जेष्ठ २, २०८२ बिहीबार

देवी मावि र डोजोबीचको द्वन्द्व समाधान

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको देवी माध्यमिक विद्यालय र देवी डोजोबीचको द्वन्द्व तत्कालका लागि समाधान भएको छ । ‘मुठभेड’ मा पुग्न लागेको द्वन्द्व अहिलेलाई टरेको छ । देवी माविको कोचिङ कक्षालाई कराते प्रशिक्षणले ‘डिस्टर्व’ गरेपछि नखेलाउन भनिएको थियो । त्यहाँबाट सुरु भएको द्वन्द्व मुठभेडमा पुग्न लागेको थियो ।

देवी डोजोका प्रशिक्षकहरुले विद्यालयको प्रवेशद्वार अगाडि प्रशिक्षण गराउन थालेपछि चर्किएको द्वन्द्व बिर्तामोड नगरपालिकामा भएको गत सोमवारको छलफलले समाधान गरेको हो । विद्यालयभित्र नखेलाउन विद्यालय व्यवस्थापन समितिबाटै निर्णय गरेको थियो ।

देवी डोजोका प्रशिक्षक मदन उप्रेतीले वर्खे विदापछि विद्यालय सञ्चालनसँगै साँझको प्रशिक्षण बन्द गरिएको जानकारी दिए । असार १४ गतेबाट भित्र प्रशिक्षण बन्द गरिएको थियो ।

विद्यालयमा विहान पनि सुरक्षाको मुद्धामा प्रश्न उठेपछि विद्यालयले डोजो प्रशिक्षणका लागि ढोका बन्द गरेको थियो । शिक्षकहरुले नै विहान असुरक्षा बढेको भन्दै विद्यालय प्रशासनमा जानकारी गराएका थिए । सोही आधारमा विहान पनि प्रशिक्षण गर्न रोक लगाइएको बताइन्छ । विहान बेलुका नै प्रशिक्षणका लागि विद्यालयले ढोका बन्द गरेपछि प्रशिक्षक र देवी डोजो समूह विद्यालय विरुद्ध खनिएको थियो ।

प्रशिक्षकहरुले विहान पनि रोकेपछि भदौंको अन्तिम सातादेखि बाहिर प्रशिक्षण गर्न थालिएको थियो । विहान बाहिर ढोका अगाडि खेलाउन थालेपछि दुई पक्षबीच विवाद उत्कर्षमा पुग्यो । प्रशिक्षकहरु विद्यालय भित्र खेलाएरै छोड्ने, विद्यालयले पठनपाठनमा अवरोध भएको कारण देखाउदै जसरी पनि रोक्ने दुई पक्षीय अडानले समस्या थप जटिल बनेको थियो । पछिल्लो छलफलबाट समाधान निकालेसँगै बाहिर पनि खेलाउन बन्द गरिएको छ । बाहिर प्रशिक्षण गराउँदा प्रहरीले निगरानी गर्ने गरेको थियो ।

३५ वर्षौदेखि प्रशिक्षण गराउँदा अवरोध नहुने अहिले आएर हुने भन्दै आफूहरुले आपत्ति जनाएको प्रशिक्षक मदन उप्रेतीले बताए । उनले शिक्षा र खेलकुदलाई सँगसँगै लैजानुपर्ने बताएका छन् ।

उनीहरुले खेलाइरहेको मैदानमै खेलाउन पाउनुपर्ने माग राखेका थिए । विद्यालयले पढाईलाई बाधा गर्ने भनेपछि कुनै पनि हालतमा विद्यालयमा खेल्न नदिने अडान राखरे सहजीकरणका माथिल्लो निकायलाई अनुरोध गरेको थियो ।
सोही बमोजिम देवी माविका शिक्षकहरुले असोज ५ गतेभित्र करातेको टोलीलाई नहटाए पठनपाठन रोक्ने भन्दै विद्यालय प्रशासनलाई हस्ताक्षर बुझाएका थिए । उनीहरुको हस्ताक्षर विद्यालयले नगरपालिकालाई बुझाएको थियो । शिक्षकहरुको मागलाई सम्बोधन गर्न नगरपालिकाले प्रमुख जिल्ला अधिकारी बन्दु प्रसाद बास्तोलासहितको छलफल राखेको थियो ।

नगर प्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख जिल्ला अधिकारी बास्तोला, उपप्रमुख नगेन्द्र प्रसाद संगौला, प्रहरी उपरीक्षक मिलन केसी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशिष वन, बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाई, प्रअ अम्बिका श्रेष्ठ, सहायक प्रअ लिला भण्डारी, खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारी, डिएसपी प्रकाश विष्ट, डोजो प्रशिक्षक मदन उप्रेती, मिना उप्रेतीबीच छलफल भएको थियो ।

सो छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी बास्तोलाले विद्यालयमा पठनपाठन पहिलो प्राथमिकताको विषय भएको बताएका थिए । उनले विद्यालयले पठनपाठन प्रभावित हुन्छ भनेपछि प्रशिक्षण खेलाउने ठाउँको विकल्प खोज्न सूझाव दिएका थिए । प्रजिअ बास्तोलाले बिर्तामोड ५ का अध्यक्ष रोहित प्रसाईलाई स्थानका लागि समन्वय गरिदिन आग्रह गरेका थिए । उनले विद्यालय क्षेत्र स्वायत्त भएकाले हस्तक्षेप गर्न नमिल्ने धारणा व्यक्त गरेका थिए ।

सोही अनुसार वडा नं ५ का वडाध्यक्ष प्रसाईले तत्कालका लागि प्रशिक्षणका लागि ठाउँ व्यवस्थापन भएको जानकारी दिए । उनका अनुसार विग ब्रदर ब्याडमिन्टन हलमा प्रशिक्षण गर्ने व्यवस्था मिलाइएको छ । विहान बिग ब्रदर र साँझको प्रशिक्षण बुधबारे हटियामा सञ्चालन भइरहेको प्रसाईको भनाई छ ।

बिर्तामोडका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले विद्यालय व्यवस्थापन समिति र अभिभावकको निर्णय नै कार्यान्वयन गर्नुपर्ने सूझाव दिएको बताएका छन् ।

प्रकाशित मिति : आश्विन ४, २०८१ शुक्रबार  ९ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]