जेष्ठ २, २०८२ बिहीबार

बन्न थाल्यो रोकिएको बिर्तामोड–चन्द्रगढी सडक

बिर्तामोड । झापाको बिर्तामोड–चन्द्रगढी सडक खण्ड धमाधम कालोपत्रे भइरहेको छ । केही महिनादेखि अलपत्र अवस्थामा रहेको सडक धमाधम कालोपत्रे भइरहेको कञ्चन निर्माण सेवाका सञ्चालक केदार गिरीले जानकारी दिए ।

झापा बिर्तामोडका केदार गिरी प्रोप्राइटर रहेको कञ्चन निर्माण सेवाले अलपत्र परेको सडक कालोपत्रे गर्ने जिम्मेवारी पाएपछि काम अघि बढाएको छ । दैनिक रुपमा कालोपत्रे गरिरहेको निर्माण सेवाले सम्झौता बमोजिम काम गर्ने जनाएको छ । पटक–पटक म्याद थप्दा समेत काठमाडौँको कन्टेक प्रालिले पूरा गर्न नसकेको बिर्तामोड–चन्द्रगढी सडक निर्माण गर्ने जिम्मेवारी अहिले बिर्तामोडको कञ्चन निर्माण सेवाले पाएको हो ।

म्याद थप्दासमेत कन्टेकले निर्माण सम्पन्न नगरेपछि स्थानीयले पटक–पटक निर्माणको कामलाई दवाव दिन खवरदारी समेत गर्दै आएका छन् । तर पनि कन्टेकले काम नथालेपछि स्थानीय निर्माण व्यवसायीलाई काम गर्ने जिम्मेवारी दिइएको हो ।

हालसम्म कन्टेक प्रालिले ३८ प्रतिशत मात्र काम गरेको छ । कञ्चन निर्माण सेवाका प्रोप्राइटर गिरीले बाँकी रहेको काम आफ्नो कम्पनीले गर्ने जानकारी दिए । उनले सडक निर्माणको काम भइरहेको जानकारी दिएका छन् । ‘पाँच करोड रुपैयाँ निकासा भएको छ, त्यस बजेटबाट दसैँअगाडि देउनियादेखि धौलापुलसम्मको अधुरा काम पूरा हुन्छ’ उनले भने, ‘यदि समयमै पैसा निकासा भयो भने असारसम्म चन्द्रगढीसम्मको काम सकिन्छ ।’

यसअघि बिर्तामोडको मुक्तिचोकदेखि गरामनीको धौलापुलसम्मको सडक पनि कञ्चन निर्माण सेवाले नै पूरा गरेको थियो । ठेक्का लिएका राजकिशोर गुप्ताले अलपत्र छोडेपछि गिरीले नै सो सडकखण्ड पूरा गरेका थिए ।

०८० साउनभित्र सक्ने सम्झौता गरिएको उक्त योजनामा पटक–पटक म्याद थप गर्दै आएको थियो । सडक निर्माणको ठेक्का पाएको काठमाडौँको कन्टेक प्रालिले निर्माण २०७७ माघ ६ गते ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले ०८० साउन ५ अर्थात् ३० महिनामा काम सम्पन्न गर्नुपर्ने सम्झौता रहेको थियो । त्यस अवधिभित्र करिब ३० प्रतिशत मात्र काम सम्पन्न भएको थियो । त्यसपछि सडक डिभिजन कार्यालय दमकले पटक–पटक म्याद थप गरेको हो ।

ठेक्का पाएको कन्टेकले समयमै काम पूरा नगर्दा यात्रुहरूले सास्ती बेहोरिरहेका छन् । सम्झौताअनुसार निर्माणको काम नगरेको भन्दै निर्माण कम्पनी कन्टेक प्रालिलाई सडक डिभिजन दमकले पटक–पटक स्पष्टीकरण समेत सोधेको थियो । सडक छिटोभन्दा छिटो सम्पन्न गर्न सभामुख देवराज घिमिरेले निर्देशन दिदैं आएका छन् ।

प्रकाशित मिति : आश्विन १, २०८१ मंगलबार  १० : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]