरेको छ ।

प्रकाशित मिति : माघ ३, २०७६ शुक्रबार  ७ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]