बैशाख १४, २०८१ शुक्रबार

गर्भ बचाउनै गाह्रो

प्रदीप परियार

बिर्तामोड । शोभा थपलिया (नाम परिर्वन) को गर्भ दुई महिनापछि तुहियो । उनलाई गर्भ तुहिन्छ भन्ने जानकारी थिएन । सन्तानको चहाना भएपछि श्रीमानश्रीमति विचमा ईच्छा अनुसार नै बच्चा राखे । अकास्मात रगत बग्न थालेपछि स्वास्थ्य जाँच गर्न अस्पताल पुगे । त्यहाँ पुगेपछि थाहा भयो , गर्भ तुहिएछ । उनी बिर्तामोडमा मजदुरी गर्छिन् ।

यस्तै बाँहुनडागी कि कल्पना दाहाल ( नाम परिवर्तन) को पनि गर्भ रहेको तिन महिना पुग्न लाग्दा गर्भ तुहियो । त्यसपछि उनको गर्भ बसेको छैन । डाक्टरसँग धेरै परामर्श गरेर उपचार गर्दा पनि गर्भ रहन सकेको छैन । तुहिएको वर्ष दिन पुगिसक्यो ।

सुरुङाकी दिलमाया लामा ( नाम परिवर्तन) २० वर्षको उमेरमा गर्भवती भइन् । गर्भ रहेको खुशी ३ महिना पनि बचेन । उनी दोस्रो सन्तान जन्माउन चहान्थिन् । तर, गर्भ तुहिएपछि उनको दोस्रो सन्तानको चहाना अधुरो भएको छ । उनीभन्छिन्, बस्यो भने पनि बचाउनै गाह्रो छ ।
महिलामा गर्भ तुहिने समस्या पुरानो हो । तर, विगतमा यस्ता समस्या डाक्टरसम्म आइपुग्दैन थियो । डाक्टरसम्म अहिले यस्ता समस्या लिएर आउने महिलाको संख्या उल्लेख्य छ । गर्भ तुहिएको समस्या लिएर आउने महिलाहरु सुरक्षित कसरी बन्न सकिन्छ भन्दै डाक्टरसँग परामर्श लिइरहेको पाइन्छ । यो समस्या बढेपछि धेरै महिलाहरु त्रसित पनि छन् । आफ्नो सन्तानको चहाना फेरि तुहिने हो भन्ने पीर बढेर गएको छ ।

१२ हप्तासम्म गर्भ तुहिने जोखिम धेरै हुने अनुसन्धानकर्ताहरुको विष्लेषण छ । अनुसन्धानकर्ताका अनुसार अमेरिकामा ५ मध्ये १ जनाको गर्भ तुहिने जोखिम छ । युरोपको बेलायत गर्भ धेरै तुहिने राष्ट्रमा पर्छ ।

समय नपुग्दै बच्चा जन्मिने समस्या अर्थात् प्रि–एक्लाम्पसियाबाट पीडित गर्भवती महिलाको अचानक रक्तचाप बढ्ने र अन्य समस्याहरू देखापर्ने तथ्य फेला परेको छ । विभिन्न अनुसन्धानमा गर्भ तुहिने कारण पत्ता लगाइएको छ । गर्भावस्थामा महिलाले गह्रौं काम गर्दा, गर्भावस्थामा गम्भीर चोटपटक लागेमा, गर्भवती महिलाले जथाभावी औषधिको प्रयोग गरेमा, शरीरमा हर्मोन असन्तुलन भएमा, गर्भवती महिलामा यौनजन्य रोग लागेमा, गर्भवती महिलाको पाठेघर असामान्य भएमा, पाठेघरभित्र अनावश्यक तन्तुहरु वृद्धि भएमा, उमेर नपुगी गर्भधारण भएमा, गर्भको भ्रुणमा क्रोमोजोम खराब भएमा गर्भ तुहिन्ने तथ्य फेला परेको छ ।

अञ्जली हस्पिटल बिर्तामोडमा कार्यरत बरिष्ठ स्त्री रोग विशेषज्ञ डा. गौरीशंकर झाले गर्भ तुहिने समस्या पुरानै समस्या भएको बताउँछन् । उनका अनुसार उनीसँग अहिले मासिक २ देखि ३ जना यस्ता समस्या लिएर आउने गरेका छन् । बच्चा खेह्र जानु वा तुहिने समस्याका धेरै कारणहरु छन् ,डा. झाले भने – आमाको स्वास्थ्यमा कुनै स्वास्थ्य समस्या भएमा बच्चा खेह्र जान सक्छ । डाइबेटिज भएका महिलामा पनि यस्तो समस्या आउने गरेको छ । विशेष गरी पाठेघरमा समस्या भएको महिलामा यसको जोखिम धेरै हुन्छ, डा. झा भन्छन्– श्रीमान र श्रीमतिको रगतका कारण पनि गर्भ तहुनी सक्छ । एक जनाको नेगेटिभ रगत भएमा पनि यस्तो समस्या आउन सक्छ । उनका अनुसार पाठेघरको विकास राम्रो नहुनु र बच्चा बस्नका लागि आकार सानो हुँदा गर्भ तुहिने गरेको छ ।

