बैशाख २३, २०८२ मंगलबार

महिलाहरुलाई सधैं उच्च सम्मान गर्छु : दुर्गा प्रसाई

झापा । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईले महिलाहरुलाई सधैं उच्च सम्मान गर्ने गरेको बताएका छन् । उनले महिलाविरुद्ध हिंसा हुने कुनै पनि कार्य नगरेको दावी गरेका छन् ।

नेकपा एमालेनिकट अखिल नेपाल महिला संघ झापाले प्रसाईले दिने गरेका महिलाविरुद्धका अभिव्यक्तिहरुको तथ्य संकलन गरेर कानुनी कारबाहीको तयारी गरेपछि प्रसाईले विज्ञप्तिमार्फत यस्तो बताएका हुन् ।

अनेमसंघ झापाले पत्रकार सम्मेलन गरेर महिलाविरुद्ध हिंसा गर्ने प्रसाई कानुनी कारबाही गर्ने बताएका थिए । यता, समाचारप्रति प्रसाईले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । महिलाहरुले प्रसाईविरुद्ध जुलुस गर्नेसम्मको चेतावनी दिएका थिए ।

‘मैले राष्ट्र र सार्वजनिक हितका लागि बोलेको कुराबाट महिला हिंसा हुन सक्दैन । म महिलाहरुप्रति सँधै उच्च सम्मान गर्दछु ’उनले भनेका छन् ,‘ यो अभियान नेपालको सामाजिक, आर्थिक र राजनैतिक क्षेत्रमा महिलाहरुको महत्वपूर्ण भूमिका रहेको यथार्थतामा विश्वास राख्दछ र महिलाहरुको महत्वपूर्ण भूमिकालाई सम्मान र आदर प्रकट गर्दछ । महिलाहरुमाथि हुने सबै प्रकारका हिंसा विरुद्धमा यो अभियान सधै दृढ भएर लागिरहेको छ र लागिरहनेछ ।’

उनले सार्वजनिक पदमा आसिन व्यक्तिहरुको गलत प्रवृत्तिका विषयमा असल नियतले सार्वजनिक हितका लागि बोलेको विषयलाई लिएर आफूविरुद्ध विवादित किसिमका कपोलकल्पित कथनहरु बनाई आफ्नो इज्जत, प्रतिष्ठा र अभियानमा ठेस पुर्याउने कार्य गरेको आरोप लगाएका छन् ।

प्रसाईले एमालेमा आवद्ध महिलाहरुलाई लक्षित गरेर राजनीति गर्ने महिलाहरु गलत काममा संलग्न हुने अभिव्यक्ति दिएको अनेमसंघको आरोप छ ।

थप पढ्नुहोस् : दुर्गा प्रसाईलाई कानुनी कठघरामा पुर्याउने अनेम संघ झापाको चेतावनी

प्रकाशित मिति : कार्तिक १६, २०८१ शुक्रबार  ११ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]