जेष्ठ ९, २०८२ बिहीबार

दिल्लीका मुख्यमन्त्री केजरीवाल रिहा

दिल्ली, २८ भदौ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल सर्वोच्च अदालतबाट जमानत पाएसँगै रिहा हुनुभएको छ । तिहाड जेलबाट रिहा भएसँगै उहाँका समर्थकले उहाँलाई भव्य स्वागत गरेका छन् ।

जेलबाट बाहिर आएपछि केजरीवालले आफू सही भएकाले जेलबाट बाहिर आएको प्रतिक्रिया दिनुभएको छ ।

केजरीवाललाई सर्वोच्च अदालतले आजै जमानत दिएको थियो । सर्वोच्च अदालतले मदिरा नीतिसँग सम्बन्धित सीबीआईको एफआईआर प्रकरणमा जमानत दिएको हो । अदालतले आफ्नो आदेशमा केजरीवालले १० लाख रुपैयाँ धरौटी तिर्नुपर्ने बताएको छ ।

न्यायाधीश सूर्यकान्त र उज्ज्वल भुयनको इजलासले मुद्दाको सुनुवाइ गरेको थियो र सेप्टेम्बर ५ मा फैसला सुरक्षित राखिएको थियो । केजरीवालले सर्वोच्च अदालतमा दुईवटा याचिका दायर गर्नुभएको थियो । यसमा एउटा निवेदन जमानत नदिनेविरुद्ध थियो । यस मामिलामा सीबीआईको गिरफ्तारीविरुद्ध दोस्रो याचिका दायर गरिएको थियो ।

सीबीआईले केजरीवाललाई ईडीको हिरासतमा रहेको बेला पक्राउ गरेको थियो ।केजरीवाललाई ईडी टोलीले मार्च २०२४ मा पक्राउ गरेको थियो । जुलाई १२ मा, केजरीवालले ईडी मुद्दामा सर्वोच्च अदालतबाट जमानत पाउनुभएको थियो ।

तर यो जमानत पाउनुअघि नै सीबीआईले केजरीवाललाई जुन महिनामा पक्राउ गरेको थियो । यही कारण केजरीवाल जेलबाट बाहिर आउन सक्नुभएन । लोकसभा चुनावलाई ध्यानमा राख्दै सर्वोच्च अदालतले मे १० मा अरविन्द केजरीवाललाई चुनाव प्रचारका लागि २१ दिन अर्थात् जुन २ सम्मका लागि अन्तरिम जमानत दिएको थियो ।

हालै दिल्लीका पूर्वउपमुख्यमन्त्री मनिष सिसोदियालाई पनि यस मामिलामा जमानत दिइएको थियो । सिसोदिया १७ महिनापछि जेलबाट बाहिर आउन सफल हुनुभएको थियो । यसअघि सञ्जय सिंह धरौटीमा छुट्नुभएको थियो ।

आम आदमी पार्टीले भाजपाले केन्द्रीय एजेन्सीहरू प्रयोग गरेर विपक्षी नेताहरूलाई झूटा आरोपमा फसाएको आरोप लगाउँदै आएको छ । भाजपाले कानुनको नजरमा सबै समान रहेको भन्दै यस्ता आरोपलाई अस्वीकार गर्दै आएको छ ।

प्रकाशित मिति : भाद्र २८, २०८१ शुक्रबार  ७ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]