बिर्तामोडमा विशाल रथयात्रा
झापा । झापाको बिर्तामोडमा आज निकालिएको श्रीकृष्ण रथयात्रामा अहिलेसम्मकै बृहत सहभागिता भएको छ । गत वर्षबाट बिर्तामोडमा सुरु भएको रथयात्रा दोस्रो वर्ष भव्यताका साथ सम्पन्न गरिएको छ ।
बालाजी मन्दिर समिति बिर्तामोड र श्री कृष्ण प्रणामी मन्दिर सतगुरु श्री देवचन्द्र सदन बिर्तामोडको संयुक्त आयोजना निकालिएको रथयात्राले बिर्तामोड परिक्रमा गरेको थियो । अघिल्लो वर्षको रथयात्रामा देखिएको उत्साहका कारण यो वर्षपछि रथयात्रा निकालिएको बालाजी मन्दिर समितिका अध्यक्ष नवीन गोयलले जानकारी दिए ।
अग्रसेन भवन अगाडि बालाजी र कृष्ण प्रणामी मन्दिरको रथयात्रा भेट भएको थियो । त्यसपश्चात सँगै अघि बढेका रथले बिर्तामोडको सिटी सेन्टर, भद्रपुर रोड हुँदै वन स्टपपछि मन्दिर फर्काइएको थियो ।
श्रीकृष्ण जन्माष्टमीको भोलि पल्ट श्रीकृष्ण रथयात्रा निकालिएको हो । भगवान् श्री कृष्णको जन्म उत्सवको अवसर पारेर निकाएको रथयात्रामा हजारौंको सहभागिता भएको अध्यक्ष गोयलको भनाइ छ ।
भदौ १० गते साँझ ६ बजेदेखि राती १२ बजे सम्म भब्य श्रृंगार, श्री कृष्ण जन्म, श्रीकृष्णलीला, शिव तांडव, गणेश जीको झाँकी दर्शन, राधा रानी झाँकी दर्शन गरिएको थियो । मंगलवार विशेष पूजाअर्चाना गरेर ३ बजे रथयात्रा बालाजी मन्दिरबाट प्रारम्भ गरिएको थियो । बिर्तामोडको रथयात्रामा ताण्डव नृत्यले सबैलाई आकर्षित गरेको थियो ।
सद्गुरु सदनले दुई वर्ष अघि पनि एकल रथयात्रा निकालेको थियो । अघिल्लो बर्षदेखि भने बालाजी मन्दिरसँग सहकार्य गरेर संयुक्त निकाल्दै आएको श्री कृष्ण प्रणामी मन्दिर सतगुरु श्री देवचन्द्र सदन बिर्तामोडले जनाएको छ ।
शान्ति, धर्म रक्षा, समाज तथा मानव कल्याणको लागि संयुक्त रथयात्रा गरिएको बालाजी मन्दिरका अध्यक्ष गोयलको धारणा छ । रथयात्रालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्नेहरुलाई उनले धन्यवाद व्यक्त गरेका छन् ।
झापाको बिर्तामोडसहित ६ स्थानमा रथयात्रा निकालिएको थियो । जिल्लाको भद्रपुर, दमक, गौरीगञ्ज, बिर्तामोड, झापा र गौरादहमा श्रीकृष्ण रथयात्रा सम्पन्न गरिएको छ ।
जिल्लाको सदरमुकाम भद्रपुरमा २२औं पटक निकालिएको श्रीकृष्ण रथयात्रा श्रीकृष्ण भगवान् सवार रथको विशेष पूजा अर्चना पश्चात् भद्रपुर–५ स्थित लक्ष्मीनारायण मन्दिर अगाडिबाट दिउँसो २ बजे रथयात्रा निकालिएको थियो । जिल्लामै भद्रपुरको रथयात्रा पहिलो हो ।
रथयात्राका लागि भारत विहारको फारभिजगञ्जबाट बोलाएको १४ जनाको टोलीले श्रीकृष्ण ताण्डव नृत्य समेत प्रस्तुत गरेको बताइएको छ ।