बैशाख २६, २०८२ शुक्रबार

दुर्घटनापछि केर्खामा तनाव

झापा । झापाको केर्खा बजारको तनावपूर्ण स्थिति नियन्त्रण बाहिर रहेको छ । आक्रोशित भीडले प्रहरी विटमा आगजनी गर्नुका साथै केर्खा प्रहरी चौकीमा निरन्तर ढुंगामुडा गरिरहेका छन् ।

करिब हजार बढीको सङ्ख्यामा रहेका स्थानीयले रतुवा माई वृक्षारोपण आयोजना अगाडि रहेको प्रहरी बिटमा आगजनी गरेका हुन् । सडकमा टायर बालेर उनीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेर विरोध प्रदर्शन गरिरहेका छन् । असुरक्षित महसुस गरिरहेका सुरक्षाकर्मीहरू केर्खा प्रहरी चौकीभित्र रहेका छन् । भीडले चौकीमाथि आक्रमण गर्न प्रयास गरिरहेको छ । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले आशु ग्यास समेत प्रहार गरेका छन् ।

काँकडभिट्टाबाट काठमाडौँ हिँडेको रात्रि बसले कमल गाउँपालिकाको केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको थियो ।

स्थानीय मनोज लिम्बूकी अन्दाजी १२ वर्षकी छोरी कृपा लिम्बू र उनका बुवाको मृत्यु भएपछि घटनास्थल तनावग्रस्त बनेको थियो । उनीहरूको शव सडकमा राखिएको छ ।

मृतक बालिकाको आज जन्मदिन रहेको र जन्मदिन मनाउन नातिनीलाई लिएर हजुरबुबाले बर्थडे केक लिन गएका थिए । बर्थडे केक र मासु लिएर फर्कँदै गर्दा रात्रि बसले उनीहरूलाई ठक्कर दिएको थियो । बर्थडे केक र मासु सडकभरि छरपस्ट रहेको छ भने इलेक्ट्रिक साइकल क्षतिग्रस्त भएको छ ।

प्रकाशित मिति : कार्तिक ७, २०८१ बुधबार  ८ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]