जेष्ठ २, २०८२ बिहीबार

बिर्तामोडमा भेटियो रंग गरेको मटर र प्रतिबन्धित मसला

बिर्तामोड । झापाको बिर्तामोडमा बुधबार भएको बजार अनुगमनमा रंङ गरिएको हरियो मटर र प्रतिबन्धित मसला फेला परेको छ । बिर्तामोड नगरपालिका, जिल्ला प्रशासन कार्यालय झापा र सरोकारवाला कार्यालयहरुले डेढ दर्जन व्यवसायीको पसलमा अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा भेटिएको रंग गरिएको हरियो मटर, अखाद्य वस्तुहरु र लेवलिङ नगरिएका सामानहरु जफत गरिएको छ । स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्था, सतासी सहकारीद्वारा सञ्चालित सतासी डिमार्टमेन्ट, रामदेव भण्डार बिर्तामोड, एभरेष्ट फ्रेस एण्ड फेसन मार्ट लगायतमा अनुगमन गरिएको थियो । एभरेष्टमा नेपाल सरकारले प्रतिबन्ध गरेको एभरेष्ट फिस करी मसला जफत गरी नमूना जाँचका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पठाइएको छ । सतासी डिमार्टमेन्टमा पनि प्रतिबन्धित मसला जफत गरिएको छ ।

स्वरोजगार भवानीको डिमार्टमेन्टबाट लेवल विवरण नभएको, रंग प्रयोग भएको मटर जफत गरेको छ । मुङ, मुसुरो, रहर आदि दालको पाकेटमा लेवल नभेटिएपछि टोलीले अनिवार्य रुपमा लेवल लगाएर मात्र विक्री गर्न भनेको छ । यस्तै, बिर्तामोड ४ को रामदेव भण्डारलाई लेवल लगाएर मात्रै ड्राई फुड विक्री गर्न भनेको छ ।

बिर्तामोड–५ को शाह किराना पसलमा अनुगमन टोलीले लेवल विवरण नभएको १५ केजी हरियो मटर जफत गरेको सहायक प्रमुख जिल्ला अधिकारीले विश्वराज नेपालले जानकारी दिए । उक्त जफत गरिएको मटरमा पनि रंग गरेको हुन सक्ने अनुमान गरिएको छ ।

संयुक्त रुपमा भएको बजार अनुगमन बारे बोल्दै झापाका सहायक प्रमुख जिल्ला अधिकारी नेपालले विशेष गरी खाद्यन्नका पसलहरुमा अनुगमन गरिएको जानकारी दिए । अनुगमनमा खाद्यन्नको गुणस्तर, मुल्य र दर्ताहरु हेरिएको उनको भनाई छ ।

बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल, बिर्तामोड वाणिज्य संघका प्रतिनिधि, नापतौल कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रक कार्यालय र नेपाल प्रहरीसहितको टोलीले बजार अनुगमन गरेको थियो ।

चाडवाड सुरु भइसकेकाले बजारमा सांकेतिक रुपमा अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारीको धारणा छ । अनुगमन टोलीले व्यवसायीहरुलाई अनुगमनका क्रममा देखिएको त्रुटि कमजोरी सच्याउन निर्देशन दिइएको छ ।
नगरपालिकाले बजारको अवस्था हेरेर जुनसुकै बेला पनि बजार अनुगमन गर्न सक्ने नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बताए । उनले बजारमा उपभोक्तालाई ठगी गर्ने प्रकारका कुनैपनि कार्य गरेको भेटिए प्रमाणसहित नगरपालिकालाई खबर गर्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : आश्विन १७, २०८१ बिहीबार  ६ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]