जेष्ठ २, २०८२ बिहीबार

झन्झन् असुरक्षित बन्दैछ बिर्तामोड

महानन्द चोकैमा युवतीको हत्या

बिर्तामोड । अर्जुनधारा –६ महानन्दचोकमा आज साँझ ६ः३० बजे १९ वर्षीया किशोरीको हत्या भयो । इलाम फिक्कलकी मनिसा लोहारको छुरा प्रहारबाट हत्या भयो । तीन ठाउँमा छुरा प्रहार गरेर कैलाली घर भई बिर्तामोड बस्दै आएका २० वर्षीय किशोर अनिल विकले हत्या गरे ।

घटना विवरण अनुसार बिर्तामोडसँग जोडिएको महानन्द चोकस्थित मुख्य सडकमा हत्याको घटना भएको छ । घाँटी, छाती र कोखमा छुरा प्रहार गरेका युवालाई स्थानीयले प्रतिकार गरेका थिए । प्रतिकारपछि स्थानीयले नै हत्यामा संलग्न युवकलाई प्रहरी समक्ष जिम्मा लगाएका थिए । प्रहरीका अनुसार ति युवाको उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । किशोरीको उपचारका क्रममा बिएण्डसी अस्पतालमा मृत्यु भएको हो । उनी बिर्तामोडको एक मेनपावरमा कार्यरत रहेको बुझिएको छ ।

सडक क्षेत्रमा छुरा प्रहार गरेर हत्या भएको घटनाले बिर्तामोड क्षेत्रमा असुरक्षा बढेको स्थानीयबासीको भनाई छ । मुख्य सडकमा छुरा प्रहार हुनुले बिर्तामोडमा सुरक्षा व्यवस्था फितलो भएको स्थानीयको प्रतिक्रिया छ । शुक्रवार विहान नै गिरीबन्धु टि–स्टेटको गेट अगाडि कुकर बक विस्पोट गराएको अवस्थामा फेला परेको थियो ।

केही दिनअघि बिर्तामोडमा ग्याङ फाइट भएको थियो । उक्त ग्याङ फाइटबाट केही युवाहरु घाइते भएका थिए । त्यो भन्दा अगाडि भद्रपुर स्टेण्डबाट विद्यार्थीहरु छुरा हानाहान गर्दागर्दै पक्राउ परेका थिए ।

ग्याङ फाइट भएको धेरै समयसम्म घटनास्थलमा प्रहरी नपुगेको गुनासो गरिएको छ । हप्तादिनको फरकमा बिर्तामोडमा भइरहेको छुरा प्रहारले बिर्तामोडबासीले सुरक्षाको प्रत्याभूति हुन नसकेको बताइरहेको बेला मुख्य सडकमा हत्याको घटनाले थप त्रसित बनाएको बताइएको छ । पश्चिम स्टेण्ड क्षेत्रमा युवाहरुबीच छुरा हानाहान भएको थियो ।

बिर्तामोडमा बढ्दो लागुऔषध दुव्र्यसनले अपराधिक घटना वृद्धि गरेको अधिकांशको बुझाई छ । प्रहरीले लागुऔषध विक्री गर्ने ठाउँमा वेवास्था गर्दै आएको आरोप समेत लाग्ने गरेको छ । प्रहरीले बिर्तामोडको पश्चिम बस स्टेण्ड र अदुवा पुलमा बसेर लागुऔषध कारोवार गर्नेहरुलाई समेत नियन्त्रणमा लिन सकेको छैन । हरेक दिन साँझ सो क्षेत्रमा अपरिचित युवायुवतीहरुको भीड लाग्ने गरेको छ । प्रहरीले उक्त स्थानमा काम विनाका अपरिचित युवा युवतीहरुलाई लेखेट्नुपर्ने स्थानीयको माग छ ।

बढ्दो शहरीकरणले जनसंख्याको चाप बढ्दै गइरहेको बिर्तामोडमा सुरक्षा प्रवन्ध कमजोर भएको यहाँका अगुवाहरुको धारणा छ । बिर्तामोडमा प्रहरीको प्रभावकारी गस्ती हुनुपर्छ, अगुवाहरु भन्छन् – प्रहरी के मा व्यस्त छ, बुझ्न सकिएन ।

साँझ परेपछि साना पसलेहरुलाई पसल बन्द गराउन ताकेता गर्ने बिर्तामोड प्रहरीले डान्सबारहरुलाई अन्देखा गरिरहेको भन्दै आलोचना भइरहेको छ ।

प्रकाशित मिति : भाद्र २८, २०८१ शुक्रबार  १० : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]