बिर्तामोडबाट फरार थुनुवा बसपार्कबाट पक्राउ
बिर्तामोड । अस्पतालबाट फरार बिर्तामोडका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । आज विहान साढे १० बजे फरार थुनुवा २५ वर्षीय विशाल राईलाई अर्जुनधारा –११ नयाँ बसपार्क बिर्तामोडबाट नियन्त्रणमा लिएको झापा प्रहरीले जनाएको छ ।
दमकस्थित बेलडाँगी शरणार्थी शिविरको सेक्टर जीथ्रीका भूटानी शरणार्थी २५ वर्षीय राई हतकडी फ्याँकेर बिर्तामोडस्थित बिर्तासिटी अस्पतालबाट फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दका अनुसार राईलाई लागूऔषध मुद्धामा भदौ २ गते बिर्तामोड बसपार्कबाट एक ग्राम ४४ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको थियो । अदालतबाट पाँच दिनको म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको बेला विरामी भएका राई अस्पतालबाट भागेका थिए ।
गत मङ्गलबार अपराह्न ४ बजेतिर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । बुधबार विहान हतकडी लगाइएका थुनुवा भागेपछि उनको खोजीका लागि प्रहरी परिचालन गरिएको थियो । थुनुवा राईको सुरक्षामा प्रहरी हवल्दार बमबहादुर राई खटिएका थिए । थुनुवा भागेपछि उनलाई समेत कारबाही गरिएको छ ।
सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई छलेर थुनुवा राई हतकडी फ्याँकेर अस्पतालबाट फरार भएका थिए । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टको नेतृत्वमा परिचालित प्रहरी टोलीले फरार थुनुवा राईको खोजी गरिरहेको जनाइएको छ ।