बिर्तामोडका व्यवसायी भन्छन् : बजारमा दशैंको रौनक छैन, अझै आशावादी छौं
बिर्तामोड । विगत वर्षहरुमा जस्तो बजारमा चहलपहल नभएपछि बिर्तामोडका व्यवसायीहरु निराश भएका छन् । बडादशैंको किनमेलले चहलपलह हुनुपर्ने बजार सुनसान भएको व्यवसायीहरु बताउँछन् । वर्षाले व्यवसायमा थप अवरोध गरेको व्यवसायीको भनाई छ ।
बजारमा किनमेलको मारामार हुनुपर्ने बेला व्यापारीहरु मोवाईल हेर्दै बसिरहेको देखिन्छन् । अधिकांश व्यवसायीहरुले यो वर्षको व्यापारमा निराशा व्यक्त गर्दै बाँकी दिनको आशा गरेको प्रतिक्रिया दिएका छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बजारमा दशैंको रौनक नभएको बताए । उनले अरुबेला जस्तो भीडभाड नभएको बताएका छन् । बजार खस्किएको छ, अध्यक्ष न्यौपानले भने – पानीट्याङकीमा दशैं लाग्छ, यहाँ अहिलेसम्म व्यापारीलाई दशैं लागेको छैन । उनले सीमामा किनमेल गर्न पानीट्याङकी जानेहरुलाई रोक्नुपर्ने धारणा राखेका छन् ।
जानकी भेराइटिजका सञ्चालक आदित्य शाहले विगतमा जस्तो चाडवाडको चहलपहल नभएको बताए । उनले वर्षाले चाडवाडको बजार डामाडोल बनाएको प्रतिक्रिया दिए । शाहले अझै पनि बजार उठ्न सक्ने आशा गरेको बताएका छन् ।
यस्तै, बिर्तामोड वाणिज्य संघका सदस्य एव्म गुप्ता क्लोथका सञ्चालक शत्रुघन प्रसाद गुप्ताले व्यापारमा दशैं नआएको बताएका छन् । दशैं आयो, तर व्यापारमा दशैं आएको छैन, गुप्ताले भने – ७५ प्रतिशत व्यापार कम छ, सोह्रश्राद्धपछि व्यापार हुने आशा छ । यसअघिका दशैंहरुलाई स्मरण गर्दै गुप्ताले कोरोनापछिको हरेक दशैंमा व्यापार घट्दै गइरहेको जानकारी दिए ।
बिर्तामोडस्थित प्रसाई मार्केटमा कृतिका स्टोर सञ्चालन गर्दै आएका घनश्याम ढुङ्गानाले वर्षाका कारण व्यवसायीहरु मारमा परेको बताए । उनले बैंकिङ तरलताको प्रभाव व्यवसायमा पनि परेको बताए । उनी भन्छन्, मैले व्यापार गरेको १६ वर्षकै सबैभन्दा विकराल यो वर्ष भयो । दशैंको चहलपहल विल्कुलै नभएको भन्दै उनले भाडा बुझाउन पनि समस्या भइरहेको प्रतिक्रिया दिए ।
यस्तै, मेगा कम्प्लेक्सस्थित राजश्री लेडिज कर्नरका सञ्चालक राजकुमार शाहले आर्थिक मन्दी, वर्षाले दशैंलाई प्रभावित बनाएको बताए । बिर्तामोड वाणिज्य संघका वाणिज्य सचिव समेत रहेका शाहले व्यवसायी अझै पनि आशामा बसेको बताउँछन् । बडादशैंको स्वागतका लागि मेगा कम्लेक्सले प्रवेशद्वारदेखि भित्र भागहरुमा पनि सजिसजावट गरेको छ । उनले मेगामा आउने ग्राहकहरुका लागि सहुलियत प्राप्त हुने बताएका छन् ।
दशैं आउनुभन्दा एक महिना अगाडि भीडभाड हुने बजारमा अहिलेसम्म चहलपहल नहुँदा व्यवसायीहरु आत्तिने अवस्था बनेको छ । महानचाडमा सबैले किनमेल गर्ने गरिए पनि यो वर्ष ग्राहकको घुँइचो छैन, व्यापारीहरुका लागि खासै उत्साह छैन, उनले थपे ।
मेगा कम्प्लेक्सका व्यवसायीहरुको अध्यक्ष दुर्गा थपलियाले यो वर्षको दशैंमा ५० प्रतिशत पनि व्यवसाय नभएको बताएका छन् । मन्दी र युवाहरुको बढ्दो पलायनले बजारको स्थिति दयनीय भएको बताए । बजारको स्थिति यस्तै धरासयी हुने हो भने पलायन हुनुपर्ने अवस्था आएको छ, उनले भने – व्यापारीहरु समस्यामा छौं, सधैं जस्तो व्यापार छैन ।
यस्तै, व्यवसायी विष्णुमाया खरेलले व्यवसायीहरुलाई दशैं नलागेको बताइन् । जुन हिसावले सामान राखिएको छ, त्यो हिसावले व्यापार नभएको उनको भनाई छ । मध्य चाडवाडको बेलासम्म व्यापार हुन सकेको छैन, तर अझै पनि आशा छ । विगतको तुलानामा यो वर्षको व्यापार शून्य जस्तै छ । खरेलले भनिन्, ८-१० दिन अझै बाँकी छ । आशा मार्न हुदैन । घटस्थापनादेखि फुलपातीसम्म व्यापार हुने आशामा बसेका छौं ।
अर्का व्यवसायी टंक उप्रेतीले अघिल्लो वर्षको तुलानामा व्यापार हुने आशा भए पनि अहिलेसम्म नतिजा नदेखिएको बताएका छन् । अब हेर्दै जाउँ, भोलीको दिनमा के हुन्छ – उप्रेती भन्छन्, अघिल्लो वर्ष यतिवेला व्यवसाय राम्रो थियो । यो वर्ष नाजुक छ ।
युवा व्यवसायी विकास खड्काले यो वर्षको दशैं पहिले जस्तो नभएको बताउँछन् । बाढी पहिरो, आर्थिक मन्दी र किनमेल गर्ने युवाहरु नभएकाले बजारमा भीडभाड नभएको उनको भनाई छ । खड्का भन्छन्, अझै १०, १२ दिनको आशा बाँकी छ ।