केरा व्यापारमा हब बन्दैछ बिर्तामोड
बिर्तामोड – झापाको बिर्तामोडस्थित कृषिथोक बजारमा रहेको केरा बजारको व्यापार बढ्दै गएको छ । व्यवसायीहरुका अनुसार बिर्तामोडबाट अहिले पश्चिम पोखरासम्म केरा निर्यात भइरहेको छ।
दानाबारीका अधिकांश किसानले केराको लागि बिर्तामोडको कृषिथोकलाई छानेका छन् । विगतमा भन्दा व्यापारमा सहज भएपछि उनीहरुले बिर्तामोड हुँदै विभिन्न बजारहरुमा पुराउन थालेका छन् । बिर्तामोडबाट इटहरी, धरान, विरटनगर, जनकपुर, पोखरासम्म केरा निर्यात भइरहेको व्यवसायीहरु बताउँछन् । पुराना फलफूल व्यवसायी दिनानाथ शिवाकोटीले इलाम र झापामा उत्पादित केरा हप्तामा दुई दिन व्यवसायीहरुले बिर्तामोडबाट विक्री गरिहरेको जानकारी दिए ।
उनले बिर्तामोडको केरा बजारमा ३ सय देखि १ हजार रुपैयाँसम्म प्रति घरी विक्री भइरहेको जानकारी दिए। केरा व्यवसायमा व्यवसायीहरु सन्तुष्ट रहेको बताउँदै उनले भने, बजार व्यवस्थापन राम्म्रो भएकाले व्यापारमा पनि सहज भएको शिवाकोटीको भनाई छ ।
व्यापारालाई बजारसम्म ल्याउन विगतमा जस्तो कठिनाई नभएको शिवाकोटीको भनाई छ । चार दशकदेखि फलफूल व्यापार गर्दै आएका शिवाकोटीका अनुसार बिर्तामोडमा पछिल्लो समय हरेक शनिवार र बुधबार ३५ सय देखि ५ हजार बरी केरा झर्ने गरेको छ। दिनप्रतिदिन स्तरीय केरा उत्पादन भइरहेको उनले दावी गरे ।
यस्तै, अर्का व्यवसायी कुलप्रसाद पौडे लले केरा व्यवसाय गर्ने ठाउँमा टाली र छानोको व्यवस्थापनको माग गरेका छन्। टाली नभएपनि वर्षाबाट बच्न सक्ने संरचना चाहिन्छ, उनले भने, अझ व्यवस्थित बजारबाट व्यापार गर्ने चाहना छ ।
उनका अनुसार अहिले बिर्तामोडबाट भारतबाट केरा आयात हुन छोडेको छ । झापा इलामको उत्पादनले पश्चिम नेपालसम्म माग धानेको उनको भनाई छ। बिर्तामोड केरा व्यापारमा हब बन्दै गएको पौडेल बताउछन् ।
उनले केरा उत्पादनमा किसानको आकर्षण बढ्दै गइरहेकोले बजार र सीप प्रदानमा सरकारले सहजीकरण गर्नुपर्ने बताएका छन् । पौडेलले किसानलाई उत्पादनका लागि प्रशिक्षित गर्न जरुरी रहेको बताए । बजारमा अष्टेलियन, चिनी चम्पा, भण्डारी जातको केरा विक्री भइरहेको छ।