लक्ष्मण शिवाकोटी काण्ड : माग्दै हिड्दैछन् गोली लागेका मणि
बिर्तामोड । झापा अर्जुनधारा नगरपालिका-११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको ‘हत्या’ काण्डमा दोषीलाई कारबाहीको माग गर्दै बिर्तामोडमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका ४१ वर्षीय मणि नेपाली यतिवेला पसल–पसल पुगेर पैसा माग्दै हिडिरहेका छन् ।
गोली लागेर घाइते नेपालीको स्टिलले बाहिरबाटै हात जोडिएको छ भने पेट पनि अपरेशन गरिएको थियो । पेट थमाउन पनि अलग्गै कपडाको पेटीले सहारा लिनुपर्छ भने देव्रे हातले काम नै गर्दैन । पट र हात चिलाएर हैरान छ, नेपालीले भने – पिप नै निस्किन थालेपछि उपचारका लागि पैसा उठाउन थालेको हुँ । पैसा उठाएर काठमाडौंमा उपचार गर्न जाने योजना छ ।
इलाम दानावारीका नेपाली पछिल्लो समय बिर्तामोड नगरपालिका १० मा बस्दै आएका छन् । उनलाई दैनिक गुजारा चलाउन र उपचारका लागि रकम अभाव भएपछि पैसा माग्दै हिड्न थालेको बताएका छन् । आइतबार बिर्तामोडस्थित सुन मार्केटमा भेटिएका नेपालीले बाध्यताले माग्न हिडेको प्रतिक्रिया दिए । प्रहरीको गोली उनको देब्रे हात हुँदै कोखमा लागेको थियो । निर्माण मजदुरीको काम गर्ने नेपाली खाना खान माता मन्दिरतिर गइरहेको बेला झडप भएको थियो । सो क्रममा उनीसँगै गएका अर्जुनधाराकै ३० वर्षीय नरेश थापाको मृत्यू भएको थियो ।
गोली लागेर घाइते उनको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको थियो । नेपाली पनि मरिसकेको भन्दै पोष्टमार्टमका लगिएको थियो । उनले हात उठाएपछि जीवीतै भएको थाहा पाएर फर्काइएको थियो ।
नेपालीलाई लिला राई फाउण्डेशनले घर निर्माण गरिदिएको छ । उनको १६ वर्षीय छोरा र श्रीमती रहेका छन् । श्रीमती पनि अहिले निर्माण मजदुरीको रुपमा कार्यरत रहेको जानकारी दिए ।
आन्दोलनकारीले प्रहार गरेको ढुङ्गा लागेर तत्कालिन सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक रमेशकुमार सुवेदी, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानवहादुर विष्टसहित ३२ प्रहरी घाइते भएका थिए ।