बिर्तामोडमा तीन जना वेसाहारा नागरिकको उद्दार
बिर्तामोड । बिर्तामोडबाट तीन जना वेसाहारा नागरिकको उद्दार गरीएको छ । मानव सेवा आश्रमको सहयोगमा एक जना वृद्धासहित तीन जनाको उद्दार गरीएको हो ।
मानव सेवा आश्रमका प्रतिनिधि, नगर प्रहरीसहित नगर उप–प्रमुख नगेन्द्र प्रसाद संग्रौलाको टोलीले सोमबार दिउँसो उनीहरुको उद्दार गरेको हो ।
बिर्तामोड ४ बाट ९० वर्षीय छबिलाल तिम्सिना, बिर्तामोड–३ बाट १८ वर्षीय उजित सिंह र बिर्तामोड–६ बाट २२ वर्षीय विनिशा गौतमलाई उद्दार गरिएको हो ।
वृद्ध तिम्सिनालाई विगत धेरै दिनदेखि बिरामी रहेको र कटेरोमा सुतेको अवस्थामा उद्दार गरिएको हो । उनको आफन्त यहाँ कोही नभएकोले स्थानीयले उनलाई खानपिन गराउँदै आएका थिए ।
यस्तै सिंह सैनिकमोडको एउटा निर्माणधिन घरमा रात कटाउँदै आएका थिए । मानसिक अवस्था ठिक नभएका सिंहले कहिले काँकडभिट्टाको गरामनी कहिले भारतको पानीटंकी घर बताउने गरेका छन् ।
यस्तै गौतमको पनि मानसिक अवस्था ठिक छैन । बुट्टाबारी नजिकै शुभबिहानी टोलबाट उद्दार गरिएकी उनले मोरङको गछिया आफ्नो ठेगाना बताएकी छन् ।
उद्दार गरिएका सबैलाई बिर्तामोड नगर प्रहरीको गाडीमा राखेर मानव सेवा आश्रम मेचीनगर पठाइएको नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले जानकारी दिए । उनले यस प्रकारका वेसाहारा नागरिक बिर्तामोड क्षेत्रमा कोही भेटिए उद्दार गरीने पनि जानकारी दिए ।
मानव सेवा आश्रमका झापा संयोजक खगेन्द्र विश्वकर्माका अनुसार मेचीनगर आश्रममा मात्रै २८ जनाले आश्रय लिएका छन् । उनीहरु सबैजना झापाबाटै उद्दार गरिएका हुन् ।