जेष्ठ ३, २०८२ शुक्रबार

झापामा फैलिदैछ अवैध ‘लट्री’ को जालो

गगन ढकाल

झापा । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटेको प्रहरी टोलीले केही दिन अगाडि बिर्तामोडमा एक जना भारतीय नागरिकलाई लट्री टिकटका केही थान बण्डल सहित पक्राउ ग¥यो । पक्राउ परेका ति व्यक्ति २४ घण्टा अगावै प्रहरी हिरासतबाट रिहा भए ।

इलाका प्रहरी कार्यालय अनारमनी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार ति व्यक्तिले लट्री टिकट कसैलाई नबेचेका कारण उनको टिकट बण्डल सिज गरेर उनलाई चेतावनी दिएर रिहा गरिएको हो । डिएसपी विष्टले लट्री बेच्दै गरेको अवस्थामा पक्राउ परेको घटनालाई नबेचेको भन्दै प्रतिक्रिया दिएका छन् ।

झापाका विभिन्न स्थानहरु भद्रपुर, काँकडभिट्टा, इटाभट्टा, बाहुण्डाँगी, बिर्तामोड लगायत विभिन्न सीमावर्ती स्थाहरुमा दैनिक लट्रीको कारोबार भइरहेको छ ।

काँकडभिट्टामा चिया पसल सञ्चालन गर्ने रिता (परिवर्तित नाम) आफूले विगत दुई वर्षदेखि निरन्तर रुपमा लट्री काट्दै आएको बताउँछिन् । उनी भन्छिन्, ‘म डेल्ली ५० रुपेको काट्छु । धेरैको काट्दिन । ५० कै पनि परिहालो भने १४–१५ हजारको परिहाल्छ ।’, रिता आफूलाई अहिलेसम्म चिट्ठा नपरेको बताउँछिन् । उनको छिमेकीलाई परेको कथा सुनाउँदै उनीले आफूलाई पनि एक दिन पर्ला भन्ने आशाले लट्री काटेको बताउँछिन् ।

यस्तै काँकडभिट्टकाका एक ई–रिक्सा सञ्चालक कुमार (परिवर्तित नाम) भारतबाट एक जना दाई लट्री लिएर काँकडभिट्टै आउने र उनीसँगै लट्री किन्ने गरेको बताउँछन् । उनी दैनिक आम्दानी अनुसार रु दुई सय देखि एक हजारसम्मको लट्री काट्ने व्यक्ति हुन् । उनी एक दुई पटक आफूलाई लट्री परेको पनि बताउँछन् । उनलाई केही महिना अगाडि मात्रै लट्रीमा १४ हजार परेको थियो । बैंकको किस्ता तिर्ने समयमा १४ हजारको लट्री परेका कारण उनी फेरी पनि पर्ला कि भन्ने आशामा दैनिक लट्री काट्छन् । उनी भन्छन्, ‘ऋण छ, वा परिहाल्छ कि भन्ने आशाले काट्छु । अस्ती दुई तीन महिना अगाडि १४ हजार परेको बेला कत्रो काम भयो ।’

झापाको सीमावर्ती क्षेत्र भारतीय लट्रीको ‘अखडा’ बन्दै गएको छ । भारतमा सस्तो दाममा खरिद गरिएको लट्री नेपालमा विभिन्न एजेण्टहरुले सीमावर्ती क्षेत्रहरुमा घर–घरै वा पसल–पसलमा पु¥याएर होम डेलिबरीको सेवा पनि दिइरहेका छन् ।

इट्टाभट्टा चौकमा सैलुन सञ्चालन गरिरहेका एक युवा उनको पसलमै भारतबाट एक व्यक्ति आएर लट्री कटाउने गरेको बताउँछन् । उनका अनुसार कम्तीमा ५० देखि तीन हजारसम्म दैनिक लट्री काट्नेहरु इटाभट्टा चौकमा थुप्रै छन् । उनी भन्छन्, ‘परि पो हाल्छ कि भन्ने आशाले सधैं काटिन्छ । यो नशा जस्तै हो । एक पटक काटे पछि काटिरहन मन लाग्छ ।’