गर्भ रहेपछि त्यसको उचित सुरक्षा र हेरचाह नहुँदा पनि गर्भ तुहनी सक्छ ? भन्ने जिज्ञासामा डा. झाले भने, पहिलेभन्दा अहिले धेरै हेरचाह भएको पाइन्छ । गर्भ रहेपछि त्यस्तो वेवास्था गरेको कमै पाइछ । प्रायः सबै मान्छे अहिले शिक्षित छन्, हेरचाह नै नगर्ने भन्ने समस्या चाँही छैन । गर्भ रहेपछिको यौनसम्पर्कले बच्चा वा पाठेघरमा चोट लाग्यो भने पनि यस्ता जोखिम् आइपर्ने उनको भनाई छ ।

बिर्तामोडस्थित मनमोहन अस्पतालमा कार्यरत बरिष्ठ स्त्री रोग विशेषज्ञ डा. एकराज गौतमले बच्चा तुहिने समस्या रोकथाम गर्न सकिने बताएका छन् । शतप्रतिशत रोक्न सकिन्छ भन्दिन, संभावना चाहीँ छ । महिलाले आफु गर्भवती भएको थाहा पाएपछि आफ्नो स्वास्थ्य परीक्षण गर्न अनिवार्य रहेको डा. गौतमको भनाई छ । महिलाको स्वास्थ्यमा कुनै समस्या वा रोग भएमा यसको जोखिम धेरै हुन्छ । त्यसैले आफ्नो स्वास्थ्य समस्या बेलैमा उपचार गरेमा जोखिम घट्नेछ । उनका अनुसार खानपिन, मोटाई (तौल) र हर्मनको असन्तुलन नै मुख्य समस्या भएकाले यसको व्यवस्थापन गर्नुपर्छ । पहिले गाउँघरमा यस्ता समस्या साह्रै कम थियो, किनभने त्यहाँको खानपान र वातावरण राम्रो थियो ।

मसँग दैनिक ३ देखि ५ जना यस्ता समस्या लिएर आउनुहुन्छ । तुहिने समस्या पहिलेभन्दा केहि न केहि बढेकै छ । सुगर, प्रेसर र थाइराइन लगायतका समस्या भएमा जोखिम हुन्छ , डा. गौतमले भने यसको उपचार समयमै गरेमा सुरक्षित हुन सकिन्छ ।

चिकित्सकका अनुसार यदि गर्भ खेर जाने शंका भएमा पाठेघरको मुख खुला छ कि बन्द छ भन्ने पत्ता लगाउन सकिन्छ । गर्भाशयको परीक्षण र आकारको मापन गर्न सकिन्छ । गर्भ खेर जाने सम्भावना रहेमा पाठेघरको मुख सामान्यतया खुला रहन्छ र भ्रण धेरै समय जीवित रहन सक्दैन । यदि पहिले नै गर्भ खेर गइसकेको छ भने पाठेघरको मुख खुला अथवा बन्द हुन सक्छ ।
गर्भाशयबाट सम्पूर्ण भ्रुण र सालनाल निस्किसकेको छ कि छैन भन्ने कुरामा यो निर्भर रहन्छ । रगतको परीक्षण गरी भ्रुण अथवा सालनाल गर्भमा रहे नरहेको बारे थाहा पाउन सकिन्छ । गर्भ खेर जानबाट बच्न कठिन काम नगर्ने, शरीरलाई आराम दिने, लामो यात्रा नगर्ने, शरीरलाई सजिलो हुने जुत्ता–चप्पल र कपडा लगाउन आवश्यक छ । यसले शरीरलाई दबाब पर्दैन र गर्भ सुरक्षित रहन सक्छ ।

गर्भ रहेको अवस्थामा शरीरमा आइरनको कमी हुने भएकाले आइरन चक्की, फोलिक एसिड र बी कम्प्लेक्सको सेवन गर्नु आवश्यक छ । त्यस्तै, फलफूल, हरियो सागसब्जी, गेडागुडी, माछामासु, दूध आदि नियमित खाने गरेमा गर्भ स्वस्थ रहन्छ र स्वस्थ शिशुको जन्म हुने चिकित्सक बताउँछन् ।

२० देखि ३० वर्षको उमेरमा गर्भ धारण गर्नु उपयुक्त मानिन्छ । त्योभन्दा अगाडि अथवा पछाडि गर्भ धारण भएमा गर्भ खेर जाने सम्भावना रहन्छ । गर्भ रहिसकेपछि २८ हप्तासम्म प्रत्येक महिना, २८ हप्तापछि दुईदुई हप्ता र ३६ हप्तापछि हरेक हप्ता गर्भको परीक्षण गर्नु आमा र गर्भमा रहेको शिशुको स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिन्छ । त्यस्तै, गर्भ खेर जाने आशंका भएमा अन्य समयमा पनि परीक्षण गर्न आवश्यक छ ।

प्रकाशित मिति : माघ १०, २०७६ शुक्रबार  १२ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]