माघ ८, २०८१ मंगलबार

डेढ करोड लागतमा बनेको शान्तिनगरको सब्जी मण्डी अलपत्र

गगन ढकाल

झापा । झापाको शान्तिनगर तरकारी उत्पादनका लागि प्रख्यात क्षेत्र हो । यहाँका तरकारीहरु झापाको बिर्तामोड, धुलाबारी, चारआली र दमक लगायतका शहरहरुमा बिक्री हुन्छन् । त्यति मात्र होइन यहाँको तरकारी भारतको पश्चिम बंगाल प्रान्तको पानीटेंकी, नक्सालबाडी तथा सिलिगुडी लगायतका शहरहरुमा पनि बिक्री हुने गरेको छ ।

यहाँको तरकारी उत्पादनलाई मध्यनजर गर्र्दै संघीय सरकारले बुद्धशान्तिको वडा नम्बर– ४ स्थित टिमाई खोलाको किनारमा रहेको पुरानो भुटानी शिविरमा आर्थिक वर्ष २०७६-०७७ देखि सब्जी मण्डी निमार्ण कार्य अगाडि बढाएको थियो ।

पटक–पटक गरेर हालसम्म १ करोड ६८ लाखमाथि लगानी भइसकेको छ । करोडौं लगानीको उक्त सब्जी मण्डी भने अहिलेसम्म प्रयोग बिहीन अवस्थामा रहेको छ । यसरी करोडौं लगानी भएको सब्जी मण्डी सञ्चालन हुन नसक्दा स्थानीय आक्रोशित बनेका छन् । स्थानीय हुईशल लामा अघिल्लो जनप्रतिनिधिहरु कै कार्यकालमा यो सब्जी मण्डी प्रयोगका निम्ति तयार भइसकेको बताउँछन् । उनी भन्छन्, ‘अघिल्लो कार्यकालको जनप्रतिनिधिहरुको अन्तिम समयमा निमार्ण भइसकेको थियो । तर, हालका जनप्रतिनिधिले यसलाई सञ्चालन गर्न चासो दिनु भएको छैन ।’

स्थानीय लामाका अनुसार शान्तिनगरभित्रका कृषकहरुले धेरै तरकारी उत्पादन गर्ने भएकाले यो मण्डीलाई काठमाडौंको कालिमाटी जस्तै बनाउन सकिने आशा थियो । उनले भने, ‘सहरी क्षेत्रका सब्जी बजारहरुमा लोड अनलोड गर्दा जाम हुने समस्या छ । त्यसैले यहाँबाट तरकारी बितरण गर्ने अवधारण अनुसार यो मण्डी तयार भएको हो । तर, पछि जनप्रतिनिहरु परिर्वतन भएपछि त्यसलाई सञ्चालन गर्न चासो देखाउनु भएन ।’

लामाका अनुसार आफ्नै आगनमा यतिका लगानीमा बनेको सब्जी मण्डी सञ्चालनमा नआउँदा किसानहरु बिर्तामोड, चारआली र धुलाबारी लगायतका बजारहरु जानु परेकाले छ । यही बेच्न सके आम्दानी राम्रो गर्न सकिने उनको बुझाई छ । टाढा जानुपर्दा किसानहरुलाई गाह्रो भइरहेको छ ।

यसैगरी अर्का स्थानीय करण थेवेले यस सब्जी मण्डी सञ्चालनमा नआएकोमा जनगुनासो रहेको बताएका छन् । उनले भने, ‘नागरिकको करबाट बनेको यस्ता करौडौंका संरचना सञ्चालन नहुनु दुःखद् हो । उनले भने, ‘यहाँका किसानहरुको लागि बनाइएको यो सब्जी मण्डी निमार्ण सम्पन्न भएको यतिका वर्षमा पनि प्रयोग गर्न नपाउनु ठिन हैन । किसानहरु अझैं पनि आफ्नो तरकारी बेच्न दलाल कै भर पर्नुपर्ने स्थिति रहेको छ ।’

बुद्धशन्ति–४ का वडा अध्यक्ष शेरबहादुर राया सब्जी मण्डीमा बाहिरतिरबाट पनि आएको तरकारी राखेर बिक्री गर्ने योजना रहेको बताउँछन् । उनी भन्छन्, ‘बाहिरबाट आएको तरकारी स्टोर गर्न चिस्यान केन्द्र आवश्यक हुन्छ । त्यसका निम्ति बजेट आएर फिर्ता भयो । जसले गर्दा निमार्ण गर्न सकेनौं । त्यही भएर सोचे अनुरुप सञ्चालन गर्न सकिरहेका छैनौं ।’

अध्यक्ष रायाका अनुसार यसलाई भाडामा सञ्चालन गर्न पालिकाले सूचना निकाल्दा कोही पनि नआएका कारण पालिकाले पुनः दोस्रो पटक सूचना प्रकाशित गरेको छ । कोही इच्छुकले ठेक्काका निम्ति निवेदन हालेर सञ्चालन गर्दा हुन्छ । उनले भने, ‘स्थानीय सरकारसँग चिस्यान केन्द्र स्थापना गर्न पर्याप्त बजेट नभएकाले यसलाई सोचे अनुसारको निमार्ण गर्न सकिएको छैन । यद्दपि ठेक्का प्रक्रियाबाट यसलाई चाडै सञ्चालनमा ल्याउन हामी लागि रहेका छौं ।’
अध्यक्ष राया यसलाई अझ राम्रो गरी संरचना निमार्ण गरेर जिल्लाकै राम्रो सब्जी मण्डी बनाउने योजना रहेको बताउछन् ।

बुद्धशान्ति गाउँपालिकाका इन्जिनियर विक्रम दाहालका अनुसार सब्जी मण्डी योजनामा हालसम्म आर्थिक वर्ष २०७६-०७७ र ०७७-०७८ मा एक करोड २० लाख ३२ हजार रकम खर्च भएको र आ.व. २०७८-०७९ मा ४७ लाख ७८ हजार रकम गरी कूल १ करोड ६८ लाख १० हजार रकम खर्च भएको छ । यति रकममा उक्त सब्जी मण्डीमा १२ वटा सटर सहितको कोठा, एउटा मण्डी, बेरा र सार्वजनिक शौचालय निर्माण भएको छ ।

इन्जिनियर दाहालका अनुसार पहिलेको सरकारले यस ठाउँमा कृषि ज्ञान केन्द्र बनाउने योजना राखेको थियो । तर, चिस्यान कैन्द्रका निम्ति आएको बजेट माथिबाट काटिएपछि कृषि संकलन केन्द्रलाई प्रभावकारी ढंगले सञ्चालनमा ल्याउन नसकिएको हो ।

उनले भने, ‘चिस्यान केन्द्र निमार्णका निम्ति एक करोड जति रकम आवश्यक पर्छ त्यो पालिकासँग नभएका कारण बनाउन सकिएन ।’ उनले भने, ‘मदन भण्डारी राजमार्ग बनिसकेपछि यसको एक्सेस बिस्तार हुन्छ । जसले गर्दा सञ्चालन गर्न पनि सजिलो हुने भएकाले यो वर्षबाट सटर भाडाका निम्ति ठेक्का आह्वान गरेका छौं ।’

प्रकाशित मिति : भाद्र २५, २०८१ मंगलबार  १० : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]