माघ ८, २०८१ मंगलबार

बाह्रदशीको कुमालबस्तीमा दियो बनाउन भ्याइनभ्याई

बिर्तामोड । तिहार नजिक आइरहेको बेला झापा बाह्रदशी –६ को कुमालबस्ती दियो, पाला र धुपौरोले भरिभराउ छ । आगनदेखि बाटोसम्म माटोबाट बनाइने दियो पालाहरु सुकाइरहेको देख्न सकिन्छ । घामले पनि साथ दिएपछि मख्ख कुमालहरु दियो बनाउन व्यस्त छन् ।

भदौंदेखि नै तिहारको तयारीमा लागेका कुमालहरु अब दुई दिनभित्र दियो बनाइसक्नुपर्ने चापमा छन् । असिनपसिन हुँदै दियो बनाउन व्यस्त उनीहरु तिहारलाई झिलिमिली बनाउन लगभग तयार भइसकेको बताउँछन् ।

बिहान ३ बजेदेखि राती १० बजेसम्म दियो पाला बनाइरहेका उनीहरुको घर परिवारका सबै सदस्यहरु खटिरहेका छन् । श्रीमान–श्रीमतिसँगै छोराछोरीहरु पनि अभिभावकलाई दियो पाला बनाउन सहयोग गरिरहेका छन् । विद्यालय छुट्टि लिएर छोराछोरीहरु पनि बुबाआमाको काममा सहयोग गरिरहेका भेटिए ।

झापासँगै कोशी प्रदेशका सबै जिल्लामा पुग्ने गरि दियो बनाइरहेको चम्फादेवि पण्डितको भनाई छ । उनीहरुले भदौंदेखि नै काम थाले पनि अझै सकिन दुई दिन लाग्ने बताएका छन् । दुई दिनमा अधिकतम दियो बनाउन दिन रात मेहनत गरिहरेको भेटिएका छन् ।

झापामा सबैभन्दा ठुलो कुमाल बस्तीमा ६० परिवारले माटोबाट दियो पाला बनाइरहेका छन् । तिहारमा सबै परिवारले बनाउने गरेका छन्, अमिर पण्डित भन्छन्, – तिहार बाहेक पनि ४० परिवार सधैं माटोबाट विभिन्न सामग्रीहरु बनाउने गर्दै आएका छन् । माटोका विभिन्न सामग्री बनाउने उनीहरु अरु बेला खेतीपाती गर्ने गरेका छन् । माटोमा सामान बनाउँदा मेहनत अनुसारको फाक्ष्दा नहुने उनको भनाई छ ।

विजुलीका सामग्रीका कारण माटोका सामग्रीको बजार बढाउन गाह्रो भएको अमत किशोर पण्डितले बताए । उनले विजुलीका सामान २÷३ वर्ष राखेर प्रयोग गर्न सकिन्छ । तिहारमा यो माटोका सामान अर्को वर्ष प्रयोग गर्न गाह्रो हुन्छ । उनका अनुसार विगतमा भन्दा अहिले माग धेरै भए पनि जति माग हुनुपर्ने त्यति हुन सकेको छैन । उनीहरु व्यवसायीको मागका आधारमा दियो पाला बनाइरहेका छन् । हरेक परिवारले तिहारका लागि २-२ लाखका दरले दियो पाला बनाइरहेका छन् । उनी भन्छन्, २ लाख दियो बनाउँदा ४ लाख बराबरको कारोबार गर्न सकिन्छ । उत्पादनकहरुले व्यवसायीहरुलाई प्रति बोरा १२ सय रुपैयाँका दरले विक्री गर्ने गरेका छन् । बोरामा १ हजार दियो हुन्छ ।

अहिले माटो र दाउराको मुल्य पनि वृद्धि भएको अधिकांशको भनाई छ । एक ट्रिपर माटोलाई १० देखि १२ हजार रुपैयाँसम्म पर्छ, दाउराको मुल्य पनि उस्तै छ । दियो पालाको सामान बनाउनका लागि राम्रो माटो पाउन पनि कठिनाई हुने गरेको उनीहरुको भनाई छ । अधिकांशले बाह्रदशी डाँडाको माटो खरिद गरेर सामग्री बनाइरहेका छन् । कतिपय परिवारले वर्षौसम्म पुग्ने माटो जोहो पनि गरिसकेका छन् ।

कुमालहरु केही वर्षअघिसम्म लाठीले घुमाउने चक्रमा काम गर्दै आएका थिए । उनीहरु अहिले मोटरबाट चल्ने विधुतीय चक्रबाट धेरै छिटो छिटो सामान बनाइरहेका छन् । प्रविधिको प्रयोगले सहज भएको उनीहरुको भनाई छ ।

प्रकाशित मिति : कार्तिक १२, २०८१ सोमबार  ९ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]