झापा एफसीलाई हराउँदै ह्याप्पी क्लब काँकरभिट्टा फाइनलमा
मेचीनगर । ह्याप्पी क्लब काँकरभिट्टा झापाको मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा जारी प्रथम इँटाभट्टा जिल्ला स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा झापा एफसी राजगढलाई ४-३ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । फाइनल प्रवेश गरेसंगै ह्याप्पी क्लबले ५१ हजार १११ रूपैयाँ सुरक्षित समेत गरेको छ ।
अत्यन्तै रोमाञ्चक बनेको खेलमा खेलको छैटौं मिनेटमै ह्याप्पीको तर्फबाट पुजन थापाले एक गोल गरे । त्यस्तै १६ औं मिनेटमा आशिष चापागाईंले गोल गर्दै ह्याप्पीको अग्रता दोब्बर बनाए । गोल खाएपछि केही लय गुमाएको झापा पुन आक्रमक हुँदा खेलको २४ औं मिनेटमा सञ्जय धिमालले गोल गर्दै टिमलाई लयमा ल्याए । त्यस्तै तारानाथ राजवंशीले २६ औं मिनेटमा गोल गर्दै नतिजा बराबरी बनाए । योसंगै पहिलो हाप बराबरीमा सकिएको थियो ।
दोस्रो हापमा दुवै टिमले आक्रमक खेलेका थिए । जसमा ह्याप्पी क्लबकाे तर्फबाट खेलको ४५ औं मिनेटमा कमिर कन्दङ्गवाले गोल गर्दै टिमलाई पुनः अग्रता दिलाए । त्यस्तै ६० औं मिनेटमा आशिष चापागाईंले गोल गर्दै अग्रता दोब्बर बनाए । यता झापा एफसीको तर्फबाट खेलको ६३ औं मिनेटमा गोल गर्दै टिमलाई लयमा फर्काउने प्रयास गरेका थिए । तर, त्यतिले मात्रै हार टरेन थप गोल फर्काउन नसक्दा उपाधि दाबेदारकाे रूपमा हेरिरहेको झापा एफसी प्रतियोगिताबाट बाहिरिनु पर्यो ।
आजको खेलमा उत्कृष्ट खेल्दै टिमलाई जिताउन व्यक्तिगत दुई गोल गर्न सफल आशिष चापागाईं म्यान अफ दि म्याच घोषित भए । उनले नगद २ हजार १ सयसहित ट्रफी प्राप्त गरे ।
त्यस्तै भोलि हुने प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल अन्तर्गत फाइनल प्रवेशका लागि आयोजक र शनिश्चरे फुटबल क्लबबीच प्रतिष्पर्धा हुने आयोजक इँटाभट्टा फुटबल क्लबका सचिव रामकुमार गिरीले जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले नगद १ लाख ११ हजार १११ र उपविजेताले ५१ हजार १११ सहित आकर्षक ट्रफी पाउने छ । यसैगरी, विधागततर्फ पुरस्कृत खेलाडीले जनही ५-५ हजार र सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार पाउने छन् ।