कम्तीमा १ हजार भारुदेखि ५१ लाख भारुसम्म नगद जितिने लट्रीको लत कति कडा छ भने सीमाका सयौँ सर्वसाधारण नेपाली फसिसकेका छन् । तिनमा व्यवसायी, विभिन्न कार्यालयका कर्मचारी तथा सर्वसाधारण पनि छन् । सीमाना जोडिएका ठाउँमा लट्रीको लत ड्रगको जत्तिकै भएको नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु कार्की बताउँछन् । उनी भन्छन्, ‘धेरै मान्छेहरु यसको लतमा फसिरहेका छन् । यसरी गैरकानुनी तरिकाबाट ठूलो अंकमा नेपाली पैसा भारत गइरहेको छ । एकाधले लट्री पारे पनि त्यो पैसा आउने बाटो पनि गैरकानुनी हो । यसलाई पूर्णरुपले रोक्न सबैजना सजक हुनुपर्ने देखिन्छ ।’

भारत सरकारले वैधानिकता दिएको लट्री मिजोरम, नागाल्यान्ड, सिक्किम लगायतका भारतीय राज्यहरुमा सञ्चालनमा छ । भारतसँग खुला सीमा जोडिएका काँकडभिट्टा र भद्रपुरसहित धुलाबारी, बिर्तामोडसम्मका स्थानीय लट्रीको लतमा फसेका छन् ।

लट्री बिक्रीका लागि भारतको पानीटंकी, बतासी, नक्सलवारी र बागडुग्रा क्षेत्रबाट भारतीय बिक्रेता आउँछन् । दिनमा तीनपटक लट्री खुलाइन्छ । प्रत्येक दिन बिहान ११, अपराह्न ४ र राती ८ बजे खुल्ने लट्रीको परिणाम पनि सोही दिन सार्वजनिक हुन्छ । नेपालमा चिट्ठा बिक्रीकै लागि सयौं व्यक्तिहरु परिचालित छन् । एउटा दलालले दैनिक लाखौँ रुपियाँ लिएर जान्छन् । दलालले नियमित ग्राहकलाई ‘होम डेलिभरी’ सुविधा पनि दिन्छन् ।

सर्वसाधारणलाई लाखौँ रुपैयाँ जित्ने भन्दै झूटो आश्वासन दिएर प्रलोभनमा पार्ने गर्छन् । लट्री टिकटको मूल्य न्यूनतम भारु ५० देखि अधिकतम ४ सयसम्म पर्छ । कहिलेकाहीँ कसैले थोरै रकम जितेको कुरालाई पनि दलालले लट्री बिक्री गर्ने आधार मान्छन् । कतिपय त भारतीय बजार पुगेर आफ्ना लागि लट्री काट्छन् । बिक्रीका लागि पनि लिएर आउँछन् ।
सीमाका बजारमा भारतीय लट्रीको कारोबार हुने गरेको प्रहरीलाई जानकारी नभएको होइन । तर पनि नियन्त्रण गर्न प्रहरी सफल भएको छैन ।

जिल्ला प्रहरी कार्यालय झापाका नायव उपरीक्षक तथा सूचना अधिकारी कृष्ण कुमार चन्दका अनुसार दुई महिना अगाडि भद्रपुर नाकाबाट लट्री लिएर आउँदै गरेको एक भारतीय नागरिकलाई जिल्ला अदालमा मुद्दा चलाइएको छ । उनका अनुसार जिल्लामा लट्रीको कारोबार निक्कै कम भएको छ । उनले लट्री अवैध कारोबारी भएकाले कोही कतै फेलापरे पक्राउ गर्ने बताएका छन् ।

प्रकाशित मिति : भाद्र ११, २०८१ मंगलबार  ९ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]