बैशाख २६, २०८२ शुक्रबार

रोलिङ च्यालेन्ज कपमा रेड हर्स सेमिफाइनलमा

मेचीनगर, कात्तिक ६ । टाइब्रेकरमा नतिजा उल्टाउँदै रेड हर्स एफसी झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज धुलाबारी माविको खेल मैदानमा भएको अन्तिम क्वार्टर फाइनल खेलमा कोशी पुलिस क्लबमाथि इलामे टोली रेड हर्स एफसीले जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

रेड हर्सले टाइब्रेकरमा पुलिसलाई ३–१ गोल अन्तर हराएको हो । यसअघि भएको संघर्षपूर्ण निर्धारित समयमा दुवै टोलीबीच १–१ गोलको बराबरी भएको थियो ।

खेलको २० औँ मिनेटमा पुलिसका रमेश राजवंशीले पहिलो गोल गर्दै अग्रता दिलाए पनि खेलको ७५ औँ मिनेटमा रेड हर्सका प्रदिप बुढाथोकीले गोल फर्काएर स्थिति बराबरीमा ल्याएका थिए ।
खेलको प्लेयर अफ द म्याच रेड हर्सका गोल किप्पर तथा कप्तान विवेक मगर भए । उनले नगद पाँच हजार र ट्रफी पाए ।

उनलाई प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का, मेचीनगरका युवा तथा शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, खेलप्रेमी राजन चिमरियालगायतले नगद तथा ट्रफी प्रदान गरे ।

फाइनल प्रवेशका लागि भोलि आयोजक रोलिङ क्लब र विराटनगरको सम्राट स्पोर्टिङ क्लबबीच पहिलो सेमिफाइनल खेल हुने आयोजक रोलिङ क्लबका सचिव महेश खड्काले जानकारी दिए ।

प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद एक लाख ५० हजार, ट्रफी र मेडल पाउने अध्यक्ष नोबेम्बर नेम्वाङले बताए ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउँदा विधागत पुरस्कार नगद १५ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न ३५ लाख ३६ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : कार्तिक ६, २०८१ मंगलबार  ५ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]